स्तम्भ

कन्फेसन

मदनमणि दीक्षितका स्वीकारोक्तिहरु

मदनमणि दीक्षित |
कात्तिक १, २०७७ १०:३२ बजे

संस्मरण-आत्मकथाहरु फुटकर वा किताबका रुपमा बग्रेल्ती छापिइरहेका छन् । यस्ता धेरैमा मपाइँत्व हुन्छ भन्ने आरोप पनि छ । हामी यो कन्फेसन स्तम्भमा आफ्ना कमी-कमजोरी केलाइएका, आफ्ना भूल-भ्रम स्वीकार गरिएका पाठ-लेख-वार्ता प्रकाशन गर्नेर्छौं । सार्वजनिक पद धारण गरेका गन्यमान्य मात्र हैन, यसमा सबैका कन्फेसन छापिनेछ । सहभागिताका लागि हामी यहाँहरुलाई आह्वान गर्छौं ।

पोहोरो साल दिवंगत लेखक तथा पत्रकार मदनमणि दीक्षितको हालै प्रकाशित पुस्तक ‘मेरो देश, मेरो संसार’मा छापिएको ‘मेरा केही स्वीकारोक्तिहरु’ शीर्षकको लेखबाट केही अंश, यो पहिलो शृंखलामा : 

००००
आफ्नै कुरामा म आफैँप्रति यस्तो कठोर किन बन्न पुगेँ, किन आफ्ना विषयमा मेरा आँखाबाट जीवनमा कहिल्यै आँसु बगेनन् ? मैले आफैँलाई चिन्न सकिनँ, किन ? मेरा आँखाबाट आँसु बगेनन्, म द्रवित भइनँ भन्ने होइन । यता सात-आठ वर्षको कुरा अर्कै भयो तर सोभन्दा पहिले आफ्ना लेख र कृतिहरू लेख्दा र आफ्ना कृति र रचनाहरू पढेर मित्रहरू सामु सुनाउँदा मेरा आँखाबाट अविरल धारा आँसु बग्ने गरे । म आफैँ बबुरो ढङ्गमा त्यसरी पुग्ने गरेँ र त्यस्तो अवस्थामा पुगेको मलाई देखेर सामुन्ने बसेर सुन्ने गरेका मित्रहरू असजिलो अनुभव गर्ने गर्थे ।

तर मेरा ती आँसुहरू सधैँ आनन्द-आँसु रहने गरे । आफ्ना लेखहरू आफैँ पढेर म आफैँ विह्वल हुने गर्थे । कथा वा उपन्यासका पात्रहरूमा आफू आत्मसात् हुन पुगेर मेरा आँखाबाट आँसु बग्ने गर्दथे, अन्य कुनै कारणले होइन । आफ्नो ‘माधवी’ उपन्यास लेख्दा त्यो कृतिका पात्रहरूसित आफू एकीकृत भएकाले मेरा संवेदनाहरू त्यसै त्यसै मनभित्र विस्फोट हुन पुगी मैले चरम नै भन्नुपर्ने आनन्दलाई स्वागत रूपमा अनुभव गरी आँसुलाई कसैगरी पनि रोक्न सक्तिनथेँ । ती कुनै मेरा आँसु मेरा आफ्ना पीडाका कारण बग्ने गरेका थिएनन् ।

बाल्यकालका कुरा आफ्ना ठाउँमा प्रतिष्ठित रहून् र आफूले किशोरावस्थामा प्रवेश गरेर जीवनका यथार्थहरूलाई बेहोर्न थाल्नुपर्दा जम्मा एकपटक मात्र थाक्ने पीडाले गर्दा मेरा आँखाबाट अविरल तर मौन आश्रुधार बगे । संवत् २०१४ को नागपञ्चमीको साँझ ५ बजेको थियो । अघिल्लो दिन हामीले माताज्यूलाई आर्यघाटमा पुर्‍याएका थियौँ । नागपञ्चमीको त्यो साँझ उहाँको जीवनीशक्तिले मृत्युसित अन्तिम सङ्घर्ष सुरु गरेको म हेरिरहेको थिएँ ।

ने.रा.प्र.प्र.मा पाँच वर्ष काम गर्दा भने विफल, पराजित र कलङ्कित हुन पर्‍यो । मैले आफूले त्यो पद मागेको थिइनँ, मलाई बोलाएर सो पदमा बसालिएको थियो । तैपनि म पराजित र कलङ्कित भएँ आफ्नो कारणले ? वा अरूहरूका कारणले ?

