कोभिड-१९

कोभिड–१९ विरुद्धको खोप यथाशीघ्र उपलब्ध गराऊ : ट्रान्सपरेन्सी इन्टरनेशनल

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १८:९ बजे

काठमाडौँ : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले कोभिड–१९ विरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ । यतिबेला महामारीको दोस्रो चरणमा अप्रत्याशित रुपले नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको र दैनिक मृत्यु संख्या पनि निरन्तर बढीरहेकोमा चिन्ता व्यक्त गर्दै ट्रान्सपरेन्सीले खोप नै महामारी नियन्त्रणको प्रमुख आधार भएकाले सकेसम्म छिटो खोप आपूर्ति गर्न सरकारसँग आग्रह गरेको हो । 

कोभिड–१९ संक्रमितहरूको संख्या बढ्दै गएपछि उपलब्ध स्वास्थ्य पूर्वाधारले समेत धान्न नसक्ने अवस्था सिर्जना भएको छ । राजधानी लगायतका अस्पतालहररूमा शैय्याको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव भएको, आवश्यक औषधि र सामग्रीहरुको पनि अभाव भएको र उचित उपचारको अभावमा संक्रमितहरुले अकाल मृत्युवरण समेत गर्नु परिरहेको अवस्थाले सर्वसाधरणलाई आक्रान्त तुल्याएको ट्रान्सपरेन्सीको विज्ञप्तिमा उल्लेख छ । 


यस्तो अवस्थामा सरकारले भारतस्थित सिरम इन्ष्टिच्यूट अफ इण्डिया प्रा.लि.  खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिशन एजेन्टले प्रभाव पारी ढिलाई गराउनु खेदजनक भएको भन्दै यसमा सरकारको ध्यानाकार्षण समेत गराएको छ । ‘जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो र आधारभूत कर्तव्य हो, जसमा कुनै सम्झौता हुन सक्दैन । महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क उपलब्ध गराउनु पर्दछ ।,’ ट्रान्सपरेन्सीले भनेको छ, ‘पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्दछ । हाल यो प्रक्रिया अवरुद्ध भएकोले जनहीतकोलागि सरकारले  शिघ्रातिशीघ्र खोपतालिका सार्वजनिक गर्नुपर्छ ।’ 

ट्रान्सपरेन्सी इन्टरनेशनलले जनतालाई महामारीबाट जोगाउने खोपमा समेत अनियमितता हुनु राष्ट्रघाती काम हुने भन्दै खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारलाई आग्रह गरेको छ । ‘कमिशनका लागि नेपाली जनताको जीवनसँग खेलवाड गर्ने काममा सरकारी वा निजी क्षेत्रका कसैको संलग्न भएको भए छानविन गरी निर्मम कारबाही गरिनु पर्दछ ।’ ट्रान्सपरेनसी इन्टरनेशनले भनेको छ, ‘कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम्सेवी, सामाजिक अभियन्ता, सेवाकर्मीले अनवरत सेवामा खटिनेलाई प्रोत्साहीत गर्दै उनीहरूको स्वास्थ्य र सुरक्षा बारे थप संवेदनशील हुन जरुरी छ ।’


Author

थप समाचार
x