नेपाली कांग्रेस १४औँ महाधिवेशन

को हुन सभापति देउवा ?

इकागज |
मंसिर २९, २०७८ बुधबार ९:८ बजे

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् । 

प्रधानमन्त्री देउवा मंगलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएक छन् । उनले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गरेका हुन् । 


पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी भएक हुन् । 

यही मंसिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उनले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आव्हान गरेका थिए । 

प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गरेका थिए । 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । 

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । 

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएक थिए । 

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । 

पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए । 

सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए । 

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जितेका थिए । 

उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उनी सभापति बने । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी काँग्रेसको वरिष्ठ नेता भएक थिए । 

त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएक थिए । 

सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार संघीय संरचनाका तीन तहका निर्वाचन गराएका थिए । 

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्तभएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ रकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते स्थापनाको फैसलाका साथ उनलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् । रासस


Author

थप समाचार
x