कविप्रसाद गौतमले पशुपतिनाथ क्षेत्रमा स्थापित गर्नुभएको 'हरेराम कुञ्ज' को एउटा सानो कोठामा माताजीलाई पुर्‍याइएको थियो । दोस्रो दिन साँझ ५ बजे वहाँले महाप्रयाण सुरु गर्नुभएको म हेरिरहेको थिएँ । ममा असह्य वेदना र पीडा चुलिन थालेर कोठाबाहिरको आँगनमा लिपपोत गरेर जौ छर्कने बेला अब भयो भनी मेरी ठूली दिदीले विह्वल भएर मेरी उस्ती अवस्थामा पुगेकी मेरी देवीजीलाई भन्नुभयो । त्यसबेला म असहाय र असहन अवस्थामा पुगेँ ।

मेरी देवीजीले आँगनमा आँसु बगाउँदै लिपपोत गर्न थालिन् । मैले आफूलाई अडाउन सकिनँ र पशुपतिनाथको मन्दिर प्राङ्गणमा गएर मन्दिरको वास्तुकला हेरेर हृदयलाई शान्त पार्न खोजेँ, र आँखाबाट बगेका आँसुलाई सुक्दै जान दिएँ । आफूलाई त्यसरी केहीबेरमा शान्त तुल्याएर म हरेराम कुञ्जमा फर्किएँ । माताजीको श्वास प्रक्रियाप्रति ध्यान दिएँ । नाडी छामेँ, नाडीमा कुनै गति थिएन, काखीमा नाडी छामेँ, त्यहाँ पनि निश्चल थियो । छातीमा छामेँ, दुई तीन सेकेन्डमा एकपटक मुटु स्पन्दित भएको हो कि जस्तो लाग्यो ।

'लौ अब बाहिर लगौँ' मैले भनेँ । तिल-जौ छरेर सुकुल हाली तन्ना ओछ्याएको माथि दिदी-बहिनी, मेरी देवीजी र मैले माताजीलाई पुर्‍यायौँ । पाँच मिनेटपछि वहाँको अवसान भयो । म हेरिरहेँ । यो आँसु पशुपतिनाथ मन्दिरको भव्यता हेर्दा सुकिसकेको थियो । माताजीको अवसानको सभाले मलाई किञ्चित पनि दुःख पुर्‍याएन बरू मलाई लाग्यो- झन्नै २४ वर्षदेखिको रोग र दुई वर्षदेखि रोजरोजै मृत्यु नजिकै आउँदाका चरम पीडाबाट वहाँले मुक्ति पाउनुभयो । मैले आफ्नो कर्तव्यलाई क्षमताअनुसार पूरा गरेकै हुँ ।

अब हाम्रो पीडा अन्त्य भयो । आफ्नो साढे चार वर्षको उमेरमा मैले पितामहको गैरीधाराको घरमा एक वृद्धाको अवसान भएको देखेको थिएँ । त्यसपछिका यी ७५ वर्षमा परिवारमा ती सबैका अवसान हुँदै गए जसले मलाई माया र प्यारो गरे, अनि जसप्रति ममा अति नै श्रद्धा र सम्मान थियो- विशेषगरी मेरा जेठा पितृव्य राममणि दीक्षित अनि काकाहरू श्री दलमणि र नरेन्द्रमणि दीक्षितहरू जसबाट मैले शिक्षा र ज्ञान प्राप्त गरेँ । मेरो ती गुरm धरणीधर भट्टराई र विश्वविद्यालयका आचार्यहरू, समाज र राजनीतिबारे मेरा ज्ञानमा थप्ने मेरा कतिपय मित्रहरू यस संसारबाट बिदा भएर गए ।

परिवारप्रति ममा विकर्षण थिएन तर आश्चर्य र स्नेह तथा प्रेम प्रदर्शन गर्ने कामबाट मैले बलपूर्वक आफूलाई टाढा राख्ने चेष्टा गरेँ । त्यो सम्झँदा अचेल साह्रै अफसोस लाग्छ ।

