नेपाल टेलिकमले दियो प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश
काठमाडौँः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तेह्रौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६–७७ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम शुक्रबारदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था भैसकेको छ । साधारण सभाले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालु आर्थिक वर्ष २०७७–७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको जनाएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको व्यहोरा अनुरोध गर्दै शेयरधनी महानुभावहरूलार्ई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बनाउन सञ्चालक समिति सधैँ प्रतिबद्ध रहँदै आएको उल्लेख गरे । अध्यक्ष बस्यालले उपभोक्ताको अपेक्षाअनुरूप किफायती, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गर्न शेयरधनीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि सञ्चालक समितिको तर्फबाट आभार व्यक्त गरेका थिए ।
मूलतः कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा भएको छ । नेपाल टेलिकमले लकडाउन अवधिमा कम्पनीले टपअपमा शत प्रतिशत बोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड रुपैयाँ र कर्मचारीको तर्फबाट २ करोड रुपैयाँ गरी जम्मा १२ करोड रुपैयाँ योगदान गरेको थियो ।
महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थाहरूमा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको र यसले विद्यार्थीहरुको पठनपाठनमा निकै सहयोग पुगेको नेपाल टेलिकमको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
साथै नेपाल टेलिकमले आर्थिक वर्ष २०७६–७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड रुपैयाँ बुझाएको छ । नेपाल टेलिकमले आधारभूत टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए प्रविधिमार्फत भ्वाइस सेवा र एडीएसएल, लिज्ड लाइन, टुजी, थ्रीजी, फोरजी/एलटीई, वाइम्याक्स, एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । आ.व. २०७६-७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको बताइएको छ । त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ । जीएसएम सेवा कम्पनीको राजस्वको प्रमुख मेरुदण्डीय आधारको रूपमा स्थापित भइसकेको बताइएको छ ।
यसका साथै कम्पनीको भविष्य इन्टरनेट सेवामा रहेको स्वीकार गर्दै चौथो पुस्ताको फोरजी/एलटीई सेवा विस्तारमा स्रोत/साधन परिचालन गर्दै आएको उल्लेख छ । कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७६–७७ मा नेपाल टेलिकमले कुल राजस्व ४२ अर्ब ९९ करोड रुपैयाँ र ९ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया