हुकुम डिस्ट्रीब्यूटर्स भन्छ, ‘आधिकारिक बिक्रेता भएपनि अहिलेसम्मको खोप आयातमा हाम्रो संलग्नता छैन’
काठमाडौंँ : अक्सफोर्ड, एष्ट्राजेनिकाको अनुसन्धान तथा सिरम इन्स्टिच्यूटद्वारा उत्पादन गरिएको कोभिशिल्ड भ्याक्सिन नेपाल आयात गर्न आधिकारित बिक्रेता भएपनि अहिलेसम्म नेपालमा आयात भएको खोपमा आफ्नो सहभागिता नभएको श्री हुकुम डिस्ट्रीबयूटर्सले बताएको छ ।
आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेपालस्थित आधिकारिक बिक्रेताकै कारण खोप आयात हुनुनसकेको भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइमा कुनै सत्यता नभएको हुकुमले उल्लेख गरेको छ ।
‘नेपाल सरकारको आग्रहमा भारत सरकारको सदासहायता बमोजिम २० लाख डोज विशेष सहुलियतमा नेपाललाई उपलब्ध गराउने सहमति भएको सबैलाई सर्वविदीतै छ,’ हुकुमले जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘२० लाख डोज खोप आयातमा नेपाल र भारतका दुई सरकारबीच सीधा संवादबाट भएकोमा आधिकारिक बिक्रेता हुनुको नाताले खोप ल्याउन समन्वय गर्नेबाहेक त्यसमा हाम्रो कुनै आधिकारिक सहभागिता छैन ।’
उक्त खरिदमा सरकारी वार्ता टोली र हुकुमबीच भएको वार्ताबाट हामीले नियम संवतरूपमा पाउनुपर्ने सेवा शुल्क (कमिसन) समेत महामारीका बेला नागरिक प्रतिको सामाजिक उत्तरदायित्व महशुष गर्दै नलिने निर्णय गरेको हुकुमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘त्यसमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेरै धन्यवाद दिएका थियौं ।’
हुकुमले भारतमा तीव्र रूपमा फैलिएको दोस्रो लहरको महामारी र सिरम इन्स्टिच्यूटको कारखानामा आगलागी भएर उत्पादनमा आएको प्राविधिक समस्याका कारण खोप निर्यातमा असहजता आएकाले नेपालमा आयात हुन सम्भव नभएको तथ्यलाई विषयान्तर गर्नु नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको उल्लेख गरेको छ ।
सिरमले उत्पादन बढाउन नसक्दा नेपालमा मात्र होइन विश्वका धेरै देशमा सिरमले आपूर्ति गर्न नसकेको र उत्पादन वृद्धि र निर्यात खुला हुनेबित्तिकै सिरमले दोश्रो चरणमा नेपालमा भ्याक्सिन निर्यातका लागि नेपाललाई प्राथमिकतामा राखेको आधिकारिक बिक्रेताका रूपमा आफ्नो जानकारीमा आएको हुकुमले जनाएको छ ।
हुकुमले उसको अग्रसरता बमोजिम खोप आयातमा सरकारले अग्रसरता देखाएको भए अहिलेसम्म सबै नेपालीले खोप पाइसक्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भूमिका सकारात्मक नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । 'नागरिकको जीवन रक्षालाई पहिलो प्रथामिकतामा राख्दै भ्याक्सिन आयातका लागि हामी हाम्रो तर्फबाट सधै तत्पर रहेको जानकरी गराउँदै सोही बमोजिम सरकारी सयन्त्रहरुको हात पनि अघि बढोस भनि आग्रह गर्दछौ ।' हुकमले भनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया