तीनै तहका चुनावमा कांग्रेस खुम्चियो तर जिम्मेवारीबाट नेतृत्व पन्छियो
फाइल फाेटाे
काठमाडौँ - नेपालमा २०७२ मा संविधान जारी भएपछि मुलुक संघीयतामा प्रवेश गरेको हो । पहिलोपटक २०७४ मा संविधानअनुसार नेपाली कांग्रेसकै नेतृत्वमा संघीय, प्रदेश र स्थानीय सरकारको निर्वाचन भयो ।
उक्त निर्वाचनमा देशका प्रधनमन्त्री र पार्टी सभापति दुवै शेरबहादुर देउवा थिए । उनकै नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा कांग्रेसले तीनै तहमा नराम्रोसँग पराजय भोग्नुपर्यो ।
स्थानीय तहमा माओवादी, राप्रपालगायत दलसँग साँठगाँठ गर्दा कांग्रेसीहरुले रुखमासमेत भोट हाल्न पाएनन् । साँठगाँठ गरेका ठाउँमा पनि कांग्रेसी उम्मेदवारलाई हराउन सहयात्री दलहरु नै लागे । देशका लागि नयाँ केही दिन नसक्दा कांग्रेसको माहोल नै सिर्जना हुन सकेको थिएन ।
निर्वाचन परिणाम पछि प्रधानमन्त्री तथा सभापति देउवाले कांग्रेस पराजय भएको दोष पाइरहे । उनलाई पराजयको जिम्मेवार लिन केन्द्रीय समितिमा पटक-पटक कुरा उठ्यो तर उनले कहिल्यै हारको स्वीकार र जिम्मेवारी लिन मानेनन् ।
उनको नेतृत्वमा भएको निर्वाचनमा स्थानीय, प्रदेश र संघमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपर्यो । २०७२ मा संविधान जारी गरेर प्रशंसा बटुलेको कांग्रेस २०७४ मा आइपुग्दा २३ सिटमा खुम्चनुपर्यो ।
निर्वाचन आयोगको तथ्याकंअनुसार तीन (संघीय, प्रदेश र स्थानीय) तहमा गरी कांग्रेसका ३५ हजार ५३८ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा ११ हजार ५२० जनाले मात्रै विजय हासिल गर्न सके । बाँकी २४ हजार १८ जना पराजित भए ।
संघीय संसद्मा १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले २३ सिटमा जित हासिल गर्यो । त्यस्तै प्रदेशसभा सदस्य ३३० निर्वाचन क्षेत्रमा कांग्रेसका ४१ जनाले मात्रै जित हासिल गर्न सके । यस्तै ७५३ स्थानीय तहहरुमा (गाउँपालिका/नगरपालिका) मा अध्यक्ष/प्रमुखले १ सय ५ र उपाध्यक्ष/उपप्रमुखमा ८४ जनाले मात्रै जित हासिल गरे ।
त्यस्तै ६ हजार ७४३ वडामा २ हजार २८७ मा कांग्रेसले वडाध्यक्ष जितेको थियो । यस्तै १३ हजार ४७४ वडा सदस्यमा कांग्रेसले ४ हजार ४२३ मा जित हासिल गरेको थियो ।
यस्तै महिला वडा सदस्य ६ हजार ७४२ मा कांग्रेसबाट २ हजार १५६ ले मात्रै जिते । यस्तै दलित महिला सदस्यमा ६ हजार ५७६ मध्ये कांग्रेसका २ हजार १०१ जनाले जित हासिल गरे ।
कांग्रेसलाई यो हविगतमा पुर्याउने कांग्रेस सभापति देउवा अहिले पनि पुनः एकपटक सभापतिमा जिताइदिनुस् भन्दै मैदानमा उत्रिएका छन् । उनले अझै धेरै गर्नुछ भन्दै सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया