कोभिड-१९

कोभिड संक्रमितले जन्माइन् स्वस्थ बच्चा (फोटोफिचर)

अतिन आचार्य |
बैशाख २३, २०७८ बिहीबार १६:१२ बजे

काठमाडौँ : बाँकेको भेरी अस्पतालमा कोभिड संक्रमित गर्भवतीले स्वस्थ बच्चा जन्माएकी छन् । अस्पतालमा भर्ना भएकी २६ वर्षीय संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी अस्पतालका मेसु डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार बर्दिया बढैया १ की महिला बिहिबार साढे ८ बजे भर्ना भएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

'चिकित्सकले आवश्यक जनस्वास्थ्यको मापदण्ड अपनाएर शल्यक्रिया गरेका थिए,' डा.थापाले भने,' अस्पतालका डा. नबिन बुढाथोकीको टीमले उक्त शल्यक्रिया गरेको हो ।'


कोभिड संक्रमितको संख्या बढन थालेपछि वर्गीकरण गरिएका सबै अस्पतालमा भर्ना लिन थालिएको थापाले जानकारी दिए । यसअघि संक्रमितको उपचार गर्न प्रदेश तथा जिल्लामा लेभल अनुसारका अस्पतालको निर्माण गरिएको थियो । लेभल १,लेभल २ र लेभल ३ थियो । लेभल ३ गम्भीर प्रकृतिका गम्भीर शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भर्ना लिने गरिएको थियो ।

शल्यक्रिया गर्नुपर्ने खालका संक्रमितलाई समेत भर्ना लिन थालिएको थापाले बताए । बच्चालाई कोभिड नभएको उनले जानकारी दिए । आमाको गर्भबाट कोभिड सर्दैन र श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकोले बच्चामा कोभिड छैन,' उनले भने । आमालाई पूर्ण सावधानीका साथ राखिएको उनले जानकारी दिए ।

तस्बिरहरू ः डा. प्रकाश थापाको फेसबुकबाट


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x