कर्पोरेट

एनसेलका मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

इकागज |
असार १५, २०८१ शनिबार २०:१० बजे

काठमाडौँ- विपद् पूर्वतयारी र प्रतिकार्यका लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) हरूले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ ।

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिबद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । 


यी टोलीहरूले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः संचालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरू र नेपाल विद्युत् प्राधिकरणको खम्बा ढलेर विद्युत् आपूर्तिमा असर परेको अवस्था थियो । 

आरआरटीहरूलाई विशेष रूपमा आपतकालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुत गतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य अनुरुप यी आरआरटीहरू गठन गरिएका हुन् ।

अहिलेको अवस्थामा विशेष गरी भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयका लागि सेवाहरू अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरी अवरुद्ध भएमा यथाशक्य चाँडो सेवा पुनः संचालनमा ल्याउन र्‍यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।

यसैगरी, एनसेलले विपद् पूर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ । 

विपद्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरू र बाढीले असर गर्नसक्ने ठाउँहरूलाई लक्षित गरी एनसेलले आवश्यक तयारीहरू गरेको छ । विपद्को बेलामा विद्युत् आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा संचालन गरी आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरूले धेरै ठूलो महत्व राख्दछ ।    

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।


Author

थप समाचार
x