कोभिड-१९

धनी मुलुककै नियन्त्रणमा कोभिड खोप

इकागज |
चैत १६, २०७७ सोमबार ६:५९ बजे

काठमाडौँ : कोभिड-१९ का कारण सबैभन्दा बढी मारमा परेको मुलुक हो, अमेरिका । अहिले पनि अमेरिकामा प्रत्येक दिन सरदरमा ५७ हजार नयाँ संक्रमित भेटिन्छन् भने ४० हजार अस्पताल भर्ना भइरहेका छन् । त्यस्तै, एक हजारको मृत्यु भइरहेको तथ्यांक छ । अमेरिका आफैँ पीडामा रहेका बेला त्यहाँका नागरिकले अन्य मुलुकबारेमा चिन्ता गर्न भ्याइसकेका छैनन् । 

तर जुन हिसाबले अमेरिकामा कोभिड-१९ नियन्त्रणका लागि खोप कार्यक्रम अघि बढाइएको छ, त्यसले अमेरिकीलाई बाँकी विश्वबारेमा सोच्‍न बाध्य बनाउनेछ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिका कोभिडबाट पार पाउने दौडमा अन्य मुलुकभन्दा अगाडि रहन चाहन्छ । त्यसका लागि उसले तयारी पनि गरिरहेको छ । अन्य मुलुकभन्दा बलियो खोप वितरण कार्यक्रम बनाएर र बाँकी विश्वले भन्दा बढी खोप खरिद गरेर तयारी गरेको छ । 


अमेरिकी अखबार ब्लुमबर्गले संकलन गरेको तथ्यांक अनुसार, अमेरिकामा प्रत्येक दिन करिब २५ लाख डोज खोप लगाइँदैछ । यही गतिमा खोप लगाउने हो भने, अर्को पाँच महिनामा अमेरिकाको ७५ प्रतिशत जनसंख्याले खोप लगाउनेछन् । अमेरिकाले एक अर्ब २० करोड डोज खोप आयात गर्ने पक्का गरेको छ । जसले अमेरिकाको कुल जनसंख्यालाई दुई पटक खोप लगाउन पुग्‍नेछ । 

उता युरोपियन युनियन (ईयू) भने खोप वितरणमा अमेरिकाभन्दा धेरै पछाडि छ । ईयूमा प्रत्येक दिन करिब १२ लाख डोज (सरदर) खोप लगाइँदैछ । अमेरिकाको भन्दा करिब १२ करोड बढी जनसंख्या भए पनि ईयूमा खोप लगाउने दर भने त्यहाँको भन्दा आधा छ । यही दरलाई निरन्तरता दिने हो भने ईयूको ७५ प्रतिशत जनसंख्यालाई खोप लगाउन अर्को १७ महिना लाग्‍नेछ । अथवा खोप वितरण गर्ने मामलामा ईयू अमेरिका भन्दा करिब एक वर्षले पछाडि छ । 

अफ्रिका महादेशमा समृद्ध मानिने दक्षिण अफ्रिकामा एक दिनमा सदरमा ५३ सय डोज मात्रै खोप लगाइदैछ । यही दरमा खोप लगाउने कार्यक्रम अघि बढ्ने हो भने दक्षिण अफ्रिकी सरकारलाई आफ्नो ७५ प्रतिशत जनसंख्यालाई खोप लगाउन करिब १० वर्ष लाग्‍नेछ ।

खोप लगाउने कार्यमा ईयू अमेरिका पछाडि रहे पनि खोप रिजर्भ गर्ने मामलामा भने अगाडि छ । २७ मुलुकको समूह रहेको ईयूमा उसको जनसंख्यालाई चाहिने भन्दा दुई गुणा भन्दा बढी डोज खोप आयात गर्न सम्झौता गरिएको छ । ईयूमा खोप लगाउने कार्य जतिसुकै सुस्त तवरमा अघि बढे पनि त्यहाँको पुरै जनसंख्याले खोप लगाउने नै छन् । उता, आफैँ खोप विकास गरी उत्पादन गरिरहेका रुस र चीनले आफ्ना सबै नागरिकलाई खोप नलगाउने कुरै भएन । 

उता क्यानडाले पनि आफ्नो जनसंख्या भन्दा तीन गुणा बढी डोज खोप आयात गर्ने पक्का गरेको छ भने अस्ट्रेलिया र न्यूजिल्यान्ड जस्ता सम्पन्‍न मुलुकले पनि आवश्यकता भन्दा दुई गुणा बढी डोज खोप भित्र्याउनेछन् । आइसल्यान्ड, हङकङ, इजरायल, दक्षिण कोरिया र जापानले पनि आ-आफ्नो जनसंख्या एक तिहाइ भन्दा डोज खोप आयात गर्नेछन् । 

विकाशिल र अर्धविकसित मुलुकहरूको भने अवस्था फरक छ । दक्षिण अमेरिका भर कोभ्याक्स कार्यक्रम अन्तर्गत सस्तो दरमा खोप वितरण गरिदैछ । मेक्सिकोका अर्बपति कार्लोस स्लिमको अगुवाईमा वितरण गरिने खोप ल्याटिन मुलुकहरूका लागि पर्याप्त भने हुने छैन । ब्लुमबर्गका अनुसार ब्राजिलमा करिब ६१ प्रतिशत जनसंख्याले मात्रै खोप लगाउने पाउने छन् । उता दक्षिण अफ्रिकामा कोभ्याक्सले वितरण गर्ने खोप ३९ प्रतिशत जनसंख्याका लागि मात्रै पर्याप्त हुनेछ भने मध्य अमेरिका र क्यारेबियन क्षेत्रमा करिब २३ प्रतिशत मानिसले मात्रै खोप लगाउनेछन् । अफ्रिका महादेशमा त झन् पाँच प्रतिशत जनसंख्या मात्रै खोप कार्यक्रममा समेटिनेछन् । 

विश्वको आधा भन्दा बढी जनसंख्यालाई पुग्‍ने खोप धनी मुलुकले आफ्ना नागरिकका लागि ‘रिजर्भ’ गरिसकेका छन् ।

ब्लुमबर्गले संकलन गरेको तथ्यांकका अनुसार विश्वभर वितरण गरिएको खोपको तीन चौथाई १० मुलुकतर्फ गएको छ । तर कम्तिमा ३० मुलुकले एक जनामा पनि खोप लगाएका छैनन् । अफ्रिका महादेशमा समृद्ध मानिने दक्षिण अफ्रिकामा एक दिनमा सदरमा ५३ सय डोज मात्रै खोप लगाइँदैछ । यही दरमा खोप लगाउने कार्यक्रम अघि बढ्ने हो भने दक्षिण अफ्रिकी सरकारलाई आफ्नो ७५ प्रतिशत जनसंख्यालाई खोप लगाउन करिब १० वर्ष लाग्‍नेछ । उता दक्षिण अमेरिकाकै ठूलो मुलुक ब्राजिलले अहिलेसम्म दुई प्रतिशत जनसंख्यालाई मात्रै खोप लगाइएको छ ।  

ब्लुमबर्गको तथ्यांक मान्‍ने हो भने, विश्वको आधा भन्दा बढी जनसंख्यालाई पुग्‍ने खोप रिजर्भ गरिसकेको छ । तर खोपको वितरण सन्तुलित छैन । यदि सन्तुलित भएको हुन्थ्यो भने पनि अहिलेको गतिमा विश्वको ७५ प्रतिशत जनसंख्यालाई खोप लगाउन अढाई वर्ष भन्दा बढी समय लाग्‍ने देखिन्छ । 

पछिल्ला सातामा फेरि संक्रमितको संख्यामा बढेत्तरी हुँदा खोप उत्पादक मुलुकहरूले निर्यातमा बन्देज लगाएका छन् । खोप उत्पादनमा प्रमुख भूमिका खेलिरहेको भारतले आफ्नो मुलुकमा उत्पादन भइरहेको सम्पूर्ण खोप त्यही प्रयोग गर्ने बताइरहेको छ भने ईयूले पनि छ साताका लागि खोप निर्यात नगर्ने बताएको छ । 

खोप उत्पादन गर्ने मुलुकले यस किसिमको निर्णय गर्दा अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासन अपठ्यारोमा पर्ने देखिन्छ । मोर्डेना, फाइजर र जोनसन एण्ड जोनसन जस्ता उत्पादकले अमेरिकालाई मार्चको अन्त्यसम्ममा करिब २४ करोड डोज निर्यात गर्ने वचन दिएका छन् । त्यस्तै मे महिनाको अन्तिममा ४८ करोड डोज भन्दा बढी निर्यात हुने तालिका छ । तर खोप उत्पादक मुलुकहरूले निर्यातमा लामो समय प्रतिबन्ध लगाउने हो भने, अमेरिकामा खोप लगाउने कार्यक्रममा अवश्य पनि अवरोध आउन सक्छ ।

मोर्डेना, फाइजर र जोनसन एण्ड जोनसन जस्ता उत्पादकले अमेरिकालाई मार्चको अन्त्य सम्ममा करिब २४ करोड डोज निर्यात गर्ने वचन दिएका छन् ।

धनी मुलुकहरूले बढी मात्रामा खोप आयात गर्दा विश्व नै विभाजित हुने अवस्थामा पुगेको छ । धनी मुलुकमा नागरिकहरूलाई खोप लगाइँदै गर्दा विकशिल र अविकसित मुलुकहरूमा भने कोभिडको संकट बढ्नेछ । यस्तोमा अमेरिका लगायतका धनी मुलुकले आफ्ना नागरिकलाई खोप लगाउने कार्यक्रम चाँडै सम्पन्‍न गरुन भन्‍ने कामना गर्ने बाहेक अर्को विकल्प छैन । ताकी बाँकी रहेको डोज बाँकी विश्वमा वितरण गरियोस् । अनि जति चाँडै गरिब मुलुकमा खोप वितरण हुन्छ, त्यति चाँडै विश्व कोभिडको चङ्गुलबाट उम्कन सक्नेछ । (ब्लुमबर्ग र याहू न्युजको सहयोगमा)  


Author

थप समाचार
x