कोभिड-१९

लकडाउन हुँदैन, गाडी पनि जोरबिजोर चलाउनु पर्दैन : राज्यमन्त्री रावत

इकागज |
बैशाख ५, २०७८ आइतबार ६:३० बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तत्काल लकडाउन नहुने बताएका छन् । साथै उनले कोभिड १९ को त्रास बढ्दै गएपनि जोरबिजोर गाडी चलाउनुपर्ने बाध्यता पनि नआउने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रावतले सरकारले पहिलो पटक लकडाउन गर्दा रोगले भन्दा भोकले धेरैको ज्यान गएको भन्दै फेरि त्यही अवस्था सिर्जना गर्न सरकार नलागेको उनले बताए ।


कोभिड १९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न सरकार सबै उपाय लगाइरहेको पनि राज्यमन्त्री रावतको भनाइ छ । केन्द्रदेखि स्थानीय तहसम्म स्वास्थ्य मन्त्रालयको युनिटमार्फत स्वास्थ्यकर्मीहरु नागरिकको सुरक्षाको  लागि रातदिन खटिरहेको उनले बताए ।

विज्ञहरुको सुझावसहित कोभिड १९ को नयाँ भेरियन्टसँग लड्ने रणनीति बनाएर अगाडि बढेको बताउँदै स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न पनि उनले आग्रह गरे । मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित कोभिड जोखिम क्षेत्रका रुपमा घोषणा गरेकाले बालबालिकाको सुरक्षाको लागि विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न पनि राज्यमन्त्री रावतले आग्रह गरे ।


Author

थप समाचार
x