नेपाली कांग्रेस १४औँ महाधिवेशन

देउवालाई सत्ताबाट हट्नुपर्ने त्रास, शेखरलाई गगनको आश !

इकागज |
मंसिर २७, २०७८ सोमबार ७:११ बजे

काठमाडौँ- नेपाली कांग्रेसको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । विहान ८ बजेदेखि पाँच बजेसम्म हुने मतदानमा पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीलाई महाधिवेशन प्रतिनिधिले चुन्ने छन् । त्यसका लागि कांग्रेसले पाँच सय लिटरका पानी ट्यांकी मतपत्र सुरक्षित गर्नका लागि तयार गरिसहेको छ । 

महाधिवेशन अन्तर्गत आइतबार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशको काम मात्र भयो । विहानदेखि नै उम्मेदवार, शुभेच्छुकहरु प्रतिनिधिसँग विभिन्न उपायहरु अपनाउँदै मत मागिरहेका देखिए । मत माग्नका लागि सकेसम्म आफूलाई फरक देखाउने प्रयास र प्रयत्न हरेक जसो उम्मेदवार, प्यानल र त्यसको प्रचारमा लागेकाहरुले गरिरहेको देखिएको थियो । 


सत्ताबाट हट्नुपर्ने त्रास !
प्रतिनिधिमाझ आफू पक्षकाले भृकुटीमण्डप क्षेत्रमा भोट मागिरहँदा प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार शेरबहादुर देउवा भने आफूसँग साझेदारी गरिरहेका नेता कृष्णप्रसाद सिटौलालाई लिएर मत माग्ने एक कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा देउवाले आफू पार्टी सभापति रहेको खण्डमा मात्र अहिलेको सरकार चुनावसम्म टिकिरहने बताएका थिए । त्यसैले आफूले सभापति जित्नु पर्ने उनको तर्क थियो । उनले सभापतिमा पराजय रोक्न सत्ता बहिर्गमनको अस्त्र प्रतिनिधिमाझ फाले। 

‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ । मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले । त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ’ उनले भनेका थिए । 

आफू प्रधानमन्त्री भएर चुनावमा जाने हो भने तीनै तहको चुनावमा जीत हात पार्न सकिने उनको भनाइ थियो । 

उनले आफ्नो अन्तिम बेला भएको र आफूले जिते प्रधानमन्त्री रहिरहने र त्यसो भए गाउँदेखि माथिसम्म जित्ने र नभए त्यो सम्भव नहुने बताए । उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भयो भने स्थायित्व हुने तर्क पनि अघि सारेका छन् । 

‘यो मेरो अन्तिम बेला हो । ओलीलाई हटाएर म प्रधानमन्त्री बनेको छु । यदि मैले जितेको खण्डमा मात्रै यो पार्टीलाई सबै गाउँदेखि माथिसम्मको सरकार बनाउन सक्नेछु ’ यसो भन्दै देउवा आगामी चुनावमा पार्टीलाई आफूले मात्र ठूलो बनाउन सक्ने आशाको सञ्चार प्रतिनिधिमाझ गराउन चाहिरेहका छन् । 

आफूले हारे गठबन्धन सरकार ढल्ने भन्दै उनले चेतावनी दिइरहँदा सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले भने त्यसलाई अस्वीकार गरिदिएका छन् । उनले देउवा पराजित हुँदा गठबन्धन अझै बलियो बन्ने तर नेतृत्व परिवर्तन हुने बताए । 'नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ । यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ र संगठित भइकन यो गठबन्धनलाई निर्वाचनमा हामी होमिन्छौं' उनले भने । 

गगनको आश
संस्थापन इतरबाट दुई जना सभापतिको रुपमा चुनावी मैदानमा छन् । यस हिसावमा इतरपक्षको भोट बाँढिने छ । प्रकाशमान सिंह र शेखर पक्षको मत बाढिने त्रासका बीच कोइरालालाई गगनको आशा अलिक बढी देखिएको विश्लेषण कांग्रेस प्रतिनिधिहरुले गरिरहेका पाउन सकिन्छ । आइतबारको कार्यक्रममा सभापतिका उम्मेदवार कोइरालापछि कार्यक्रम समापन भएको घोषणा गरिएको थियो तर भीडबाट गगन थापाको माग भयो र मञ्चमा बसेका थापालाई कोइरालाले बोल्न आग्रह गरे । 

उनको आग्रह अनुसार गगनले माहोल तताए । हुन त गगनले मास हेरर अभिव्यक्ति दिन जानेकै छन् । 

उनले कांग्रेसमा युवालाई प्रवेश गरौं गरौं भन्ने बनाउनु पर्ने र त्यो सम्भावना शेरखको नेतृत्वमा मात्र सम्भव भएको बताए । उनले त्यसो भनिरहँदा शेखरको अनुहारमा खुसी भाव देखिएको थियो ।

‘नेपाली कांग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०/१२ लाख मतदाता थप्नुपर्छ । यसका लागि यस्तो नेतृत्व चाहियो कि कांग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दा  पार्टी बाहिरका मान्छेहरुलाई कांग्रेसमा आऔंआऔं लागोस् । कांग्रेसको घरभित्र पसौं पसौं लागोस् । शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ ’ उनले भनेका थिए । 

महामन्त्रीका उम्मेदवार  थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका थिए । उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई बिजयी बनाउन चाहिरहेको बताए । उनले आफूहरुको तागत भृकुटीमण्डपमा रहेको भन्दै त्यहाँ रहेका मतदाताको भावनालाई पनि समेट्न खोजे । 

कांग्रेसमा आशा गरिएका नेता मध्ये एक हुन् गगन थापा । हुनत विश्वप्रकाश प्रदीप पौडेल लगायतका नेताहरु पनि रहेका छन् । तर इतरपक्षबाट उनी बलियो उम्मेदवार रहेको आकल गरिरहँदा शेखरले उनीबाट आशा गरेको देखिन्छ ।


Author

थप समाचार
x