नेपाली कांग्रेस १४औँ महाधिवेशन

सर्लाही ३ मा संस्थापन पक्षको प्यानल नै विजयी

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ९:३३ बजे

सर्लाही - सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ । शुक्रबार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । 

मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए । घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन् ।


यस्तै क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामा २४ जनाको प्यानल संस्थापनले जितेको छ भने एक जना संस्थापनइतर पक्षका विजयी भएका छन् । इतरका नेतृत्व गरिरहेका विनोद खनाल महाधिवेशन प्रतिनिधिमा विजयी हुँदा संस्थापनबाट महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएका बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोधी राय पराजित भए । रायले ३४९ मत मात्र प्राप्त गरे ।

प्यानल नै पराजित भएको संस्थापनइतरका खनालले महाधिवेशन प्रतिनिधिमा ४०३ मत प्राप्त गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा संस्थापनका हरेशप्रसाद महतो र इतरका खनाल प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रीएका थिए । 

योसँगै सर्लाहीमा संस्थापन पक्षले दुई क्षेत्र र इतरले दुई क्षेत्रमा बाजी मारेका छन् । जिल्लाको चार क्षेत्रमध्ये एक र दुई नम्बर क्षेत्रमा इतर पक्ष र तीन र चार नम्बर क्षेत्रको मत परिणाम संस्थापनको पक्षमा आएको हो । संस्थापन र इतर पक्षको लामो टकराव पछि क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ज्ञवाली सर्लाहीमा चौथो निर्वाचन अधिकृतको रूपमा खटिएर आएका थिए ।

सर्लाहीमा अझै चार वडामा अधिवेशन गर्न बाँकी छ । क्षेत्र नम्बर ३ मा एक वडा र ४ मा तीन वडाको विवादका कारण वडा अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन । योसँगै जिल्लामा बाँकी प्रदेश र जिल्ला स्तरीय अधिवेशन केन्द्रीय अधिवेशन पछिमात्र हुने यस पहिला नै तय भइसकेको छ ।   


Author

थप समाचार
x