कोभिड-१९

कोभिड–१९ : मृत्युको दलदलमा मुलुक

महामारी नियन्त्रणको योजना बनाउने अवसर थियो तर सरकारको ध्यान अर्कैतिर गयो

अतिन आचार्य |
बैशाख २२, २०७८ बुधबार १२:४८ बजे

काठमाडौँ : मुलुकमा पछिल्लो समय कोभिड-१९ को संक्रमण उच्च बिन्दुमा छ । मंगलबार मात्रै अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए । सात महिना यताको सबैभन्दा बढी संक्रमण हो यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६६० मा संक्रमण देखियो । मंगलबार मात्रै ५५ जना संक्रमितको मृत्यु भयो । यो मृत्यु संख्या पनि अहिलेसम्मकै उच्च हो ।

सात महिनाअघिको तुलनामा ह्वात्तै बढेको यो मृत्यु संख्या तीन गुणा बढी हो । सात महिनाअघि संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ थियो ।


२०७७ कात्तिक महिनादेखि कोभिड-१९को उकालो लाग्दै गएको देखिन्छ । त्यो महिनामा सबैभन्दा बढी ५ गते ५ हजार ७४३ जनामा संक्रमण देखिएको थियो । सोही महिनामा मुलुकमा सबैभन्दा बढी सक्रिय संक्रमित ४६ हजार ६९१ जना थिए ।

त्यसको सात महिनापछि मुलुकमा संक्रमितको ग्राफ बढ्दै गएको छ । संक्रमित बढेसँगै मुलुकमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको हो । यसले के पुष्टि गर्छ भने मुलुक महामारीको दलदलमा फसिसकेको छ । यसबाट कसरी निस्कने भन्ने ल्याकत सरकारसँग बाँकी रहेको देखिँदैन । न त  सरकारसँग अरु कुनै विकल्प छन् । यतिखेर नागरिक आफैँ ज्यान जोगाउन बन्द कोठामा बस्न बाध्य छन् ।

दिन प्रतिदिन कोभिड संक्रमण र मृत्युको संख्याले रेकर्ड ब्रेक गरिरहेको छ । कोभिड परीक्षणको दायरा बढाएसँगै संक्रमण देखिने क्रम पनि बढ्दो छ । संक्रमण बढ्यो तर अस्पतालमा संक्रमितका लागि चाहिने आवश्यक पूर्वाधारहरू बढेनन् । अझै पनि मुलुकमा बेड तथा अन्य सामग्रीको अभाव कायमै छ ।

०७७ कात्तिकपछि लगातार घटिरहेको संक्रमणको दर फागुन-चैतदेखि पुन: बढ्न थाल्यो । जसको परिणाम पछिल्लो समय मुलुकमा देखिएको छ ।  

यसअघि कोभिड-१९ नियन्त्रणका लागि पर्याप्त समय हुँदा त्यसका लागि सरकारले थप केही गृहकार्य गरेन । संक्रमितको संख्या गणना गर्ने काम बाहेक अरु केही गरेन । नेपालमा देखिएको नयाँ भाइरस कस्तो प्रकारको हो त्यो पत्ता लगाउन पनि असक्षम जस्तै भएको छ ।

संक्रमण नियन्त्रणमा आयो भनेर ढुक्कले अन्तर्राष्ट्रिय उडान खोल्न सुरु, सभा सम्मेलनमा बिना जनस्वास्थ्यको मापदण्ड पालना नगरी जनतालाई सरीक गराउने मात्र काम भयो । त्यसैको परिणाम अहिले मुलुकले थाम्‍न नसक्ने गरी मृत्युको भय बढाउन सरकार सक्षम भएको छ ।

भारतको पछि-पछि नेपाल

जतिबेला छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण नियन्त्रणमा आइसकेको थिएन । त्यतिबेला खोप निर्माण गर्नेदेखि खोप लगाउनेसम्मका अभियान चलिरहेका थिए । संक्रमित पनि थपिदै गए खोप कार्यक्रमले पनि निरन्तरता पाउँदै गयो ।

भारतमा पछिल्लो समय नयाँ भेरियन्टसहितको भाइरस देखा परेपछि त्यहाँ संक्रमित र मृत्यु संख्या विश्वकै सबैभन्दा धेरै भयो । त्यसैको परिणामस्वरुप भारतको लय पछ्याउँदै नेपाल अघि बढिरहेको छ ।

नेपालमा खोप लगाउनुपर्ने समयमा खोप बन्द भयो तर संक्रमण बढ्दै गए ।  जसरी भारतका विभिन्न राज्यका अस्पतालमा अक्सिजन र बेड अभावले संक्रमितले ज्यान गुमाउनु परेको छ त्यस्तै पीडा नेपालले भोग्न सुरु गरिसकेको छ ।

 यतिका समयसम्म सरकार कहाँ अल्मलियो ?  खोप आयातका लागि कूटनीतिक पहल हुनुपर्ने थियो त्यो पनि भएन । छिमेकी मुलुक भारतले  अनुदान स्वरुप कोभिसिल्ड १० लाख डोज खोप र चीन सरकारले आठ लाख सेरोभेल डोज खोप दिएको थियो । त्यसैको भरमा सरकार केही क्षण रमायो । क्षणिक खुसीमा सरकार रम्यो । त्यसको परिणामस्वरु कोभिडको त्रास भोग्न बाध्य भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सात सय ९५ संक्रमितहरू सघन कक्षमा उपचार गराइरहेका छन् । मुलुकभर गम्भीर प्रकृतीका संक्रमितलाई उपचार गर्न भेन्टिलेटरसहित १९ सय ७८ आइसियू बेडको संख्या रहेको छ । दिन प्रतिदिन संक्रमित थपिँदै जाँदा अहिले मौज्दात रहेको बेडले पुग्दैन ।

'सरकारको लापर्वाही'

गत वर्ष संक्रमणको दर उच्च बिन्दुमा पुगेको सरकारलाई थाहा हुँदाहुँदै पनि कोभिडलाई गम्भीर रुपमा नलिँदाको परिणाम अहिले मुलुकले भोगिरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा पूर्वप्रमुख डा.बासुदेव पाण्डे बताउँछन् । पहिलो चरणको कोभिड मुलुकममा देखापर्दा उनी  महाशाखामै कार्यरत थिए ।

अस्पतालमा बेड बनाउने, आइसियु र भेन्टिलेटर बनाउने पर्याप्त समय रहँदा पनि सरकारले त्यसमा ध्यान नदिएको पाण्डेले आरोप लगाउँछन् । क्वारेन्टाइन, सीमा नाकामा परीक्षण हुनुपर्ने र भारतमा भइरहेको उडान समेत बन्द हुनुपर्नेमा उनको जोड छ ।

'सरकारले मुलकमा कोभिड सकिएको महसुस गर्‍यो, खोप आयात गर्न सकिन्छ यसलाई सामान्य लिएकाले पनि अहिले नियन्त्रण बाहिर गइसकेको छ', पाण्डे भन्छन,'संक्रमणको संख्या घट्दा राजनीतिक गतिविधि निर्वाध रुपमा सञ्चालन गर्न थाल्ने र जनताको स्वास्थ्यप्रति गम्भीर नहुँदा यस्तो अवस्था आएको हो ।'

कूटनैतिक पहलमा सरकार कमजोर एकदमै कमजोर बनेको उनको भनाइ छ । भारतसँग मात्र भर परेकाले अन्य मुलुकबाट खोप आयात गर्न नसकेको उनी बताउँछन् । उनी भन्छन्,'क्यानडा, रसिया र चीनबाट पनि आयात गर्न सक्थ्यो । कूटनीतिक तवरमा एकदम कमजोर र खोप आयात गर्न सरकार चुक्यो ।'

अर्कोतर्फ सरकारको तर्फबाट खोप आयात गर्ने काम मुख्य भएको र उपचार केन्द्र पनि थप गरेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समीर कुमार अधिकारी बताउँछन् । 'विभिन्न राष्ट्रसँग खोप आयात गर्नलाई पत्राचार गरियो, आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएका छौँ,' उनी भन्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x