कोभिड-१९

महामारीमा एम्बुलेन्सको लुट, संक्रमितलाई अस्पताल पुग्‍ने रकम जोहो गर्नै हम्मे-हम्मे

'कसैले ठगेको जस्तो लागेमा प्रहरीलाई खबर गर्नु'

अतिन आचार्य |
बैशाख २५, २०७८ शनिबार १७:२७ बजे

काठमाडौँ : अस्पतालको नाम लिने बित्तिकै सबैको मनमा 'बिरामी' भन्‍ने आउँछ । साथै अस्पताल परिसरमा बिरामी वा उनीहरूको आफन्त हुन्छन् । तर, हिजोआज बिरामीलाई सहयोग गर्ने नाममा अस्पतालमा धेरैजसो एम्बुलेन्स चालक भेटिन थालेका छन् ।

कोभिड-१९ को महामारी बढेपछि मुलुकभरका सबै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेपछि निर्वाध रूपमा हिड्न पाउने एम्बुलेन्स मात्र हुन् । उनीहरूले कोभिडदेखि  बाहेक कोभिड नभएका सबै बिरामीलाई एम्बुलेन्स मार्फत अस्पतालसम्म लाने गरेका छन् । जुन उनीहरूको कर्तब्य र काम दुवै हो ।


कोभिड महामारीको त्रासमा सेवा दिएको बहाना गरी केही एम्बुलेन्स चालकले बिरामीसँग बढी भाँडा लिन थालेको पाइएको छ। एम्बुलेन्स भित्र अक्सिजनको व्यवस्था गरी उपत्यका लगायत मुलुकका विभिन्न अस्पतालको वरीपरी एम्बुलेन्स सहित चालक बस्‍ने गरेका छन् ।

उमेश घिमिरे शनिबार मध्यान्ह वीर अस्पतालबाट गेटबाट बाहिर निस्के । बौद्ध जानका लागि एम्बुलेन्स खोजी गर्न थाले । उनी वीरको कोभिड अस्पतालमा ७६ वर्षीय बाबालाई उपचार गराइरहेका थिए । उनले कोभिड देखिएपनि १० दिनसम्म लक्षण नदेखिएकाले घर लाने तयारीमा बाहिर निस्केर एम्बुलेन्स खोजी गर्न थाले ।

सडकमा एम्बुलेन्स मात्र कुदिरहेका र गेटका आसपासमा टयाक्सी पार्किङ गरिएका थिए । उमेश भने टयाक्सीले कोभिडको बिरामी बोक्न नमानेकाले एम्बुलेन्सको खोजी गरिरहेका थिए ।

'अस्पतालबाट बाहिर निस्केपछि गेटैमा एम्बुलेन्स चाल भेटे,' उनले भने,' सधैँ वीर अस्पतालबाट बौद्ध जाँदा करिब २ हजार रुपैयाँमा लाने गर्थे । महामारीमा पनि सेवा गरिरहेको भनेर ४५ सय रपैयाँ लिएर घरसम्म पुर्‍याए ।'

चालकले सुरुमा कोभिडको बिरामी भनेपछि बोक्न मानेका थिएनन् । कोभिडको बिरामी बोक्नुपरेकाले पनि उमेशलाई ४५ सय रुपैयाँ सय लिन खोजेका थिए । एम्बुलेन्स भित्र अक्सिजनको व्यवस्था थियो ।

उनलाई काठमाडौँ उपत्यका भित्र कोभिड संक्रमितका लागि नि:शुल्क एम्बुलेन्स सेवा पाइने  समेत व्यवस्था थियो । नि:शुल्क एम्बुलेन्स पाइने फोन १०२ मा सम्पर्क गर्दा सबैले अहिले व्यस्त रहेको जानकारी गराएपछि उनी बाध्य भएर ४५ सय रुपैयाँ तिरी घर गएका थिए ।

'२५ हजार तिरेर काठमाडौँमा आए'

