अर्को महाधिवेशनमा खुल्लामा लड्छु, महिला कोटाबाट लड्दिनँः सहमहामन्त्री उपाध्याय
नयाँ जिम्मेवारी प्राप्त गरेकी छु । जिम्मेवारीलाई सशक्त रुपमा पूरा गर्ने प्रतिवद्धताका साथ अघि बढ्छु । नेपाली कांग्रेसले पहिलो पटक महिला सह–महामन्त्री चयन गरेको छ । मैले मेरा प्रतिवद्धताहरु यसअघि नै सार्वजनिक गरेकी थिएँ । पदाधिकारीमा महिलाहरुलाई निर्णायक भूमिकामा पुर्याउनुपर्छ भनेर लड्दै आएकी हुँ । पदाधिकारीमा अत्यन्त न्यून संख्यामा महिला राखिएको छ । भोलिका दिनमा महिलाहरुलाई निर्णायक भूमिकामा पुर्याउने मेरो दृढ संकल्प छ । यो लक्ष्यका साथ अघि बढ्छु ।
मैले पदाधिकारीमा एकतिहाइ हुनुपर्छ भनेर एजेन्डा उठाएकी हुँ । विधानमा पनि राखेको हो । विधायन समितिमा बसेर एकतिहाइ राख्नुपर्छ भनेर जोडदार माग गरें । म चाहिँ देशभर कोटामा मात्र होइन, सशक्तका साथ हिँडाउन, लड्ने क्षमता बढाउन संगठित भएर लाग्छु । केही समयका लागि कोटा आवश्यक छ भनेर हिजो लडेको हो । भोलिका दिनमा हामी कुनै ठाउँमा जित्न सक्ने लक्ष्यलाई प्राप्त गर्नेका साथ हिँड्छु ।
यो भन्दा अघि म खुल्लामै लडेको हुँ । यसपटक मैले के महसुस गरें भने एकपटक महिला कोटाबाट लड्छु । अहिले महिला कोटाबाट जितें पनि । अबको आगामी महाधिवेशनमा म महिला कोटाबाट चुनाव लड्दिनँ । यो घोषणा गर्छु, अर्को पटक म खुल्लामै लड्छु ।
अब ६०/४० को भागभन्डाको कुरा अन्त्य भएको मैले महसुस गरेको छु । यो पटक सबै पदमा मिश्रित नजिता आइरहेका छन् । एउटा ऊर्जावान् व्यक्तिलाई पार्टीका महाधिवेशन प्रतिनिधिहरुले साथ दिनुभएको छ । काम गर्ने, क्षमतावान् र सांगठनिक नेताहरु विजयी हुनु भएको छ । यो महाधिवेशनले गुटउपगुटलाई केही मत्थर पार्ने गरी साथीहरुले मत दिनु भएको छ । अब गुटउपगुट विस्तारै हट्छ भन्ने आशा लिएकी छु ।
महालक्ष्मी उपाध्याय (डिना)
नवनियुक्त कांग्रेस सह–महामन्त्री
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया