कोभिड-१९

अक्सिजन र बेड पाउने भएपछि हेलिकोप्टरमा चितवन ल्याइँदै संक्रमित

इकागज |
बैशाख २६, २०७८ आइतबार ७:५९ बजे

चितवन : राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शैया भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शैयाको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो ।

जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शैयाको कक्ष तयार गरेको छ । यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन । 


चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौँबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एक÷एक सङ्क्रमितलाई हेलिकोप्टरबाट यहाँ ल्याइएको छ । 

आज मात्रै एक सङ्क्रमितलाई काठमाडौँबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने सङ्क्रमितको सङ्ख्या ठूलो छ । उनले भने, “यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौँलगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन् ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउँछन् । उनले भने, “अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ । सके र भएसम्म हामी जुटिरहेका छौँ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए । आज मात्रै मकवानपुर, नवलपरासी त्रिवेणी सुस्तापूर्व पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको जानकारी दिए । 

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकोप्टरमा समेत बिरामी आएको भन्दै उनले सामान्य अवस्थाका सङ्क्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बताए । उनले जिल्लाका अन्य निजी अस्पतालले पनि आजदेखि सङ्क्रमितको उपचार थाल्ने जानकारी दिए । अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ ।

जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा छ, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको छ । रासस
 


Author

थप समाचार
x