कर्पोरेट

शुक्रबार अनलाइन बिजनेससम्बन्धी कार्यक्रम हुने

इकागज |
मंसिर १७, २०७७ बुधबार १६:१७ बजे

काठमाडौं : शुक्रबार अनलाइन कारोबारसम्बन्धी इ–बिजनेस पोलीसी फोरम, २०२० आयोजना हुने भएको छ । कोभिड–१९को महामारीको प्रभावसँगै बढ्दो विद्युतीय कारोवारलाई मध्यनजर गर्दै डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्टिच्युटको संयुक्त आयोजना तथा इनोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह–आयोजनामा यो कार्यक्रम हुन लागेको हो । 

नेपालमा इ–बिजनेश सम्बन्धी नीति, कानुन, तथा अभ्यासलाई सम्बन्धित सरोकारवाला को सहभागितामा समिक्षा, विश्लेषण गरी दिगो इबिजनेसका उपाउ केलाउने आयोजकले बताएका छन् । 


राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त वक्ताहरुको सहभागिता रहने उक्त फोरममा नेपालमा इ–व्यवसायको नीति, कानुन तथा अभ्यासको बारेमा छलफल हुनेछ । जसमध्ये नेपालमा इ–कमर्स सम्बन्धी नीतिगत व्यवस्था, नेपालमा इ–कमर्सका अवसर तथा चुनैतिहरु, इ–कमर्स व्यवसायको दिगोपन, इकमर्शको क्षेत्रमा प्रतिलिपि अधिकार, इकमर्श र उपभोक्ता संरक्षण जस्ता विषयहरु प्रमुख छन् । 

जुम प्लाटफर्ममा आधारित यस फोरममा ३०० जना सहभागीहरुको प्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ । अनलाईन माध्यमको संवेदनशीलतालाई मध्येनजर गरी कार्यक्रमको आयोजनामा अत्यन्त सुरक्षा सतर्कता अपनाइएको जानकारी दिएको छ । 

यस कार्यक्रमको इन्डस्ट्री साझेदारको रुपमा प्रभु–पे तथा मिडिया पार्टनरको रुपमा टेकपाना अनलाइन, रेडियो पार्टनरको रुपमा सिटिजन एफएम रहेको छ । फोरमको कम्युनीटी पार्टनरको रुपमा क्याफे–डि–लिगल र जुरिष्ट एण्ड ल छन् । 

सूचना प्रविधिको विकासले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको सदुपयोग र विकाशकालागि सरोकारवालाहरुको सहकार्यमा इ–बिजनेशको क्षेत्रका विभिन्न विषयमा छलफल गरी सम्बन्धित निकायलाई ई–बिजनेशको नीति तथा कानुनको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले फोरम आयोजना गर्न लागिएको जानकारी आयोजक मध्येका नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले बताए । 

हरेक वर्ष डिसेम्बर ४ तारिखमा फोरम आयोजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


Author

थप समाचार
x