कर्पोरेट

सिंगापुरबाट ल्याइएका स्वास्थ्य सामग्री मन्त्री त्रिपाठीलाई हस्तान्तरण

इकागज |
जेठ १०, २०७८ सोमबार १४:५३ बजे

काठमाडौँ : कोभिड–१९ महामारी नियन्त्रण र उपचारका लागि १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायस सेवा निगमको चार्टर उडान सिंगापुरबाट आइतबार काठमाडौँ आईपुगेको छ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो स्वास्थ्य सामग्री उपलब्ध भएको हो । 

करिब ३० लाख सिंगापुर डलर (करिब २५ करोड रुपैयाँ) अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हस्तान्तरण गरेका छन् । यसमा एक लाख २३ हजार भन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षण किट (सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको), ५००० बाकस सिटोटेष्ट स्वाब किट्स (२,५०,००० किट), २ म्याजेक३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बीआइ–पीएपी, नन्–इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने बताइएको छ ।


तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले वक्तव्यमा भनेका छन्, ‘कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।’

सिंगापुरस्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसै गरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।स्वास्थ्य समाग्री हस्तान्तरणपछि बोल्दै मन्त्री त्रिपाठीले अहिलेको कठीन घडिमा सिंगापुरको तामासेक फाउण्डेशन, लोटस लाइफ फाउण्डेशन तथा गोर्खा ब्रुअरीवाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

उनले प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड–१९ नियन्त्रण र उपचारमा तीव्रता दिने बताए ।  उनले कोभिड–१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा ब्रुअरीबाट आउँदो दिनहरुमा पनि थप सहयोगको अपेक्षा पनि गरेका छन् । 

उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने आशा व्यक्त गरे 

‘गोर्खा ब्रुअरीबाट यस अघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरुमा निरन्तर रुपमा विभिन्न सहयोग गर्दै आएको छ,’ उनले भने, ‘२०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो ।’

लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेशन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद दिदैं यी स्वास्थ्यसामग्रीले अग्रपंक्तिमा रहेर सेवा दिने स्वास्थ्यर्मीहरूलाई महामारीबाट जोगाउन र महामारी नियन्त्रणमा मद्दत पुर्‍याउने अपेक्षा रहेको उल्लेख गरेका छन् । 


Author

थप समाचार
x