स्तम्भ

कम्युनिस्ट दरबारमा, कांग्रेस जेलमा

हरिबहादुर थापा |
कात्तिक १५, २०७७ १७:९ बजे

अघिल्लो साता दिवंगत रेवतीमरण खनाल कुनै समय कट्टर कम्युनिस्ट थिए तर राजदरबार पो पुगे । खनालले यु–टर्न गरेको बाटो अनि उनले देखे–भोगे–लेखेको राजनीतिक पाटो, पात्रप्रवृत्ति :  


पञ्चायत कालमा कांग्रेसीहरूले एउटा नारा चर्काएका थिए, ‘कम्युनिस्ट दरबारमा, कांग्रेस नेताहरू जेलमा ।’ २०१७ पुस १ को मध्यान्हमा निर्वाचित सरकार नै शाही ‘कू’मा परेपछि संसदीय व्यवस्थामा प्रतिबन्ध त लगाइयो नै,  सँगै प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, मन्त्री, सांसद, कांग्रेस नेताहरूलाई जेलमा कोचियो ।यसैबीच कम्युनिस्ट राजनीतिमा होमिएका रेवतीरमण खनाल चाहिँ दरबारको जनसम्पर्क अधिकृत पो नियुक्त भए । यस्तै अरू कोही कम्युनिस्ट नेताहरू राजा महेन्द्रलाई सघाउन दौडाहा टोलीको सदस्य भए । त अरू कोही भूमिसुधार अधिकारी ।

दरबारभित्र कम्युनिस्ट देखाउनुपर्दा उनै खनाललाई देखाइन्थ्यो । झन् उता कांग्रेसकै केही नेताहरू मन्त्री–राष्ट्रिय पञ्चायत सदस्य हुँदै थिए । त्यस्ता अन्तर्घातीमाथि कमै टिप्पणी हुन्थ्यो । युवा कम्युनिस्ट जमातको दरबारसँग हिमचिमले कांग्रेसको रगत उमालेको थियो ।

कांग्रेस नेताहरू कोचिँदै गर्दा २०१७ फागुन १५ मा खनाल जनसम्पर्क अधिकृत भएका हुन् । कुनै बेला कांग्रेस नेता रामचन्द्र पौडेल पनि उनै खनालका ‘राजनीतिक अनुयायी’ थिए । अर्थात्, पौडेल पनि कम्युनिस्ट । जब पञ्चायती व्यवस्थासँगै खनालहरू दरबार प्रवेश गरे, तब कम्युनिस्टसँग पौडेलको मोहभंग हुन पुग्यो ।

पञ्चायत आगमनपूर्व कम्युनिस्ट समर्थक छात्र संघ भेलामा पौडेल पनि सामेल थिए । त्यो पनि नारायणहिटी दरबार नजिक माधव शमशेर राणाको विशाल भवनमा । त्यो भव्य भवनको तबेलामा कम्युनिस्ट सम्मेलन भएको थियो । पौडल त दरबार देख्दै झस्किए पनि । किनभने पौडेलले सुनेका थिए, ‘कम्युनिस्ट भनेका गरिब र सर्वहारा हुन्छन् ।’

भव्य सम्मेलनको रौनक कम भएको थिएन । २०१७ पुस १ पछि जनताले चुनेका दुई तिहाइका प्रधानमन्त्री थुनिएको दृश्यले पौडेलको मनमा चस्का पस्यो । झन् राजनीतिक आदर्श मानेकाहरू भकाभक नियुक्त भएका दृश्य उनका निम्ति उदेकलाग्दो बन्यो । २०१८ मा भरतपुरमा पक्राउ परेपछि पौडेल जेलभित्रैबाट कांग्रेस बन्न पुगे । हुन पनि खनाल निकै उग्र मानिन्थे । २०१५ को चुनावमा कांग्रेस उम्मेदवार आप्mनै भतिज श्रीभद्र शर्मालाई उनले मत दिएका थिएनन् । कम्युनिस्ट उम्मेदवारलाई नै मत दिएका थिए ।

