नेपाली कांग्रेस १४औँ महाधिवेशन

यस्तो छ कांग्रेस महाधिवेशनको इतिहास

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ११:१३ बजे

काठमाडौँ- कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए । कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित भएका थिए ।

यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति भएका थिए । भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बनेका थिए ।


कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ । वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटौँ महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति हुनुभएको थियो भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति भएका थिए ।

विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भएका थिए । विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए ।

यसैगरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति भएका थिए ।

कांग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए भने वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् । रासस


Author

थप समाचार
x