नेपाली कांग्रेस १४औँ महाधिवेशन

बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै

इकागज |
मंसिर २६, २०७८ आइतबार ७:१९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारकाे प्रथम नामावली प्रकाशन गरिसकेकाे छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाकाे उम्मेदवारी परेकाे छ । सभापतिमा मात्र ६ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।


क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएकाे समितिले जानकारी दिएकाे छ ।

आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।


Author

थप समाचार
x