नेपाली कांग्रेस १४औँ महाधिवेशन

पार्टीमा सदस्यतामा अझै समावेशिता छैनः पौडेल

इकागज |
मंसिर २६, २०७८ आइतबार १४:६ बजे

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताए । उनले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताए । नेता पौडेलले विपी कोईरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताए । 

नेता पौडेलले भने, ‘हाम्रो संरचनागत समावेशिताको एउटा आधार बनेको छ । तर सदस्यतामा अझै पनि समावेशिता भएको छैन । आगामी दिनमा हामीले त्यो पक्षलाई गम्भीर ढंगबाट हेनुपर्छ । व्यवहारिक पक्षमा संविधानमा लेखेबमोजिम हामीले पार्टी, समाजलाई र मान्छेका मनोविज्ञानहरुलाई समावेशी बनाउन सकिरहेका छैनौँ । त्यो पक्षमा पनि नेपाली काँग्रेसले गम्भीर ढंगबाट काम गर्न जरुरी छ । विपी कोईरालाको समयमा नेपाली काँग्रेस पार्टी वैचारिक रुपमा जुन ढंगबाट धारिलो थियो । त्यही ढंगबाट, यही रुपमा नेपाली काँग्रेसलाई धारिलो बनाउन आवश्यक छ । यो समाजका सबै विभेदहरुलाई अन्त्य गर्ने प्रयत्न विपी कोईरालाको नेतृत्वले गरेको थियो । समाजमा भएका सबै विकृतिबाट चिर्ने प्रयत्न त्यतिबेला गरेको थियो । तर त्यही स्वरुपमा आज हामीले गर्न सकिरहेका छैनौँ ।’


नेता पौडेलले नेपाली काँग्रेसभित्र वृहत एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरुको भावनालाई प्रतिनिधित्व हुनेगरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताए । उनले पार्टीका नेताहरु भावनात्मक रुपमा एक हुन नसकेको भन्दै अन्तरसम्बन्धलाई व्यवस्थित गरी एउटा काँग्रेसीलाई चोट लाग्दा सबैलाई दुख्ने स्थिति सिर्जना गर्नुपर्ने बताए ।  


Author

थप समाचार
x