कोभिड-१९

कोभिड-१९ महामारी छल्न विदेशिदै भारतीय धनाढ्य

इकागज |
बैशाख ११, २०७८ शनिबार १५:१५ बजे

काठमाडौँ: भारतमा कोभिड-१९ को संक्रमणमा पर्नेको संख्या प्रत्येक दिन बढ्दो छ । भारतीय तथा अन्य अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार संक्रमितले अस्पतालमा बेड नपाउने समस्या त छँदैछ । अक्सिजनको पनि अभाव छ । 

यस्तोमा सयौँ भारतीयले मुलुक छाडिरहेको फ्रेन्च समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । मुलुक छाड्ने अधिकांश भारतीय संयुक्त अरब इमिरेट्स युएईतर्फ गइरहेका छन् । जसका कारण हवाई टिकट मूल्यमा व्यापक वृद्दी भइरहेको छ भने निजी विमानमा यात्रा गर्न चाहनेको संख्या पनि बढिरहेको छ । 


युएईले भारतसँगको हवाई सम्पर्क आइतबारबाट १० दिनका लागि बन्द गर्ने घोषणा गरिसकेको छ । जसका कारण सयौँ भारतीय धनाढ्य शनिबार नै दुबई लगायतका सहरहरूतर्फ जादैँछन् । त्यो पनि साबिकको भन्दा १० गुणा भन्दा बढी टिकट मूल्य तिरेर । मुम्बई-दुबई रुटको हवाई टिकटको मूल्य शुक्रबार र शनिबार ८० हजार भारुसम्म परेको एएफपीले जनाएको छ । त्यस्तै, नयाँ दिल्ली देखि दुबईसम्मको यात्राका लागि ५० हजार सम्म तिर्नु परेको बताइएको छ । या मूल्य साबिकको भन्दा पाँच गुणा धेरै हो । 

एएफपीका अनुसार निजि विमान चार्टर्ड गर्न चहानेको संख्या पनि ह्वात्तै बढेको छ । ‘शनिबार मात्रै, मुम्बई र नयाँ दिल्लीबाट दुबईका लागि १२ चार्टर्ड फ्लाईट हुँदैछन् । यत्तिको संख्यामा चार्टड फ्लाईट हुन सामान्य होइन,’ एयर चाटर्ड सर्भिस इन्डिया नाम गरेको कम्पनीका एक अधिकारीले एएफपीसँग भनेका छन् । 

चार्टर्ड उडान गराउने अर्को भारतीय कम्पनी इन्थ्रल एभिएसनका प्रवक्ताले माग बढेकाले जहाजको संख्या थप्नु परेको बताएका छन् ।  ‘हामीले विदेशबाट थप विमान मगाएका छौँ । माग बढेको बढ्यै छ । अनि मूल्य पनि । अहिलेको अवस्थामा मुम्बई–दुबई रुटका लागि १३ सिट भएको विमान चाटर्ड गर्न ३८ हजार अमेरिकी डलर लाग्छ भने छ सिट भएको विमानका लागि ३१ हजार अमेरिकी डलर तिर्नुपर्छ,’ इन्थ्रल एभिएसनका प्रवक्ताले भनेका छन्, ‘मानिसहरू आफैँ समूह बनाएर चाटर्ड उडानका लागि आइरहेका छन् । थाइल्यान्ड जान चाहनेको संख्या पनि धेरै देखिएको छ । तर अहिलेका लागि हाम िप्राय उडान दुबईका लागि गरिरहेका छौँ।,’

सामान्य अवस्थामा भारत र युएईबीच प्रत्येक साता ३०० उडान हुने गरेको छ । युएईमा करिब ३३ लाख भारतीय बसोबास गर्ने भएकाले भारतीय सहरहरूबाट ठूलो संख्यामा त्यसतर्फ उडान हुने गरेको हो । 


Author

थप समाचार
x