निर्यातलाई अर्थतन्त्रको प्रमुख इन्जिन बनाउनुपर्छ : अध्यक्ष गोल्छा
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा विकास गर्ने गरि भिजन बनाउन लागेको बताएका छन् । निर्यात व्यवसायी महासंघ(फिन) ले मंगलबार गरेको नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात व्यवसायलाई विकास गर्ने गरि महासंघले आफ्नो भिजन निर्माण गर्न लागेको छ ।’ उनले निर्यातमा भएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए । जसमा व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार र व्यवस्थामा ध्यान दिने स्पष्ट पारे । उनले आफ्नो नेतृत्वमा पक्ष-विपक्ष नहुने र एकजुट भएर उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्ने भन्दै अर्थतन्त्रको विकासमा भुमिका खेल्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निर्वाचन पछि महासंघमा पक्ष-विपक्ष सकिएको र आफूले निजी क्षेत्रको र उद्योगी व्यवसायीको साख बढाउन कुनै कसुर बाँकी नराख्ने बताए । ‘मैले बैंकको बोनसबाट पाउने रकम भन्दा व्यवसाय धेरै ठूलो छ । त्यसैले बैंकको स्प्रेड दर कमगर्न मेरो पहल हुनेछ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने । उनले निजी क्षेत्रका समस्या पहिचान र निराकरणमा आफूले एक ईँटा थप पर्ने प्रतिबध्दता व्यक्त गरे ।
वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले अहिले नीतिगत स्पष्टता नभएको भन्दै त्यसले लगानीमा नै असर पार्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता नीतिगत स्पष्टता कायम गराउन सरकारसँग सहकार्य गर्ने र लगानीमैत्री वातावरण बनाउने बताए ।
जिल्लातर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्ला तहमा धेरै समस्या भएको भन्दै त्यसको समाधानको लागि काम गर्ने बताए । त्यसैगरि एसोशिएट्स तर्फका उपाध्यक्ष रामचन्द्र सांघाईले आफूपनि धागो निर्यात उद्यमी भएको भन्दै निर्यातको वृध्दिको लागि पूर्ण सहयोग फिनलाई गर्ने बताए ।
कार्यक्रममा फिनका अध्यक्ष राम बहादुर गुरुङ्गले निर्यातलाई प्रर्वधन गर्न नयाँ नेतृत्वलाई आग्रह गर्दै व्यवसायीक हित अनुकुल नीति ल्याउन पहल गर्नुपर्ने बताए ।
फिनका महासचिव दुर्गाबिक्रम थापाले महासंघको १० वर्षे मार्गचित्र बनाउन सहयोगी भुमिका खेल्न तयार रहेको भन्दै महासंघमा पक्ष-विपक्षको रूपमा काम गरेमा त्यसको विरोध गर्ने चेतावनी दिए । यो कार्यकालमा महासंघ एकजुट भएको हेर्न चाहेको भन्दै हालका अध्यक्ष गोल्छाको कामको गतिलाई साथ दिने बताए ।
फिनका उपाध्यक्ष शंकर पाण्डेले फिन र महासंघ एकअर्काका परिपुरक भएका भन्दै एफएनसिसिआईमा सफाई गर्नुपर्ने समय आइसकेको तर्फ संकेत गरे । उनले महासंघका रानीति ल्याउन नहुने भन्दै नीतिगत परिमार्जन गरेर हालको निर्यातलाई ५ गुणाले बढाउन सकिने जिकिर गरेका थिए ।
कार्यक्रममा वस्तुगत समुहतर्फका सबै निर्वाचित सदस्यहरुलाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया