कर्पोरेट

नेपालमै पहिलोपटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुँदै

इकागज |
माघ ६, २०७९ शुक्रबार २०:४९ बजे

काठमाडौं– नेपालमै पहिलोपटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रमुख आतिथ्यतामा आउँदो माघ १० मा सम्मेलन आयोजना गरिन लागिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ‘यूके एड’ तथा ‘द एसिया फाउन्डेसन’सँगको सहकार्यमा सम्मेलन हुन लागेको हो । 


सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सुचकाङ्क तथा राष्ट्रिय नवप्रवर्तन सुचकाङ्क जस्ता विषयमा छलफल हुनेछ । उक्त सम्मेलनले प्राज्ञिक क्षेत्र, सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वाससमेत गरिएको छ । 

देशमा अनुसन्धान र विकासलाई बढावा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरूलाई एक स्थानमा ल्याउन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन आवश्यक रहेको आयोजकले जनाएको छ । 

मुलुकका अथर्तन्त्रको विकासका लागि आवश्यक क्षेत्रहरू पहिचान तथा उजागर गर्ने कार्यका लागि सम्मेलनले एउटा माध्यमको रूपमा काम गर्ने आयोजक बताउँछन् । आयोजकका अनुसार यसले प्राविधिक जनशक्ति र नीति निर्माताहरूलाई एउटै स्थानमा ल्याएर नवप्रवर्तनका लक्ष्य प्राप्ति गर्ने दिशामा विद्यमान रहेका समस्या पहिचान गरी समाधानको बाटोसमेत पहिल्याउने आशा गरिएको छ । 

सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा प्रदर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरूलाई प्रोत्साहनसमेत गरिने बताइएको छ । 

एक दिने सम्मेलन भर्चुअल तथा भौतिक उपस्थिति दुवैको मिश्रित ढाँचामा सञ्चालन हुने आयोजक बताउँछन् । सम्मेलनका क्रममा प्यानल छलफल, विज्ञ प्रस्तुति र प्रदर्शनीहरू नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विधिक अधिकृत डा. ईश्वर बज्राचार्यले जानकारी  दिए ।

सम्मेलनको उद्घाटनमा देशका सातै प्रदेशका नवप्रवर्तक तथा आविष्कारकहरूलाई निम्त्याइएको र यसबाट उनीहरूले आफूलाई उजागर गर्न र राष्ट्रिय स्तरका नेतृत्व तथा सरकारी प्रतिनिधिसँग आफ्नो नवप्रवर्तन साझेदारीको अवसर समेत प्राप्त गर्ने विश्वास गरिएको छ । 

सम्मेलनमा नास्ट, एसिया फाउन्डेसनका साथै नक्सा र रोबोटिक्स एसोसियसन अफ पाल समेत आयोजकको रूपमा रहेका छन् ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल रहनेछन् । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, काठमाडौं विश्वविद्यालयका उपकूलपति डा. भोला थापा, मध्यपश्चिमांचल विश्वविद्यालयका उपकूलपति डा.नन्द बहादुर सिंह, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.राम कुमार फुयाँल, ‘रिकास्ट’का प्रध्यायक डा.रामेश्वर अधिकारी वक्ताको रूपमा रहने छन् ।

अन्तरराष्ट्रिय वक्ताका रुपमा एसिया फाउन्डेसनका अध्यक्ष डेविड अर्नाल्ड, आर. रामानन, प्रथम मिसन डिरेक्टर, अतुल्य मिसन इन्नोभेशन, नीति आयोग इंडिया र यसका साथै अन्य वक्तामा योङ्ग ओलिभर शान, उपाध्यक्ष, ग्लोबल रोबोटिक्स क्लस्टर रहने बताइएको छ ।

त्यस्तै अन्य वक्तामा इनोभेसन ल्याबका सीईओ विभूषण विष्ट, राष्ट्रिय योजना आयोगका गोविन्दराज पोखरेल, महिला उद्यमी महासङ्घकी अध्यक्ष निरु रायमाजी खत्री,  सदस्य प्राध्यापक डा गोविन्द नेपाल, उद्योग वाणिज्य महासङ्घका स्टार्ट–अप एंड इन्नोवेसन कमिटि अध्यक्ष रंजित आचार्य, नास्टका प्राज्ञ डा रमेशकुमार मास्के, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुन, एफवान सफ्टका सीईओ सुवास शर्मा, नास्टका प्रविधि सङ्काय प्रमुख रविन्द्र ढकाललगायत रहेका छन् ।


Author

थप समाचार
x