नेपाली कांग्रेस १४औँ महाधिवेशन

प्रदेश १ बाट सभापतिसहितका पदमा आकांक्षीहरुको लर्को, ५३ जनाले गरे दाबेदारी

बाबुराम भण्डारी |
मंसिर २४, २०७८ शुक्रबार १०:५८ बजे

विराटनगर - नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन हुँदै गर्दा केन्द्रीय नेतृत्वमा पुग्न चाहनेहरुको लर्को प्रदेश १ बाट उल्लेख्य संख्यामा देखिएको छ । कांग्रेसको विधान अनुसार १४औं महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सह–महामन्त्री गरी १३ जना पदाधिकारी प्रत्यक्ष निर्वाचित हुँदैछन् ।

सभापति, उपसभापति, महामन्त्री, सह–महामन्त्री र केन्द्रीय सदस्य गरी प्रदेश १ बाट अहिलेसम्म ५३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् । आकांक्षीको संख्या अझै बढ्दो रहेको छ ।


प्रदेश १ बाट सभापतिसहित पदाधिकारीहरुमा आठ जनाले आफ्नो दाबी खुलाइसकेका छन् । केन्द्रीय सभापतिमा वर्तमान केन्द्रीय समिति सदस्य डा.शेखर कोइराला बलियो दाबेदारका रुपमा प्रस्तुत भइसकेका छन् ।

वर्तमान सभापति शेर बहादुर देउवालाई प्रदेशबाट टेवा पु¥याएका झापाली नेता कृष्णप्रसाद सिटौला पनि मौका पर्दा सभापति नै लड्न चाहने व्यक्तिभित्र पर्दछन् । तर उनले सभापति देउवाको नजिक रहेर संस्थापन पक्षलाई साथ दिइरहेका कारण आफ्नोमात्रै तागतले सभापति नलड्ने, बरु आफू निकटलाई सिट सुनिश्चित गराउने दाउमा छन् ।

त्यसैगरी उपसभापति पदमा पार्टी संस्थापन देउवा समूहबाट विजय गच्छदार, डा.नारायण खड्का आकांक्षी छन् । इतर पक्ष पौडेल–कोइराला समूहबाट मोरङका महेश आचार्यले कांग्रेसभित्र नीति र विचारको बहस गर्ने भन्दै उपसभापति पदमा आफ्नो उम्मेदवारी रहने बताइसकेका छन् । 

गच्छदार र आचार्यले यसअघि नै आफ्नो दाबेदारी सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । परराष्ट्रमन्त्री समेत रहेका डा.खड्का पनि यसपटक उपाध्यक्ष, नत्र पुनः केन्द्रीय सदस्यमा मात्रै सिमित नहुने सोचमा छन् ।

महामन्त्रीमा पनि प्रदेश १ बाट दुई दाबेदार छन् । संस्थापनबाट वर्तमान केन्द्रीय समितिका प्रवक्ता विश्वप्रकाश शर्मा र इतर पक्षबाट सरकारका रक्षामन्त्री एवं केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल महामन्त्रीका आकांक्षी छन् । 

प्रदेश १ बाट सह–महामन्त्रीमा दाबेदारी प्रस्तुत गर्नेको संख्या आधा दर्जनबाट उकालो लाग्दैछ । जम्मा आठ सह–महामन्त्रीका लागि प्रदेश १ बाटै पाँच आकांक्षी छन् । संस्थापन पक्षबाट डा.डिला संग्रौला, मिन विश्वकर्मा, भिष्मराज आङ्देम्बे, सीता गुरुङ र ज्ञानेन्द्र कार्की सह–महामन्त्रीको टिकटका लागि संस्थापनभित्र संघर्षरत छन् । सह–महामन्त्रीमा इतर पक्षबाट भने अहिलेसम्म कोही तम्सिएका छैनन् ।

प्रदेश १ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुमा जिल्लैपिच्छे छन् । झापा, मोरङ र सुनसरीबाट आधा दर्जन हाराहारीले केन्द्रीय सदस्य पदमा आकांक्षी देखिएका हुन् । 

सिटौला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली काठमाडौंमै चुनावी अभियानमा केन्द्रित छन् ।

 मोरङबाट संस्थापन देउवा समूहबाट केन्द्रीय सदस्य पदका लागि वर्तमान केन्द्रीय समितिका सदस्यद्वय अमृत अर्याल, हसन अन्सारी, जनार्दन शर्मा र शोभा पालुङ्वा आकांक्षी छन् । 

त्यसैगरी विराटनगरका उद्योगी पवन कुमार सारडा पनि केन्द्रीय सदस्यका लागि आकांक्षी छन् । सारडालाई केन्द्रीय सदस्य बनाउन विजय गच्छदारले साथ समर्थन जनाइरहेका छन् ।

केन्द्रीय सदस्य पदमा सुनसरीबाट सीताराम मेहता, राजीव ढुंगाना र विनोद राई, ओखलढुंगाबाट रामहरि खतिवडा र बाला अधिकारी, उदयपुरबाट लक्ष्मी परियार र नारायण बहादुर कार्की, खोटाङबाट रविप्रकाश राई र सरस्वती बजिमय आकांक्षी देखिएका हुन् । उनीहरु संस्थापन पक्षबाट केन्द्रीय सदस्य उठ्न लागेका हुन् ।

झापाबाट केशव बुढाथोकी, महेन्द्र लिम्बु र भगिरथ पोद्दार, धनकुटाबाट मनोहर श्रेष्ठ र आनन्द सन्तोषी राई, तेह्रथुम रामकृष्ण लकान्द्री, भोजपुरबाट रोहित विश्वकर्मा र उमेशजंग रायमाझी, पाँचथरबाट शान्ता रिजाल र विमल धमला, इलामबाट केशव थापा र सुजता परियार र सोलुखुम्बु आङ्गेलु शेर्पा रहेका छन् ।

त्यसैगरी संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य दाबी गर्नेहरु पनि उल्लेख्य देखिएका छन् । मोरङबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्की र पुनम सिंह केन्द्रीय सदस्यका आकांक्षी हुन् ।

सुनसरीबाट कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, उदयपुरबाट प्रमिला राई, खोटाङबाट सुवास कुमार पोखरेल, धनकुटाबाट हरि कुमार राई केन्द्रीय सदस्य दाबी गर्दैछन् । 

त्यसैगरी तेह्रथुमबाट तुलसी सुब्बा, नरेन्द्र केरुङ पाँचथर, झापाकी सरिता प्रसाँई, सोलुखुम्बुबाट बलबहादुर केसी, संखुवासभाबाट दिपक खड्का र इलामबाट सभापति हिमाल कर्मचार्य संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्यका आकांक्षी रहेका छन् ।

मोरङबाट मात्रै १० जना
यसैबीच कांग्रेसको मुख्य राजनीतिक थलो रहेको मोरङबाट आकांक्षीहरुको संख्या एक दर्जन पुगेको छ । केन्द्रीय सभापतिसहित अहिलेसम्म १० जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 सभापतिमा डा.शेखर कोइरालासहित उपसभापतिमा महेश आचार्य, महामन्त्रीमा डा.मिनेन्द्र रिजाल र सह–महामन्त्रीमा डा.डिला संग्रौला पदाधिकारीतर्फका आकांक्षी हुन् ।

त्यसैगरी सदस्यमा अमृत अर्याल, केदार कार्की, हसन अन्सारी, इन्दीरा कार्की, जनार्दन शर्मा र शोभा पालुङ्वा लगायत रहेको जनाइएको छ ।

सभापतिसहित पदाधिकारीहरुमा संस्थापन र इतर समूह निर्णयमा पुग्न नसक्दा केन्द्रीय सदस्यका आकांक्षीहरु भने अन्यौलमा छन् । उनीहरुले व्यक्तिगत रुपमा आफ्नो दाबेदार प्रस्तुत गर्दै आएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x