स्वजन वा मित्रहरू ती कसैका अवसानले मेरा आँखामा आँसु ल्याएनन् । हो अफसोस भने लाग्ने गर्‍यो । तर आफ्ना कृतिहरू पढ्दा ती कृतिका पानाहरूमा आनन्द र पीडाका हाम्रो...मेरा आँसु किन अविरल बग्छन् ? आफैँलाई मैले आजसम्म चिन्न सकिनँ । ममात्रै किन ? म सबैसित प्रश्न गर्छु- सत्यसत्य भन्नोस् त के तपाईँ आफैँलाई चिन्नुहुन्छ ?

वैदिक वाङ्मयका ती प्राचीन आप्तलनले सधै भन्ने गरे- आत्मानम् विद्धि, आफूलाई बुझ । ग्रिसका महापण्डित सुवरातले आफूभन्दा चार सय छत्तीस वर्ष पहिलेका ग्रिसकै राजा सोलोभनको 'नो दाइसेल्फ' भन्ने उपदेशलाई बारम्बार दोहोर्‍याउने गरेका थिए । भागवत्गीताको संसेय तिनै दुई सङ्ख्यामा खोज्न मलाई मन लाग्छ ।

आफैँले लेखेका कुरा पढेर सुनाउँदा बाहेक मेरा आँखाबाट आँसु बगेनन्, म कहिल्यै रोइनँ, किन ? आँसु बगाउने सामाजिक र निजी धारणाहरू के मेरो जीवनमा उपस्थित भएका थिएनन् ? ती भएका थिए तर म सधैँ अविचलित रहेँ । के म ढुङ्गो थिएँ ? अब के ती आफ्नो 'उत्तररामचरितम्' नामका नाटकमा 'वज्रादपि कठोराणि मुटुनि कुसुमारपि' (वज्रमारा कठोर फूलभन्दा नरम) भनी कसैबारे आफ्नो एक पात्रद्वारा भन्न लगाएको थिएँ । त्यस अभिव्यक्तिमा कठोरता र कोमलताका दुई चरम स्थितिबारे चर्चा थियो । आँसु भनेको ती दुई चरमका बीचको स्थिति हो जो मलाई अनुभव भएन ।

मैले जीवनमा कष्टकर स्थितिलाई भोग्नुपरेन भन्ने होइन । चरम विपन्नता, भोक र क्षोभका कैयौँ वर्षलाई मैले भोगेँ । आफ्नी देवीजीका अविरल अश्रुधाराका, आफ्ना लालाबालाका करूणा क्रन्दनका जीवन्त साक्षी रहने गरेको थिएँ म कैयौं वर्षसम्म । तैपनि म अविरल रहने गरेँ 'मदनबाबु तिमीलाई दुःख छ भन्ने मलाई थाहा छ' भनी मेरा एक पितृव्यले भन्नुहुँदा 'बाबा ! मैले स्वेच्छाले रोजेको बाटो यो हो, त्यसकारण यसमा दुःख वा सुखका कुरा उठ्दैनन्' भनी मैले आफ्नो उत्तर दिएर उहाँको सहानुभूतिलाई त्यहीँ अन्त्य गरिदिएको थिएँ । त्यसबेला म भने आफ्नो सात जनाको परिवारका पेटमा बुजो लगाउन कुनै न कुनै मित्रबाट एक मोहर नत्र एक रmपैयाँ सापट माग्न हिँड्ने गरिनँ ।

हो ती वर्षहरूमा मबाट परिवारप्रति घोर अन्याय भने हुने गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीमा सदस्य भई प्रवेश गर्दा मसित प्रशस्त जग्गाजमिन थियो । पार्टी जीवन र पत्रकारिता गर्दा मैले ती सबै जग्गाजमिन खर्च गरेर सिध्याएँ । त्यो सम्पत्ति पैतृक रहेको हुँदा त्यसमा मेरो परिवारका बाँकी सदस्यको पनि मेरोजति नै बराबर हक अधिकार छ, तिनका स्थापित हकलाई म एक्लैले निर्णय गरेर आफ्नो राजनीति र अखबारका निम्ति भन्दै मैले सखाप पार्नुहुँदैन भनेर मेरो ध्यान कहिल्यै गएन ।

आफूले समान हकदार रहेका आफ्नो परिवारप्रति त्यसरी अपराध गरेँ भन्ने पीडाबोध अचेल मलाई हुने गर्दछ । म साह्रै दुःखी हुने गर्दछु । आफ्नो परिवारका सामु मौन तवरमा म सधैँ नतमस्तक हुने गर्दछु, तर मेरा आँखाबाट आँसु भने बग्दैनन् । कुकर्मका निम्ति मबाट सो अपराध भएको थिएन । परिवारभित्र पनि म स्वाभिमानी छु ।

यी सबै स्वीकारोक्तिहरू प्रस्तुत गर्दा आफ्ना नातिनीहरू र नातिहरूतिर मेरो ध्यान जान्छ । मेरा एक छोरी र चार छोराहरू ती आठ नातिनीहरू र तीन नाति छन् । अध्ययनमा यिनका लगन, यिनका मेधा र मस्तिष्कका तीखोपन यी सबैका अनुशासन र जानकारीतिर ध्यान जाँदा मेरो स्वाभिमान झन् स्फूरित हुन थाल्दछ । यी केटाकेटीबाट हामी पति-पत्नीले पाउने गरेका स्नेह र सम्मानलाई हामी आफ्ना जीवनका उपलब्धि ठान्छौँ । यिनहरूप्रति ममा नयाँ प्रकारको स्नेह, साख्य र श्रद्धा बढ्दै आएको छ, मेरी देवीजीको प्रसन्नता र आनन्दको त झन् कति वर्णन गरूँ !

यहीँ म के पनि स्वीकार गर्छु भने आफ्ना चार छोरा (तिनका पत्नीहरू, आफ्नी छोरी र ज्वाइँ अनि नातिनातिना) आदि सबैबाट मैले सुरुदेखि अन्त्यसम्म मैले जेजति सम्मान र सहयोग पाएँ भने तिनीहरूप्रति अपेक्षित तवरमा ध्यान दिइनँ । 'बाबाले हामीहरूलाई कहिल्यै न काखमा लिनुभयो न काँधमा बोक्नुभयो' भनी पहिल्यै छोरी र छोराहरूले भन्ने गरेका कुरा अचेल नातिनातिनीहरू भन्छन् भनी देवीजीले बित्दै गएका दशकहरूमा पटक-पटक मलाई भनिन् ।

नतमस्तक भएर मनमनै मैले त्यस आलोचनालाई स्वीकारेर आफैँसित प्रश्न गर्दै गरेँ- म किन त्यस्तो कठोर हुनु पुगेँ ? मसित सन्तोषजनक जवाफ छँदै छैन । विश्वविद्यालयमा अध्यापन गर्दा वेदान्तदर्शनद्वारा म अत्यधिक प्रभावित रहने गरेँ । त्यस अवधिमा ममा संन्यासप्रति प्रबल आकर्षण पनि बढेको थियो । परिवारप्रति ममा विकर्षण थिएन तर आश्चर्य र स्नेह तथा प्रेम प्रदर्शन गर्ने कामबाट मैले बलपूर्वक आफूलाई टाढा राख्ने चेष्टा गरेँ । त्यो सम्झँदा अचेल साह्रै अफसोस लाग्छ ।

पार्टीमा काम गर्दा र पत्रकारिता गर्दा म रोजरोजै तरबारको तेर्स्याइएका धारमाथि टेक्दै, पाइलैपिच्छे रक्तधार र रगतका छाप छोड्दै हिँड्ने गरेको अनुभव गर्ने गर्थेँ । तर विचलित र विशृङ्खलित चरित्रको भने मैले आफूलाई हुन दिइनँ । पञ्चायत व्यवस्थाको दलविहीनतासित सुरुदेखि अन्तिम दिनसम्म मेरो अनवरत सङ्घर्ष चल्यो । मेरो अनवरतले त्रासदीपूर्ण संकटहरू ब्यहोर्नुपर्‍यो । तर म भने कहिल्यै पराजित भइनँ ।

नेपाल कम्युनिस्ट पार्टीमा सदस्य भई प्रवेश गर्दा मसित प्रशस्त जग्गाजमिन थियो । पार्टी जीवन र पत्रकारिता गर्दा मैले ती सबै जग्गाजमिन खर्च गरेर सिध्याएँ । 

हो, जीवनमा ७२ वर्षसम्म अपराजित रहेको मैले बहुदलीय प्रजातन्त्रले ममा ने.रा.प्र.प्र.मा पाँच वर्ष काम गर्दा भने विफल, पराजित र कलङ्कित हुन पर्‍यो । मैले आफूले त्यो पद मागेको थिइनँ, मलाई बोलाएर सो पदमा बसालिएको थियो । तैपनि म पराजित र कलङ्कित भएँ आफ्नो कारणले ? वा अरूहरूका कारणले ? म यसै हो भन्न सक्तिनँ एउटा कुरा भने म भन्न सक्छु ने.रा.प्र.प्र.मा जाँदा म पाँच फुट डेढ इन्च अग्लो थिएँ । अहिले पनि म उत्रै छु । तर आफ्ना स्वाभिमानमा कुनै खलबल नपारी र असत्य नबोली मलाई त्यहाँ पठाउने र त्यहाँकाहरू मैलेझैँ आफ्ना बारे भन्न सक्लान् ? म मा शङ्का छ ।

जीवनका अन्तिम दिन, साता, महिना, र वर्षमा म अहिले आइपुगेको छु । मेरो चरैवेति-चरैवेति चलि नै रहेको छ र अन्तिम दिनसम्म पनि चलि नै रहने आशा ममा छ । शरीर गल्यो, गिदी शिथिल भयो तर कलम र चिन्तन भने ममा यावत् गतिमान छन् । बितेर गएका कार्यहरूप्रति फर्केर हेर्दा आफूले देश, जनता र आफ्ना आस्था र श्रद्धाप्रति जानाजान कुनै बेइमानी गरेको प्रमाण म आफूमा फेला पार्दिनँ । हुन सक्छ आफ्ना बारे मेरा यी धारणामा अहङ्कार र भित्रीमा पाखण्डसमेत निहित रहेको होला, तर मलाई थाहा छैन । मेरो खुला मनले भने मेरो सग्लो जीवन बिताएको छु भन्नेमा अभिभान गर्छ ।

मैले इच्छा गर्दैमा हुने कुरा होइन । मेरो परिवारले र मेरा मित्रहरूले चाहेमा मेरा जीवनभरिका स्वाभिमान आफ्नो अन्तिम परिपूर्तिमा भने पुग्न सक्नेछ । यी माता धरतीको प्रत्येक वर्गसेन्टिमिटर मेरो पवित्र, प्रिय र पूज्य रहेको हुँदा जुन ठाउँमा मेरो जीवन छुट्छ मलाई त्यही बिसाइदिनु मेरो जीवनलाई पूर्णता दिएको ठहरिनेछ भन्ने म अचेल ठान्छु । त्यसरी पूर्णता प्राप्त गरेको मेरो सम्झनालाई कसैगरी पनि नलम्ब्याउनुहोस् भनी आज म आग्रह गर्छु । मैले गरेका सभा, स्मृतिदिवस, स्मृतिग्रन्थ आदि कुनैमाथि कहिल्यै आफ्नो आस्था राखिनँ भनी म सधैँका सम्झनामा आफ्ना बारेमा पनि थप्ने इच्छा गर्छु ।

हातमा अष्टदल फव्रिmएको कमलको माला लिएर आफ्नो त्यो अन्तिम दिनलाई मानवसमुदायप्रति साख्य, स्नेह र सौहार्दको प्रसन्न मुस्कान मुखमा लिएर स्वागत गर्न म पर्खिरहेको छु । मेरो हातमा रहेको यो माला ओइलाउन नपाओस्, यसको सुगन्ध मलिन हुने भन्दा पहिले नै यस समयलाई अर्पित गर्न म पाऊँ । त्यसपछि मेरो निम्ति आफ्नो कुनै इच्छा छैन ।

(मदनमणि दीक्षितले १४ असार २०५९ मा लेखेको लेख । मञ्जरी प्रकाशनबाट हालै बजारमा आएको यो पुस्तकमा दीक्षितका पुराना छरिएका लेख-स्तम्भको संकलन गरिएको छ ।)  



Author

थप समाचार