कर्पोरेट

माघको अन्तिम साता ‘स्टार्टअप फेस्टिभल’

इकागज |
मंसिर २९, २०७९ बिहीबार १५:१३ बजे

काठमाडौँ- नेपाल जस्तो विकासउन्मुख देशमा नयाँ उद्यमीहरूलाई ठाउँ दिनुपर्छ र लगानीकर्ताहरूलाई समेत यस किसिमका नयाँ योजनाहरूले प्रोत्साहन गर्ने भन्दै स्किल कर्नर नेपालले स्किल कर्नर स्टार्टअप फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभल माघको २५ र २६ गते हुने भएको छ । उक्त फेस्टिभलमा लगानीकर्ताहरूका निम्ति कमिटी गठन गरिने छ र त्यसअन्तर्गत नयाँ तथा मौलिक योजनासहितका उद्यमीहरूको स्टार्टअपमा लगानी गर्न इच्छुकहरूले लगानी गर्न सक्नेछन् । 

स्टार्टअप फेस्टिभल भन्ने बित्तिकै नयाँ स्टार्टअपहरूलाई आफ्नो बजार व्यवस्थापन गर्न यसले निकै सहयोग गर्ने र यसले उद्यमशीलतालाई समेत प्रोत्साहन गर्ने स्किल कर्नरका डाइरेक्टर सौदेन बडाल बताउँछन् । कम्पनीले यस अघि पनि यस किसिमका आयोजनाहरूमा कुनै न कुनै हिसाबले काम गरेको र भविष्यमा पनि यस्तो कार्य गर्ने योजना रहेको संस्थाको भनाई छ । सय भन्दा बढी नयाँ स्टार्टअपहरूले यसमा भाग लिने अनुमान गरिएको छ र दैनिक एक हजारभन्दा बढी व्यक्तिले फेस्टिभल अवलोकन गर्ने संस्थाको ठम्याई छ । 


फेस्टिभल डाइरेक्टर अग्रिम अधिकारीका अनुसार यस फेस्टिबलले नयाँ उद्यमीहरूलाई बजारसँग जोड्ने साथै ठूला लगानीकर्ताहरूलाई समेत नयाँ योजनाका उद्यमशीलतामा लगानी गर्ने सुवर्ण अवसर प्रदान गर्ने छ । संस्थाले यस कार्य आयोजना गर्न स्पन्सरसिपको आह्वान पनि गरिसकेको छ । नेपालमा पहिलो पल्ट उद्यमीहरूको निम्ति यति ठूलो फेस्टिभल हुन लागेको हो ।

भारत लगायत अन्य दक्षिण एसियाली मुलुकमा यस किसिमका आयोजनाहरू भैरहेको र यसपल्ट नेपालमा समेत यो आयोजनाले नयाँ इँट्टा थप्ने फेस्टिभल डाइरेक्टर एवम् स्किल कर्नर नेपालका प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । 


Author

थप समाचार
x