बजारमा हुँदैछ औषधि अभाव, अनुमानका भरमा नखानू
'घरमा धेरै औषधि राख्दा म्याद सकिन्छ'
काठमाडौँ : कोभिड-१९ को महामारी सुनामी झै फैलिएपछि बढेको त्रासले शरीरमा अप्ठयारो महसुस हुनासाथ फार्मेसीमा सिधै औषधि खरिद गर्नेको संख्या ह्वात्तै बढेको छ । फार्मेसी सञ्चालकहरूले नै सिधा औषधि खरिद गर्न आउनेको संख्या बढेको बताउन थालेका छन् । जसका कारणले बजारमा औषधिको माग पनि बढेको हो । कोभिडको चपेटामा अधिकांश घरपरिवारका कोही न कोही सदस्य संक्रमित भएकाले पनि यस्तो माग बढ्दो छ ।
'घाँटी दुखेको महसुस भयो, रुघा खोकी पनि अलिअलि छ र ज्वरो पनि हो कि झै छ, औषधि दिनु न ' भन्दै आउने मानिसहरूको संख्या दिनप्रतिदिन बढदै गएको र फार्मेसीमा भिडभाड हुने गरेको औषधि पसलेहरूले बताए । पहिलो चरणको कोभिड देखिएको समयमा भन्दा अहिले बढी मात्रामा औषधि खरिद गर्ने मानिसको संख्या धेरै रहेको गैह्रीधारास्थित फार्मेसीका सञ्चालका महेन्द्र खड्का बताउँछन् ।
'यसअघि देखिएको कोभिडमा साधारण बिरामीका लागि प्रयोग हुने औषधि बिक्री हुन्थ्यो,' उनले भने, 'दोस्रो लहरको कोभिड र कडा खालको रहेको हल्ला बढेपछि एन्टीबायोटीक समेत सिधा माग गर्नेको संख्या बढी छ । कतिपय औषधि चिकित्सकको सिफारिस विना दिन मिल्दैन । कति त रिसाउँछन् ।'
दैनिक एक सय संख्याको हाराहारीमा आइरहेका खड्काले जानकारी दिए । खरिद गर्न आउने अधिकांश कोभिडका जस्तो लक्षणका भएकाहरू आउने गरेका छन् । खड्काले सबै उमेर समूहका मानिसहरु आउने गरेको बताए । बढी जस्तो ५० वर्ष माथिका मानिसहरूको संख्या बढी रहेको उनको भनाइ छ ।
कस्ता-कस्ता औषधिको माग गरी आउने गरेका छन् त भन्ने इकागजको प्रश्नमा खड्का भन्छन,' भिटामीन सी, जीक (भिटामीन), भिटामीन डी, भिटामीन इ, पारासिटामोल, अक्सीमिटर, जीवनजल, कफ सीरफ, आइभर डीटी (जुकाको औषधि), वाफ लिने (स्टीमर), एन्टीबायोटीक, स्यानीटाइजर, डिसइन्फेक्टेट र हेन्डवास लगायतका स्वास्थ्य सामग्रीको माग बढी छ ।'
नयाँ बानेश्वरका फार्मेसी सञ्चालक विनाेद अधिकारीका अनुसार पनि औषधिको माग बढी रहेकाले बजारमा औषधि अभाव हुन थालेको हो । जीवनजल, पारासिटामोल, जिंक, भिटामीन सी र अक्सीमीटरको माग अन्य भन्दा बढी माग हुन थालेकाले अभाव भएको हुन सक्ने उनले बताए ।
'कतिपय नियमित खाने औषधि पनि आएका छैनन् । बिरामीका आफन्तहरु दिनभर सबै पसल पुगेर पनि नियमित खाने औषधि नपाएको भन्दै लौन बैकल्पिक विकल्प छ कि डक्टरलाई सोध्न पर्यो भनिरहेका हुन्छन्,' अधिकारीले भने ।
'फार्मेसीमा बिहानैदेखि भिड'
प्रदेश १ स्थित सुनसरी इटहरीका शुभलक्ष्मी फार्मेसीका सञ्चालक राजेश चौधरी हिजोआज अलिक व्यस्त छन् । पहिले भन्दा बढी ग्राहक आउने गरेकाले पसल खोलेदेखि उनी व्यस्त रहने गरेका छन् ।
नियमित औषधि खाने बिरामी भन्दा पनि साधारण मौसमी रोगका लागि औषधि खरिद गर्न आउनेको संख्या बढी रहेको चौधरी बताउँछन् । उनका अनुसार सुगर, प्रेसरका औषधि लिन आइरहेका छन् । 'बिहानको समयमा बढी भिड हुने गरेको छ,' उनले भने,' निषेधाज्ञाका कारण दिउँसो मानिस आउँदैनन् । युवावस्थाका मानिस बढी आउछन् ।'
औषधि खरिद गरी घरमा राख्नेहरूको संख्या बढीरहेको उनले जानकारी दिए । चौधरीका अनुसार ज्वरो, रुघाखोकी, भिटामीन सी र भिटामीन डि बढी किन्नेहरू आइरहेका छन् । औषधिको माग बढेकाले पूर्वका जिल्लामा पनि औषधि अभाव हुन थालेको उनले जानकारी दिए ।
'सर्वसाधारणकै कारण अभाव '
रेमडेसिभर बाहेक अन्य औषधि मुलुकमा अभाव नभएको नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य बताउँछन्। कोभिडको त्रासले धेरै मानिसले खरिद गरी घरमा राखेको कारण अभाव भइरहेको हुन सक्ने उनको अनुमान छ ।
'महामारीमा पनि छ महिना सम्म पुग्नेगरी औषधि मौज्दात छ,' आचार्य भन्छन,' धेरै मानिसले भएभरको औषधि खरीद गरी घरमा राखेकाले अभाव जस्तो भएको हो।' उनका अनुसार जीवनजल र पारासिटामोल प्रशस्तै छन् । भारतले प्रतिबन्ध लगाएपछि रेमडेसिभिर आयात भएको छैन । बंगलादेशबाट तीन दिनमा सात हजार भाइल आइपुगिसकेको पनि उनले जानकारी दिए ।
'अनावश्यक औषधि घरमा मौज्दात नगर्नु'
औषधि अभाव हुन नदिन औषधि आयातकर्ता र उत्पादककर्तासँग छलफल गरिरहेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् । 'छलफलका क्रममा उत्पादक र आयातकर्ताले तीन-चार महिनासम्मका लागि पुग्ने औषधि मौज्दात रहेको बताएका छन्,' उनले भने।
कोभिडका कारण सर्वसाधारणले अनावश्यक औषधि खरीद राखेकाले अभाव भएको हुन सक्ने केसीले बताए । औषधि खरीद गरी घरमा राख्दा औषधिको समय सकिने र बजारमा औषधि अभाव हुन सक्ने घर-घरमा मौज्दात नगर्न सर्वसाधारणलाई आग्रह गरे । भारतबाट आउनुपर्ने औषधि पनि नियमित आइरहेको उनको भनाइ छ।
'अनुमानका भरमा औषधि नखानू'
पछिल्लो समय कोभिडबाट सुरक्षित रहन सामाजिक सञ्जालमा राखिएको औषधिसहितको तस्बिर सार्वजनिक हुन थालेका छन् । अनुमानका भरमा औषधि सेवन गर्नेको संख्या बढ्न थालेका छन् । साथै त्यस्ता औषधि चिकित्सक सल्लाह विना सेवन प्रयोग नगर्न चिकित्सकहरूले सुझाव समेत दिन थालेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले अनुमानका भरमा औषधि नखानलाई सर्वसाधारणलाई आग्रह गरे । 'आफूलाई रोगको आशंका भएमा परीक्षण गरी चिकित्सकको सल्लाह बमोजिम खानुपर्छ, अनावश्यक औषधि खाँदा ज्यानै जान सक्ने पनि सम्भावना रहन्छ,' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया