नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन

कार्यकर्तालाई नेता छान्‍न पिर, जुम्लाका बुढालाई टोपी बेच्‍ने

सबै कार्यकर्ता चारतारे झण्डा भएको ब्याज मात्र खोज्छन् !

अतिन आचार्य |
मंसिर २५, २०७८ शनिबार १६:१५ बजे

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबारदेखि १४ औं महाधिवेशन सुरु भइसकेको छ । यतिखेर आगामी नेतृत्त्वका लागि उम्मेदवार छनौट गर्न आ-आफ्‍ना गुटका नेताहरू व्यस्त छन् । नेताहरूले आज आफ्नो उम्मेदवारी दिनेछन् । 

महाधिवेशनस्थल भृकुटीमण्डपमा आआफ्ना नेताको नाममा मत माग्‍न कार्यकर्ताहरू गेटदेखि लामबद्ध छन् । सातै प्रदेशका प्रतिनिधि तथा कार्यकर्ताहरू आफ्‍ना नेताको प्ले कार्ड घाँटीमा झुन्ड्याएर बसेका छन् ।


कोही भने रमिता हेर्न र विभिन्न जिज्ञासा बोकेर महाधिवेशनस्थलमा पुगेका छन् । जिज्ञासा बोकेर उभिएका मुहारमा महाधिवेशनबाट नेतृत्त्वमा को आउछ भन्‍ने छ । तर, केहीलाई भने न नेतृत्त्व परिवर्तनको चिन्ता छ, केहीले न अहिले चुनिने नेताबाट मुलुकले मुहार फेर्न सक्ने आस ।

त्यही भीडमा कर्णालीबाट दुःख बिसाउन आएका ६७ वर्षीय नरबहादर बुढा भुईँमा ढाका टोपी राखेर उभिएका छन् । उनी काठमाडौँमा दुखः मात्र बिसाउन आएका छैनन् । बुढा नेता र कार्यकर्ताको विचारसमेत सुन्न आएका हुन् ।

उनी ढल्कुमा गाउँलेकै होटलमा बसेका छन् । होटलमा बस्दा उनले खाएको मात्र शूल्क तिर्छन् । उनलाई बसेको शूल्क लाग्दैन । उनले दैनिक सादा खानाको १ सय २० रुपैयाँ तिर्ने गरेका छन् । परिवारमा २० जना सदस्य छन् । सबैलाई भरणपोषण गर्ने जिम्मा उनकै काँध माथि छ ।

महाधिवेशनमा कोही नेता बन्‍न आएका छन् त कोही नेता बनाउन । तर नरबहादुर बूढा भने परिवारको छाक जुटाउन यहाँ आएका हुन् । उनले यसका लागि ढाकाटोपी बेच्‍ने उद्यम समातेका छन् ।

उनले हिजो दिनभर र आज ११ बजेसम्ममा २५ वटा ढाका टोपी बिक्री गरिसकेका छन् । उनले महाधिवेशनभरिमा कम्तीमा २ सय ढाकाटोपी बिक्री गर्ने लक्ष्य लिएका छन् ।

महाधिवेशनको मौका पारेर मानो चामल जुटाउन आएका बूढा लक्ष्यजति टोपी बिक्री नहोला कि भन्‍ने पिरमा छन् । किनकि कार्यकर्ता सादा टोपीभन्दा आफ्‍ना नेताका चित्र अंकित तस्विरसहितको चुच्चे टोपी लगाएर हिँडिरहेका छन् ।  ढाका टोपीमा सज्जिनुभन्दा नेताको तस्विर रहेको क्याप लगाउनुमा कार्यकर्ताले गर्व मानेका छन् ।

नेपालको झण्डा भन्दा चारतारे भएको ब्याजको खोजी बढी

जुम्लाको सिञ्‍जा गाउँपालिका ४ का बूढा पाँच दिन लगाएर चिसिँदै गएको काठमाडौँमा आएका थिए । अपेक्षा थियो, पैसा जम्मा गरेर गाउँ फर्कने । तर सुरुवाती व्यापारबाट उनलाई शंका लागेको छ । उनले बिक्रीमा राखेका छन् एकथोक तर कार्यकर्ता खोज्छन् अर्कैथोक । उनले टोपीसँगै नेपालको झण्डा राखेका छन् । तर कार्यकर्ताले ब्याज खोजेको उनले बताए । उनले बेच्न राखेका टोपीको मूल्य २ सय ५० देखि ३ सयसम्म छ ।

'सबै कार्यकर्ता चारतारे झण्डा भएको ब्याज मात्र खोज्छन्,' उनले शिरमा बाङ्गिएको टोपी मिलाउँदै भने,' नेपालको झण्डा भएको ब्याज लगाउँन किन मान्दैनन् ? झण्डा भएको ब्याज अहिलेसम्म बिक्री भएको छैन । पार्टीको ब्याज भएको भए यतिखेर सकिन्थ्यो ।' यसलाई उनले देशको भन्दा पार्टीको माया धेर गरेको अर्थमा बुझेका छन् ।

मङ्सिर लागेदेखि सबै पार्टीले महाधिवेशन गरिरहेका छन् । महाधिवेशन गर्दा लाग्‍ने खर्चले मुलुकको विकास निर्माणमा खर्च गर्नुपर्ने बूढा बताउँछन् । जुम्लामा फलेको स्याउ यातायात मार्ग अभावले समयमा बिक्री गर्न नसक्दा वर्षेनी रुखमै कुहिने गरेको उनले बताए । राजमार्ग पुगेको भए सहजै जुम्लाको स्याउ मुख्य-मुख्य सहरमा बिक्री हुन्थ्यो ।

बुढाको गाउँमा १० रोपनी जग्गा छ । 'स्याउ फल्दा बजारमा भाउ पाउदैन,' उनी भन्छन्,' नफलेको वर्ष स्याउको मूल्य वृद्धि हुन्छ । जुम्लामा स्याउ प्रति केजी ४५ रुपैयाँ छ ।'

बारीमा उत्पादित अन्‍नले खान पुगेनउनको बारीमा स्याउ मात्र फल्दैन । धान, गहुँ, जौ, फापर र मकै समेत फल्न गरेको उनी सुनाउँछन् । रसायनिक मलको प्रयोग गर्ने हो भने उब्जनी पनि बढ्न सक्‍ने उनलाई लाग्दोरहेछ । बारीमा उत्पादित अन्‍नले खान पनि नपुग्‍ने उनको भनाइ छ ।

जनताले सिधा प्रधानमन्त्री चुन्न पाउने व्यवस्था भए मात्र निर्वाचनको महत्त्व बढने बूढालाई लागेको छ । 'अहिलेको निर्वाचनमा नेतालाई मात्र ठूलो बनाउनु रहेछ,' उनले भने,' अहिले देखिएको राजनीतिक अवस्थाले मुलुकले कोल्टे फेर्दैन ।'

उनका सन्तानले उच्च शिक्षा पनि हासिल गरेका छैनन् । केहीले विद्यालयको मुहारसमेत देख्‍न पाएनन् । केहीले कक्षा १० सम्मको औपचारिक शिक्षा लिएका छन् । शिक्षा र विकासदेखि दूर रहेको कर्णालीमा बूढाको परिवारसमेत पिल्सिएका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x