मेरो विजय हुन्छ भन्ने कुरामा विश्वास छ, जुनसुकै रिजल्ट आएपनि स्वीकार गर्छु : शेखर
काठमाडौँ- कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको चुनावमा विजयी हुनेमा विश्वास भएको बताएका छन् । हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गरेर उनले यस्तो हुन् ।
'जुनसुकै रिजल्ट आए पनि स्वीकार गर्छु' उनले पत्रकार सम्मेलनमा भने 'मेरो विजय हुन्छ भन्ने कुरामा विश्वास छ ।' 'यो स्वस्थ प्रतिस्पर्धा हो, कसले कसलाई समर्थन गर्छ त्यो महत्त्वपूर्ण होइन , महाधिवेशन प्रतिनिधिको विवेक महत्त्वपूर्ण हो' उनले भने ।
निर्वाचनमा जाने घाेषणा गर्ने क्रममा सभापतिका उम्मेदवार कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईहरू आफै नेता हुनुहुन्छ । आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’
उनले आफूले नेपाली कांग्रेसको सभापतिमा विजयी भए कांग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाए । आफूले सुरू गरेको नेपाली कांग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्याउने घोषण पनि गरे । साथै उनले निर्वाचनको परिणाम जेसुकै आए पनि स्वीकार हुने पनि बताए ।
उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्तको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहूति गर्न चाहन्छु ।’
कोइरालाले मैदान नछाड्ने बताएका छन् । आफ्ना समूहमा रहेका नेताहरुसँगको आन्तरिक छलफलपछि कोइरालाले दोस्रो चरणको चुनावको सामना गर्ने बताएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया