कर्पोरेट

विदेशी लगानी ल्याउन पूर्व स्वीकृति नचाहिने निर्णयको स्वागत

इकागज |
जेठ २६, २०७८ बुधबार १७:१५ बजे

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाहरूले विदेशी लगानी भित्र्याउन सम्बन्धीत निकायको स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुनपर्ने व्यवस्थाको स्वागत गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले विज्ञप्ति जारी गर्दै यसको स्वागत गरेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी 'नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८' मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको ठहर परिसंघको छ । परिसंघले विगतदेखि नै उठाइरहेको विषय सम्बोधन भएको उसले बताएको छ । नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने परिसंघको अपेक्षा छ ।

कोभिड विरुद्धको खोप लगाउन थालेपछि आर्थिक क्रियाकलापले गति लिने उल्लेख छ ।  तर, आर्थिक गतिविधि बढाउनको लागि ठूलो मात्रामा लगानीको आवश्यकता पर्ने भएकाले  नेपाल सरकारले लिएको दीर्घकालिन सोच र चालु १५औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्नको लागि पनि ठूलो परिमाणमा लगानी परिचालन गर्नुपर्ने आवश्यकता देखिएको परिसंघको भनाइ छ ।



Author

थप समाचार
x