कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोभिड खोप
कर्णाली- कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ ।
तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए । 'खोप पालिका स्तर मै पठाइएको छ, तर नागरिक लगाउन नआउँदा १० हजार डोज खेर गयो,' उनले भने, 'कोरोना बढेपछि आत्तिने र कम हुँदा लापरबाही गर्ने प्रवृत्तिका कारण मानिस खोप लगाउन बेवास्ता गरिरहेका छन् । यसले गर्दा बुस्टर डोज सबैलाई लगाउन सकिएन ।' बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख १३ हजार ४६६ रहेको छ ।
निर्देशनालयका अनुसार कूल जनसङ्ख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य लिएकामा लक्षित जनसङ्ख्याको ५९ प्रतिशतले पहिलो मात्रा डोज लगाएका छन् । ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य लिएकामा ५७ प्रतिशतले खोप लगाए । खोपको पहिलो र दोस्रो मात्रा दुवै लगाउने १२ देखि १७ वर्ष उमेर समूहका छन् ।
कर्णालीमा हालसम्म एक लाख ९७ हजार ३३८ जनामा कोरोना परीक्षण गरिएको छ । सङ्क्रमण पुष्टि भएका ३९ हजार नौ जनामध्ये तीन सय ९१ जनाको कारण मृत्यु भएको थियो । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया