कोभिड-१९

बाँकेमा उपचारको क्रममा ७ कोभिड संक्रमितको मृत्यु

इकागज |
बैशाख २०, २०७८ सोमबार ११:४० बजे

सांकेतिक तस्बिर

बाँके : बाँकेका थप ७ कोभिड-१९ संक्रमितको उपचारको क्रममा निधन भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा  वैशाख १५ गते उपचारका लागि भर्ना भएका ६६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १ का ती पुरुषको वैशाख १६ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ५ का  ४८ वर्षीय पुरुषको पनि गयराति ९:१० बजे  निधन भएको छ ।  उनको वैशाख १४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका २ का ५१ वर्षीय पुरुषको पनि आज बिहान ३:३० बजे निधन भएको छ ।  उनको वैशाख ६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । उनी वैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।


नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ६० वर्षीय महिलाको आज बिहान १:२० बजे मृत्यु भएको छ । वैजनाथ गाउँपालिका ८ उनलाई ती महिलाको हिजो नै पिसिआर पोटिटिव आएपछि अस्पताल भर्ना गरिएको थियो । डिसिसिएमसी बाँकेका अनुसार बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको पनि आज बिहान ६: ३० बजे भेरी अस्पतालमा निधन भएको छ । वैशाख १७ गते भेरी अस्पतालमा पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएका उनलाई वैशाख १८ गते अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरी, खजुरा गाउँपालिका २ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको छ । वैशाख ५ गते पिसिआर रिपोर्ट पोजिटिभ आएका उनलाई वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका १५ का ६० वर्षीय पुरुषको आज बिहान १ बजे  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । उनको १७ गते पिसिआर रिपोर्ट पोजिटिव आएको थियो । उनी १७ गते नै अस्पताल भर्ना भएका थिए । योसँगै हालसम्म बाँके जिल्लाका १३५ संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत रहेका बाहिरी जिल्लाका १२२ संक्रमितको मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ । बाँकेमा हाल ३ हजार ८९६ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र बाँकेमा जिल्लाका ९ र बाहिरी जिल्लाका ३ गरी १२ संक्रमितको मृत्यु भएको थियो ।


Author

थप समाचार
x