कर्पोरेट

नेपाल टेलिकमको धन्यवाद स्वास्थ्यकर्मी अफर

इकागज |
जेठ ९, २०७८ आइतबार १७:३९ बजे

काठमाडौँ : कोभिड–१९ को महामारीमा संक्रमण नियन्त्रण र उपचारका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । उक्त सम्झौतामा आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको नेपाल टेलिकमले जनाएको छ । 

यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड, प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा हुने कल निःशुल्क गरिने उल्लेख छ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागू हुने रेन्टल चार्ज भने कायमै रहने बताइएको छ । 


स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित उल्लेखित परिषदहरूले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अनुसार दिन लागेको यो सुविधाको अवधि महामारीको अवस्था हेरेर हेरफेर गर्न सकिने बताइएको छ । स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउने वा स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सक्नेछन् । यसरी वितरण गरिने सिममा धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिएको हुनेछ । 


Author

थप समाचार
x