नेपाली कांग्रेस १४औँ महाधिवेशन

काँग्रेस महाधिवेशनको उद्घाटन आज

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ६:५२ बजे

काठमाडौँ- सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनको उद्घाटन गर्नेछन् ।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौँ आइसकेका छन् ।


महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि कांग्रेस  नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा दाहालसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।

शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेद्‌वार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेद्‌वारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ । दाबी विरोधउपर निर्णय पनि  भोलि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेद्‌वारको पहिलो नामावली प्रकाशन भोलि २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय  २६ गते बिहान ११ बजेसम्म, उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ ।


Author

थप समाचार
x