कर्पोरेट

एनसेलले दियो सरकारी अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर्स

इकागज |
जेठ ८, २०७८ शनिबार १९:१५ बजे

काठमाडौँ :  एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग घोषणा गरेको १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढि पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको बताएको छ । कोरोनाभाइरस रोगबाट संक्रमित बिरामीहरु जसको रगतमा अक्सिजन लेबल कम हुन्छ त्यस्ता बिरामीहरुका लागि अक्सिजन एक आधारभूत मेडिकल आवश्यकता हो । 


एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स वितरण गरिने बताइएको छ । 

‘एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई उद्धृत गर्दै दूरसञ्चार सेवा प्रदायक एनसेलले भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पुर्वाधार विकासमा सहयोग पुर्याउने छ ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले विपद्को समयमा जनताको सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिदैं महामारीबाट अमूल्य जीवन बचाउन अस्पतालहरुलाई १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्न लागेको उल्लेख गरे । ‘एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं,’ उनले भनेका छन्, ‘कोभिड–१९ प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौं । यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्दै आइरहेको छ ।’ 

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श प्रदान हुँदै आएको छ । साथै एनसेलले धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गरिरहेको जनाएको छ । 

एनसेलले स्वास्थ्यसम्बन्धी सचेतनाका साथै विषम परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकता पूर्ति गर्न एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ग्राहककालागि ल्याएको उल्लेख गरेको छ । 

साथै कम्पनीले आफ्ना कर्मचारी कल्याणका लागि सञ्चालित अभियान अन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरुलाई विषेश होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ । यस सहयोग अन्तर्गत कम्पनीले आपतकालीन समयमा काठमाडौं भित्र र जिल्लामा रहेका कर्मचारीहरुलाई तत्काल अक्सिजन कन्सन्ट्रेटर्स, ह्वील चेयर र स्टे«चर उपलब्ध गराउँदै आएको छ । ‘यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई मास्क, स्यानिटाइजरको व्यवस्था गर्नुका साथै उनीहरुलाई आवश्यक परेको खण्डमा औषधीहरु घर—घरमै डेलिभरी गरिदिने व्यवस्था पनि गरेको छ,’ एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई भर्चुअल सेसन मार्फत कोभिड—१९ को लक्षण, बच्ने उपाय तथा त्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरु पनि संचालन गरेको छ ।’ 

एनसेलको सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको सहकार्यमा गत वर्ष देखिनै कोरोभाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिबृद्घिका सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको छ । सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्य अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम,  नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गरेको थियो । 


Author

थप समाचार
x