कोभिड-१९

गेटा मेडिकल कलेजमा पाँच सय शय्याको अस्थायी कोभिड अस्पताल

इकागज |
बैशाख २०, २०७८ सोमबार २०:२७ बजे

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा कोरोना नियन्त्रणका लागि सुदूरपश्चिमका फोकल पर्सन लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा अस्थायी कोभिड अस्पताल बनाउन निर्देशन दिएका छन् ।  

गेटा मेडिकल कलेजको निरीक्षण गर्दै उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई कोरोना संक्रमितको उपचारका लागि मेडिकल कलेजको भवनमा अस्पताल संचालन गर्न निर्देशन दिएका हुन् ।  


कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुई हजार अटाउने आइसोलेशन बनाउने योजना रहेको र पहिलो चरणमा पाँच सय शय्याको उपचार केन्द्र संचालन गर्ने तयारी सुरु भएको बताए । आइसोलेशनमा कोरोनाका बिरामीलाई अक्सिजन, आइसीयू र भेन्टिलेटरको समेत व्यवस्था हुने उनले बताए ।  

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको नेतृत्वमा र्‍यापिड एक्सन टिमसमेत बनाइएको छ । आइसोलेशन व्यवस्थापनको लागि गेटामा विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापन भइरहेको छ । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएपछि अस्पतालहरू भरिभराउ छ्न् ।


Author

थप समाचार
x