सन्त नेता भट्टराईका चेला खड्काले कांग्रेसमा निष्ठा भित्र्याउँलान् ?
काठमाडौँ - कांग्रेसका सन्त कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने पूर्णबहादुर खड्का उपसभापति निर्वाचित भएका छन्, संस्थापन पक्ष प्यानलबाट । खड्का निष्ठा–इमानसहित डर–लोभबाट मुक्त हुँदै राजनीतिमा स्थापित हुनुपर्छ भन्ने मान्यता राख्छन् ।
पटक–पटक ६८ वर्षीय खडका यसअघि महामन्त्री थिए । खड्का कांग्रेसका नेता भट्टराईका ‘धैर्य गर्नू, जनताको सेवामा लाग्नू, निष्ठामा लाग्नू, लोभ नगर्नू, डर–धम्कीमा नपर्नू, अनि मात्रै कल्याण–उन्नति हुन्छ’ भन्ने वाक्यांशबाट प्रभावित छन् ।
कार्यसमितिमा महामन्त्री रहेका खड्का संस्थापनको प्यानलबाट उपसभापतिमा निर्वाचित भएका छन् । ०३५ सालदेखि नै उनी सक्रिय राजनीतिमा लागेका हुन् ।
माध्यमिक शिक्षापछि नेपालगञ्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका छन् । नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भएका खड्का ०३६ सालको जनमत संग्रह सक्रिय थिए ।
पञ्चायती व्यवस्थामा कांग्रेसले पहिलो चोटि २०४४ स्थानीय चुनाव उपयोग गरेको थियो । उक्त चुनावमा प्रतिबन्धित दल कांग्रेसबाट सुर्खेत नगरपञ्चायतको प्रधानपञ्चको उम्मेदवार बनेका थिए । खड्का नगर प्रधानपञ्चमा विजयी भएका थिए । तर पुस १ को पञ्चायती संविधान दिवस बहिष्कार गरेपछि निलम्बनमा पारिएको थियो ।
खडका २०४६ सालको आन्दोलनमा सक्रिय थिए । त्यही क्रममा उनी ५ महिना हिरासतमा बसेका थिए ।
२०४५ सालमा खड्का कांग्रसको सुर्खेत सभापति भएका थिए । ०४८, ०५१, ०५६ मा संसदीय चुनावमा निर्वाचित भएका खड्का गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग बाणिज्य मन्त्री भइसकेका छन् । ०६४ को संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट सभासद थिए । त्यसपछि ०७० को निर्वाचनमा सुर्खेत–१ बाटै निर्वाचित भएका उनी ०७४ मा भने त्यही क्षेत्रमा पराजित भए ।
खड्का १० औँ महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय सदस्यमा सुशील कोइरालासँग पराजित भए । ०५९ मा पार्टी फुटेपछि उनी केन्द्रीय सदस्य (प्रजातान्त्रिक कांग्रेस) भए । १२ औँ महाधिवेशनबाट कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य नै रहे ।
कांग्रेस एकीकरणपछिको १२औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य जिते । र, देउवाको सिफारिसमा सुशील कोइरालाले उनलाई सहमहामन्त्री मनोनीत गरे ।
खड्का यसपालि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने र विश्वासको मत दिलाउने ‘मिसन’मा खड्का सक्रिय थिए । किसनुजीको जुन लोभ–लालचबेगर त्यागी व्यवहार अबको कांग्रेसभित्र सिला खोज्नुपर्ने स्थिति छ । खड्काले केही समयअघि इकागजसँगै भनेका थिए, ‘हामी सबैको बुद्धि–सुद्धि फिर्नु जरुरी छ । जे–जति गल्तीका कारण देश–जनताले दुःख पाए, अब त्यस्तो काम दोहोर्याउने छूट छैन । त्यसरी दोहोर्याउने अनुमति छैन, अब ।’
उपसभापति भएपछि कांग्रेसीजनको बुद्धि–सुद्धि फिराउन सक्रिय हुने विश्वास कांग्रेसीजनको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया