नेपाली कांग्रेस १४औँ महाधिवेशन

साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना

इकागज |
मंसिर २५, २०७८ शनिबार १३:३२ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका छन्। 

देशभरका करिब तीन सय महाधिवेशन प्रतिनिधिहरु, विभिन्‍न जिल्लाका सभापति तथा पदाधिकारीहरुले शनिबार बिहानदेखि नै सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार एनपी साउदलाई बनाउन माग गर्दै धर्ना दिएका हुन्। 


नेपाल विद्यार्थी संघको सभापति र दुई-दुई पटक केन्द्रीय सदस्य भइसकेको व्यक्तिलाई महामन्त्री बनाउनका लागि रोक्‍न नमिल्ने उनीहरुले बताइरहेका छन्।

धर्नामा सहभागी नेपाली कांग्रेस कञ्‍चनपुरका जिल्ला सचिव हेमराज ‌ओझाले भने, '०५९ सालदेखि पार्टीको केन्द्रीय सदस्य रहेका साउद सुदूरपश्‍चिममा सभापति शेरबहादुर देउवापछिको निर्विकल्प र सर्वस्वीकार्य नेता भएकोले महामन्त्रीको उम्मेदवार बनाउनुपर्छ।' 

सुदूरपश्‍चिममा पदाधिकारी नहुँदा भविष्यमा कांग्रेसको संगठनमा धक्का लाग्‍ने सचिव ओझाले बताए। उनले थपे, 'सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागेका साउद महामन्त्रीका निर्विकल्प उम्मेदवार हुन्।'

वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक) मा उनी केन्द्रीय सदस्य भएका थिए। कांग्रेस प्रजातन्त्रिकको ११ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा काँग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्यकै रुपमा रहेका थिए। 

एकीकरणपछिको १२ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य विजयी भए। १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका उनी अहिले महामन्त्रीमा दाबी गरिरहेका छन्। 

नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुख समेत रहेका साउद ०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा केन्द्रीय सदस्य बनेका थिए भने ०४८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए।

सभापति देउवाको प्यानलमा सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्ती  ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेताहरु पनि महामन्त्रीका दाबेदार हुन्।


Author

थप समाचार
x