त्रिवी शिक्षण अस्पतालमा सल्यानबाट एम्बुलेन्सलाई २५ हजार तिरेर शनिबार बिहान कृष्ण केसी आइपुगे । जिल्ला अस्पताल आरडीटी परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । शरीरमा अक्सिजनको कमी भएकाले जिल्ला अस्पतालमा राखी ल्याइएको श्रीमती बसन्ती केसी बताउँछिन् ।

'महामारीमा सबैलाई ज्यान बचाउनु छ । तर, उपचार होलाकि नहोला त्यो थाहा छैन,' उनले भनिन,' एम्बुलेन्सले त्यत्रो पैसा लिँदा उपचार गराउनका लागि पैसा नपुग्ला जस्तो छ ।' सुरुमा पैसा दिन्छु भने चालकले लान नमान्ने गरेको उनी बताउँछिन् ।

हिजोआज अस्पतालमा  सबै कोभिड संक्रमित पीडा समान छ । बेड नपाएर बाहिर राखी श्रीमानलाई अक्सिजन दिइरहेकी बसन्तीले भनिन,' काठमाडौँ सम्म आउँदा बाटोमा ठगिन्छौ र यता अस्पतालमा बेड पाइदैन ।'

'सबैले एम्बुलेन्स सुविधा पाउँछन्'

काठमाडौँ महानगरपालिकाले कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउनका लागि दश वटा एम्बुलेन्सको व्यवस्था गरेको छ । फोन नम्बर १०२ सम्पर्क गर्दा संक्रमितले निशुल्क एम्बुलेन्स पाउने महानगरपालिका विपत व्यवस्थापन विभागका प्रुमख रविनमान श्रेष्ठ बताउँछन् ।

उनका अनुसार महानगरपालिकाले नन कोभिडका लागि १० वटा एम्बुलेन्स निःशुल्क व्यवस्था गरेको छ । कोभिड तथा नन कोभिड संक्रमितले फोन सम्पर्क गरेमा तुरुन्त एम्बुलेन्स सेवा पाउने उनको दाबी छ । महानगर भित्र रहेका जुनसुकै बिरामीले एम्बुलेन्सको प्रयोग गर्न पाउने उनले जानकारी दिए । कोही पनि एम्बुलेन्स सेवाबाट वञ्‍चित हुन नपर्ने उनको दाबी छ ।

'ठगिए जस्तो लागेमा नजिकैको प्रहरीलाई खबर गर्नु'

बाहिरी जिल्लाबाट एम्बुलेन्समार्फत उपचार गर्न काठमाडौँ उपत्यका प्रवेश गर्ने नागरिकले आफूलाई बढी भाडा लिएको लागेमा नजिकैको प्रहरी अधिकारीलाई सम्पर्क गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसादले पराजुलीले आग्रह गरे ।

महामारीमा कसैले कसैलाई ठग्नु नपरोस भनेर प्रशासनले अनुगमन गरिरहेको उनले जानकारी दिए । यदि कसैलाई आफू ठगिएको जस्तो लागेमा तत्कालै उजुरी गर्न उनले सुझाव दिए ।

मुलुकभर करिब २ हजार एम्बुलेन्स

पछिल्लो समय कोभिड संक्रमितलाई अस्पताल तथा आइसोलेसनमा पुर्‍याउँन एम्बुलेन्सको प्रयोग गरिएको छ। सुरक्षा निकायका गरी स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मुलुकभर करिब २ हजार एम्बुलेन्स सञ्चालनमा छन् । उपत्यकामा १ सय ४५ वटाको संख्यामा एम्बुलेन्स छन् । अन्य प्रदेशको तुलनामा जनघनत्व धेरै भएकोले पनि संख्या धेरै छ ।

कहाँ कति एम्बुलेन्स ?

कहाँ 

 कति एम्बुलेन्स 

प्रदेश १ 

३७८

प्रदेश २

३२४

वाग्मती

३५१

गण्डकी

२२२

लुम्बिनी

३४१

कर्णाली

६५

सुदूरपश्चिम

१४४

उपत्यका

१४५

नेपाली सेना

नेपाल प्रहरी

सशस्त्र प्रहरी

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x