नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेसमा गुट किन हाबी छ ?

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ६:५८ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारदेखि सुरु हुँदै गर्दा अहिले जतिसुकै गुटगत राजनीति भए पनि महाधिवेशनपछि उक्त कार्य बन्द गर्न आग्रह गरिएको छ ।

राजधानीमा ईआईसीटी नेपालले शेयरकाष्ट इनिशियटिभ नेपालसँगको सहकार्यमा गरेको महाधिवेशन प्रतिनिधि सर्वेक्षण सार्वजनिक कार्यक्रम अन्तर्गत ‘कांग्रेसमा गुट किन हावी छ ?’ विषयक कार्यक्रमका वक्ताले गुटगत कार्यक्रम बन्द गर्नुपर्नेमा जोड दिएका हुन् । 


पत्रकार हरिबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पिताम्बर भण्डारी, लुम्बिनी प्रदेशकी कांग्रेस सहमहामन्त्री निमा गिरी र कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्‌वार अजयबाबु शिवाकोटीले आन्तरिक गुटगत राजनीतिले पार्टी पछि पर्ने भन्दै गुट बन्द गर्न आग्रह गरेका हुन् ।

पत्रकार थापाले कांग्रेस शुरुआतदेखि नै गुटबाट अगाडि बढेको भए पनि त्यतिबेला र अहिलेको प्रसङ्ग फरक भएको बताए । उनले पहिले वैचारिक र सैद्धान्तिक गुट हुँदै गरेको भए पनि अहिले आफ्नो पक्षलाई बलियो बनाउन वडा तहसम्मै गुट बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले गुटगत राजनीतिका कारण पार्टीभित्र अन्तर्घात हुँदै गए त्यसको असर आगामी आम निर्वाचनमा पर्न सक्ने बताए । 

उपप्राध्यापक भण्डारीले बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरु हुन्जेलसमेत गुट भए पनि उनीहरुले एजेन्डाका काम गरेको स्मरण गर्दै अहिले पद, पैसा र शक्तिका लागि काम हुन थालेको बताए । उनले कांग्रेसभित्र तल्लोतहदेखि माथिसम्म आन्तरिक राजनीतिमा ठाडो विरासत देखिएको बताउँदै प्रणाली कमजोर हुँदा यसको प्रभाव परेको जनाए । 

नेतृ गिरीले कांग्रेसमा पौरख गरेको र प्राविधिक गरी दुई गुट रहेको भन्दै आफ्नो क्षेत्रमा पौरख गरेर कांग्रेसलाई जोगाएको गुट भन्दा चुनावका बेलामा होहल्ला गरेर प्राविधिक तरिकाले पहुँचका भरमा आएको गुटले दबाउने काम गरेको बताइन् । उनले गुट अर्को पुस्तामा सरिरहेको भन्दै यसले सिङ्गो पार्टीलाई नै गम्भीर खतरामा पार्ने अवस्था रहेको बताइन् । 

केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घोषणा गरेका पत्रकार शिवाकोटीले आफू जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँदै गर्दा ‘तपाई कुन गुटबाट ?’ भनी सोधेको प्रश्नले मन चस्किएको सुनाउँदै एउटा गुट र अर्को गुटको मानिसबीच बोलचालसमेत नभएको अवस्था आएको बताए । उनले यो गुटगत राजनीति हावी भए यसले आम निर्वाचनमा प्रत्यक्ष असर पार्ने बताए । उनले विगतमा कांग्रेसको महाधिवेशनमा गुटभन्दा बाहिर रहेर पनि चुनाव जित्न सकिने भन्दै ‘प्रतिनिधिको विवेकप्रति मलाई के विश्वास छ भने निर्वाचनमा कुन व्यक्तिले नेतृत्व लिँदा फाइदा हुन्छ भनेर हेर्नुहुनेछ ।’

कार्यक्रममा अनुसन्धानकर्ता प्रकाश लामिछानेले महाधिवेशन प्रतिनिधि सर्वेक्षण प्रस्तुत गरेका थिए । जसमा महाधिवेशनमा सहभागीता जनाउने र्‍याण्डम विधिबाट छानिएका ९१४ जना प्रतिनिधिसँग टेलिफोन अन्तर्वार्ता गरी तथ्याङ्क समेटिएको बताए । तीमध्ये १७ प्रतिशतले गुटका व्यक्तिलाई मात्र भोट हाल्ने बताएका छन् । ५१ प्रतिशतले गुटका व्यक्तिलाई मात्र भोट हाल्ने सम्भावना छैन भनेका छन् भने अवस्था हेरेर निर्णय लिने संख्या ३२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।


Author

थप समाचार
x