कर्पोरेट

नर्सिङ सम्मेलन काठमाडौँमा सम्पन्न

इकागज |
बैशाख ८, २०८० शुक्रबार २०:५९ बजे

काठमाडौँ- नेशनल नर्सिङ सम्मेलन सम्पन्न भएको छ । काठमाडौँको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद संयुक्त आयोजना नेशनल नसिंङ सम्मेलन 'नेतृत्वका रूपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास' भन्ने मुख्य नारासहित सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उद्देश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच वर्षमा गर्नुपर्ने रिभोलुसन हुन नसकेको बताए । उनले भने, 'गाउँ गाउँमा हेल्थ केयर सेवा पुर्याउनका लागि संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ । यसका लागि सरकारले नै पहल गर्नुपर्छ।’


सम्मेलनमा कान्ति बाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताइन् । उनले महामारीका रूप लिँदै गरेको नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले स्कुल र सामुदायिक नर्सले उल्लेखनीय भूमिका खेल्ने जिकिर गरिन् । 
नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको  उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाका रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे ।

काठमाडाैँ मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमित्रा पाठकका अनुसार अहिले पढिरहेका नर्सहरू विदेश जाने गरेका छन् । नर्सहरू नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजिल्यान्ड, अमेरिका र बेलायत बढी जाने गरेका उनले बताइन् । नेपालमा अध्ययन गरेका नर्समध्ये विदेशमा ७४ प्रतिशत विदेशमा जाने गरेका छन् । नेपालमा पिसियलको तथ्यांक घटेको उनको भनाइ छ ।

आर्मी अस्पतालकी नर्सिङ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पूर्ति गरेमा नर्स विदेश जानेक्रम केही रोक्न सकिने बताइन् । सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने भनिए पनि तर त्यो नरहेको उनको भनाइ छ । उनले अहिले एक नर्सले ४० जना बिरामी हेर्नुपरेको बताइन् ।  

त्यसैगरी नेपालमा नसर्ने रोगबाट वर्षमा १ लाख २६ हजार मानिसको मृत्यु हुने गरेको युनिसेफ पाकिस्तानका पूर्व प्रमुख हरि बास्कोटाले बताए । उनले नेपालमा ४० वर्षभन्दा माथिका १२ लाख दीर्घरोगका रहेका बताए । नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले नीति नियममा सुर्तिजन्य पदार्थको नियन्त्रण गर्न कानुन बनाए पनि त्यसलाई पालना नगरेको बताइन् । सुर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगको बढाएको उनको भनाइ छ । 

नर्सिङका विद्यार्थीहरूले समुदायमा नसर्ने रोगका बारेमा जानकारी गराउन पनि उनले आग्रह गरिन् । पाटन अस्पतालकी नर्सिङङ सुपरभाइजर रचना शाक्यले नसर्ने रोगबाट बच्न हामीले जीवनशैलीमा ध्यान दिनुपर्ने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.राजेन्द्र वाग्ले नसर्ने रोगमा सबै जना मिलेर अघि बढेमा परिवर्तन आउने बताए ।

सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुति भएको थियो ।


Author

थप समाचार
x