कर्पोरेट

नबिल बैँकको ३८ औँ  वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

इकागज |
पुस २९, २०७९ शुक्रबार १३:४४ बजे

काठमाडौँ- नबिल बैँक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।


३८ वर्ष देखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैँकले यस वर्ष पनि ‘क’ वर्गको बैंकहरुमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ । 

साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र ए.आर.एम. नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।  

नबिल बैंक आ.व. २०७८/७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब २५ करोड ६० लाख रूपैयाँ हासिल गर्न सफल भएको बैँक हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष रु.२७ अर्ब नाघेको छ ।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे ।

बैंकले स्थापनाकालदेखि हालसम्म रु. १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगै अघि बढ्ने विश्वास राखेको छ । बैँकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने सेयरधनी तथा सम्बद्ध सबै निकायहरू प्रति सभाबाट आभार प्रकट गरिएको छ ।


Author

थप समाचार
x