पञ्चायत कालमा दरबारमा कम्युनिस्टको लर्काे लगाउने श्रेय उनै खनाललाई पनि जान्छ । उनकै अनुहार हेर्दै कांग्रेसले ‘कम्युनिस्ट दरबारमा...’ नारा चर्काएका हुन् । तर दरबार र सिंहदरबारमा त तीसको दशकपछि मात्रै कम्युनिस्टहरू बाक्लिएका हुन् । तर, उनको संस्मरण पुस्तकमा ‘कम्युनिस्ट सन्दर्भ’मा खासै उल्लेख छैन ।   

दरबारको दीर्घसेवामा संलग्न खनाल केही दिनअघि बिते । उनी कानुनी इतिहास, कानुनी मस्यौदा लेखनमा चिनिएका थिए । अझ उनको ‘नेपालको कानुनी इतिहासको रूपरेखा’ पुस्तकले त मदन पुरस्कारसमेत पायो, त्यो पनि राजदरबारबाट सेवा निवृत्त भएपछि ।

२०१७ पुस १ को कदमपछि कम्युनिस्ट समर्थित छात्र संघले शाही कदमको समर्थनमा प्रस्ताव पारित गरेपछि उनीहरूप्रति कांग्रेसले रिस–राग बढी देखाएको हो । कांग्रेस नेताहरू जेलमा कोचिँदै गर्दा युवा कम्युनिस्ट जमात चाहिँ ‘कांग्रेसकै स्वार्थ’अनुरुप यो परिस्थिति निम्तिएको सन्देश फैलाउन देश दौडाहामा गए । 
फर्केपछि देशको परिस्थिति महेन्द्रलाई जाहेर गरे, त्यसपछि खनाल दरबारको जनसम्पर्क अधिकृत बने । दरबार छिरेपछि खनालले आफू कम्युनिस्ट भएको खुला झल्को दिएनन् । यद्यपि पञ्चायत कालको मध्यताका दरबार र सिंहदरबारमा कम्युनिस्ट पहुँच बाक्लो बनिसकेको थियो, कोही खुला त कोही भूमिगत शैलीमा ।

राजतन्त्र अधिनायकवादी होस् या संवैधानिक, ‘दरबारका कुरा’ बाहिर आउँदैथ्यो । कहिले चुहिएर आउने सूचनाले मुलुक रंग्याउँथ्यो । २०४४ मा धीरेन्द्रका एडीसी भरत गुरुङ पक्राउ काण्ड र त्यसको एक वर्षपछि धीरेन्द्रको शाही पगरी उतारिँदाका बखत भने अलि बढी सूचना आए । 

दरबारभित्रका षड्यन्त्रबारे आमनागरिक अनभिज्ञ रहे । राजतन्त्रको अन्त्यसँगै दरबारमै संलग्न पात्रहरूले ‘कुराहरू’ बाहिर ल्याउँदै छन्, कसैले पुस्तककै रूपमा त कसैले स्मरण लेखेर । खनालले पनि दरबारको स्मरण लेख्न त लेखे तर त्यसलाई सिलबन्दीमा राखे । उनको पुस्तकको भूमिकामै उल्लेख छ, ‘लेखेर गोप्य सिलबन्दी गरेर राख्छु । मेरो शेषपछि प्रकाशित गरे हुन्छ ।’

राजतन्त्र र दरबार यथावत रहेको भए उनको जीवनभर अनुभूति ‘सिलबन्दी’मै रहन्थ्यो । हाम्रो शासकीय इतिहासकै बहुचर्चित वाक्यांश नै थियो, ‘जाने दरबार, नजाने तरबार ।’ त्यहीकारण दरबार सकिएर त तरबार भुत्ते भएपछि २०७३ मा खनालले दरबारका ‘केही कुरा’ बाहिर ल्याए, ‘अनुभूति र अभिव्यक्ति’ नाम लिँदै ।

राजा महेन्द्रका पालामा दरबारले उच्च पदस्थ पद, राजनीतिमा प्रयोग गर्ने र नगर्ने व्यक्तिको फाइल बनाउँथ्यो । राजाले कसैसँग दर्शन–भेट गर्नुअघि र गरेपछि फाइलमा केही न केही लेखिएकै हुन्थ्यो । उनैका पुस्तक अनुसार, पञ्चायत कालको प्रारम्भिक चरणका पात्रहरूबारे दरबारको मूल्यांकन गजबकै देखिन्छ ।
डा. तुलसी गिरी– ‘पाइनादार अरबी घोडा हो । गन्तव्यमा पुर्‍याउँछ । सवार चिन्छ । लगाम राम्ररी नसमाए लडाउन सक्छ । तर लगाम (टुप्पी) छैन ।’ विश्वबन्धु थापा– यो ढलौटको लोहटा हो, भरि पानी राखे पनि चुहिँदैन । तर ढल्न सक्छ । समाती राख्नुपर्छ । अर्थात्, यसलाई छाड्नु हुँदैन, सधैँभरि काम लाग्ने पात्र हो ।’

हृषीकेश शाह– ‘बाँसलाई एकातिर काटे गबुवा, दुवैतिर काटे पुङमाङ । प्रसार गर्न काम लाग्छ, माइकको ढ्वाङ्ग । (कुरा गोप्य रहँदैन ।)’

शैलेन्द्रकुमार उपाध्याय– ‘अयोग्य केही छैन, केवल मानिसअनुसारको काम लगाउनेको कमी छ ।

सूर्यबहादुर थापा– दरबार बुझेको, कुशल, साथै आप्mनो कुरामा चतूर पनि ।’

प्रो. यदुनाथ खनाल– ‘यिनीबाट सत्य शिक्षा पाइन्छ ।’

योगी नरहरिनाथ– ‘जोगी कसैको नियन्त्रणमा हुँदैन, कुरा मात्र सुन्ने ।’

दरबारले यसरी हरेक पात्रबारे मूल्यांकन फाइल बनाउँथ्यो, यहाँसम्म कि जोगीसम्मको पनि । २०३६ को जनमत संग्रहताका मूल्यांकन फाइल पल्टाउँदै दरबारले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएको हो । थापा ‘काम–कुरामा चतूर’ र ‘दरबार बुझेको हुँदा’ । जनमत संग्रह परिणाम दरबारकै पक्षमा आउने ठानेरै उनलाई प्रधानमन्त्रीको जिम्मा दिइएको थियो ।

एकातिर आन्दोलनले सहर तात्दै थियो, अर्कातिर २०३६ को जनमत संग्रह घोषणा नगर्न दरबारभित्रै राजा वीरेन्द्रलाई दबाब परेको थियो । खनालले वीरेन्द्र ज्यादै दुःखी भएको देखे । उनका अनुसार, दरबारभित्रका शक्तिहरूको दोहोरो चेपुवामा परेर होला, राजा ज्यादै दुःखी भएका थिए । झन्डै आठ–दस दिन उनी गोकर्ण जंगलको दरबारमा गए एक्लै बसेका थिए ।

२०१५ को चुनावमा कांग्रेस उम्मेदवार आफ्नै भतिज श्रीभद्र शर्मालाई आफू कम्युनिस्ट भएका कारण मत नदिने खनाल दरबार पसे । 

यसले दरबारभित्र भारदारतन्त्र कति बलियो थियो भन्ने देखाउँछ । ‘राजा वीरेन्द्रबारे’ उनको मूल्यांकन छ, ‘सादगी राजा वीरेन्द्रको ज्यादै अनुकरणीय पक्ष थियो । अरूका कुरा सुन्न सक्ने विशेष खुबी थियो उनमा । कमजोरी पक्ष भनेको आफूवरिपरिका केही मान्छेका कुरा टार्न नसक्नु थियो । कारिन्दा जस्तो भएर आफैं जोतिने स्वभाव पनि सायद उनको कमजोर पक्ष हो ।’ (नेपाल साप्ताहिक २०७२ साउन  १७ ।)

खनालको स्मरणले पनि दरबारमा रानी, भाइ–भारदार, कर्मचारीहरू शक्तिशाली थिए । तिनीहरू राजा वीेरेन्द्रलाई कतिपय बेला ‘रबरस्ट्याम्प’मा सीमित पार्न खोज्थे । रानी ऐश्वर्यमा आफ्ना कुरा लागू गर्न बाध्य पार्ने किसिमको स्वभाव भएको उनै खनालको स्मरण छ ।

त्यसो त, दरबारका कुरा लेख्नेहरूले ‘बडामहारानी ऐश्वर्य’को स्वभावप्रति खरो टिप्पणी गरेका छन् । त्यसमा खनालको पनि उस्तै धारणा देखिन्छ । तिनीहरू रानी ऐश्वर्यको स्वभावलाई ‘रफ’ ठान्छन् । अनि वीरेन्द्रको आनी–बानी चाहिँ ज्यादै भद्र । रानी चर्कैसँग रिसाउँथिन् । दरबारका प्रमुख सचिवहरूलाई ठाडै हकार्थिन् । छोरा दीपेन्द्रलाई रुखो स्वरमा गाली गर्थिन् । खनाल लेख्छन्, ‘दरबारको बैठक तथा बगैँचामा काम गर्ने कर्मचारीहरूले पनि बडामहारानीलाई अति कडा भन्थे ।’

जब रानीकै संरक्षकत्वमा २०३४ मा सामाजिक सेवा समन्वय समिति बन्यो, त्यो समितिलाई चन्दाका निम्ति आह्वान गरिन् । दरबारसँग ‘सम्बन्ध’ जोड्न व्यापारीहरू लालायित हुने नै भए । किनभने हामीकहाँ शासकहरूको आशीर्वाद र संरक्षण पाएमा रातारात धनी बनेको दृश्य छताछुल्ल थियो । उनै खनालका अनुसार, ‘नेपालका ठूला साहु–महाजन व्यापारीले धेरै चन्दा दिएर तक्मा पाउन थाले ।’

यतिखेर चाकडी र चाप्लुसीको त्यस्तै दृश्य अझ गाढा बन्दो छ । उतिबेला बरु त्यस्ता पात्र सीमित थिए । यतिखेर शक्ति केन्द्रसँग सम्बन्ध गाँस्दै ‘अथाह सम्पत्ति’ कमाउनेको डरलाग्दो वृत्त बनिसकेको छ । त्यहीकारण हरेक ठूला खाले निर्णयमा ‘बिचौलिया’हरू शक्तिकेन्द्रका करिडोरमा धाइरहेका भेटिन्छन् ।

राजा वीरेन्द्रलाई २०४६ चैतमा पञ्चायती संविधानबाट ‘दलविहीन’ शब्द झिक्दै बहुदलको घोषणा गर्न निकै कठिन परेको थियो । बहुदल घोषणासँगै पञ्चहरू रिसाउने भए । दरबारभित्र पनि असन्तुष्टि थियो नै । उनै खनाल लेख्छन्, ‘दरबारका केही सदस्यलाई मेरा पति, मेरा बुबाले स्थापना गरेको व्यवस्था गयो भन्ने पर्‍यो ।’

बहुदलसँगै शासकीय दृश्य परिवर्तन भयो । पञ्चायत कालमा दरबारका सचिवहरूलाई पशुपतिनाथभन्दा शक्तिशाली ठानिन्थ्यो । मानिन्थ्यो । किनभने तिनको आशीर्वाद प्राप्त नगरीकन पद प्राप्ति कठिन थियो । पञ्चायती व्यवस्थामा दरबारबाट आदेश भएपछि तमाम काम सहजै फत्ते हुन्थ्यो ।

बहुदलसँगै दरबारको आदेश सिंहदरबारले ‘तामेल’ गर्ने शासकीय पद्धति परिवर्तन भयो । उतिबेला कर्मचारीहरू सुनाउँछन्, ‘पञ्चायत कालमा यतिसम्म थियो कि नारायणहिटी दरबारका सचिवहरू सिंहदरबार टेक्दैनथिए, उहीबाट आदेश जारी गर्थे । तर बहुदलसँगै सिंहदरबार बलियो बन्यो । तर, तिनीहरू सिंहदरबार धाउनैपर्ने बाध्यता बन्यो ।’

त्यसरी सिंहदरबार धाउने पहिलो पात्र पनि राजा वीरेन्द्रका प्रमुख सचिव खनाल नै परे । दरबारका प्रमुख सचिव खनाल राजाले चाहेको कुरा थपघट गर्न पनि सिंहदरबार प्रवेश गर्न बाध्य भए । त्यसअर्थमा खनाल संक्रमणकालीन पात्र पनि हुन् । 

त्यतिबेला मन्त्रिपरिषद्मा कार्यरत सहसचिव रहेका भोजराज पोखरेलले कुनै बेला सुनाएका थिए, ‘रेवतीरमण खनाल सिंहदरबार ओहोर–दोहोर गर्दा त्यति असहज मानेको देखिएन । बहदुलसँगै  दरबारसँग सोध्ने विषय सीमित भए । दरबार, सिंहदरबारका निर्णय र खबरबारे वञ्चित हुने नै भयो । प्रमुख सचिव खनाल बेलाबखत यसो जानकारी दिन आग्रह गर्नुपर्ने परिस्थितिमा पुगेका थिए ।’

दरबारविरोधी एउटा भाषणसँगै एमाले महासचिव मदन भण्डारी एकैचोटि बहुचर्चित बने । २०४८ को संसदीय निर्वाचनकै बेला ‘राजा वीरेन्द्रप्रति’ औँला ठड्याउँदै भण्डारीले चुनावी भाषण गरेका थिए, ‘महाराज ! आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस् । यदि राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आइबक्सियोस् । तपाईंसँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ ।’

त्यो भाषणसँगै संवैधानिक राजा वीरेन्द्रले असहज मान्ने भए । त्यसपछि उनै खनालले मदन भण्डारीसँग भेटे । ४५ मिनेट वार्ता गरे, ‘राजालाई यसरी मुछ्नु भएन ।’ उनले भण्डारीबाट जवाफ पाए, ‘त्यो त चुनाव जित्ने रणनीति मात्र हो ।’ चुनाव जितेपछि भण्डारीले राजा वीरेन्द्रसँग भेटघाट गरे । दुवै प्रभावित भए ।

राजा महेन्द्र नजिककालाई जग्गा–जमिन र सम्पत्ति बक्स दिन्थे । पूर्वप्रधानमन्त्री, मन्त्री, दरबारका सचिवहरूले प्रशस्त सम्पत्ति पाउँथे । तर वीरेन्द्रको पालामा त्यस्तो क्रियाकलाप न्यून थियो । उनै खनालले पनि राजा महेन्द्रबाट कालीमाटीमा राम्रै जग्गा पाए । २०५२ वैशाख १ मा अवकास लिएपछि उनलाई वीरेन्द्रले मारुती कार दिए, वीरेन्द्रले त्यसरी उपहार दिएको देखेपछि दरबारमा रिस गर्ने समेत देखापरे । दरबार प्रवेश गरेका ‘कम्युनिस्ट’ खनाल प्रमुख सचिवमा सीमित रहे । कुनै बेला खनालका अनुयायी रहेका रामचन्द्र पौडेल जेल हुँदै बहुदलको बाटोबाट प्रतिफल पाए— सत्ता । 



Author

हरिबहादुर थापा

शासन, सुशासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार