कोभिड-१९

बेड अभाव, महामारी र मौका

महामारीमा चिकित्सक नै कमाउ धन्धामा, संक्रमितलाई होटलका महंगा कोठामा राखेर उपचार !

'होटलमा अनुगमन गरी कारबाही गरिन्छ'

अतिन आचार्य |
बैशाख २६, २०७८ आइतबार १९:० बजे

काठमाडौँ : विभिन्‍न चिकित्सक तथा सामाजिक अभियन्ताका समूहले स्वास्थ्य मापदण्ड विपरीत काठमाडौँ उपत्यकाको विभिन्‍न होटलसँग सम्झौता गरी कोभिड संक्रमितको उपचार गर्ने भनी आइसोलेसन सञ्‍चालनमा ल्याएको पाइएको छ ।

पछिल्लो समय मुलुकमा संक्रमितले अस्पतालमा बेड पाउन छाडेपछि सामाजिक सञ्‍जालमा कोभिड संक्रमितका लागि बेड अभाव भएमा, उपचार गर्ने र सम्पर्क गर्नका सूचना छाड्ने गरेका छन् ।


सरकारको अनुमति बिना अस्पतलामा जस्तो गतिविधि सञ्‍चालन गर्न नपाइने व्यवस्था समेत रहेको छ । आइसोलेसन सञ्‍चालन गर्न होटल वा अन्य व्यक्तिले पनि स्थानीय तहसँग समन्वय गर्नुपर्ने व्यवस्था छ ।

बेडका अभाव भएका कारण र घरमा अन्य व्यक्तिहरूमा संक्रमण फैलने त्रासले एलिट वर्गहरू पैसा तिर्न सक्ने भएकाले होटलका आइसोलसनमा बस्‍न थालेका छन् । सोही अनुरुप धेरै संक्रमितले होटलमा रहेका चिकित्सकलाई सम्पर्क गरेर आइसोलसनमा बस्‍ने गरेका छन् । जटिल खालको लक्षण देखिएकाले संक्रमितलाई अक्सिजन अभाव हुने समस्या बढी देखिएकाले अक्सिजनसहितको आइसोलेसन सुविद्या प्रदान गर्ने सूचनासमेत जारी गरेका छन् ।

'युथ फर नेशन'ले जमलस्थित यल्लो पेगोडा होटलमा कोभिड संक्रमितलाई राखी उपचार गराउँदै आएको छ । त्यहीँ समूहका अन्य सदस्यले पनि चन्द्रागिरि, गहना पोखरी, महाराजगन्ज, रत्नराज्य स्कुल बानेश्वर, भक्तपुरमा आइसोलेसन सञ्‍चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् ।

आफ्नो भरोसामा १ सय संक्रमित

समूहका एक सदस्यले भुसाल निकोलसले फेसुबकमा लेखेका छन,' के गर्नु आफ्नै भरोसामा १०० जना भन्दा धेरै कोरोना बिरामी यहीँ हुनुहुन्छ। शरीररले साथ दिईरहेको छैन । नजाउ उहाँहरुको माया र भरोसाले दिएन, अन्तिममा सबै बिरामिहरुलाई हेरेर आईयो  अवस्था ठिकै छ । नआत्तिनु होला-नडराउनु होला । हामी हजुरहरुको सेवामा २४ घन्टा खटिएका छौं । सबै ठिक हुनेछ ।'

 

उक्त समूहले विभिन्न अस्पतालबाट नर्स ल्याइ संक्रमितको सेवा गरिरहेका छन् । उनीहरूबाट सेवा लिएका केही व्यक्तिहरू इकागजको सम्पर्कमा आएका छन् । होटलमा आइसोलेसनमा बसेको प्रतिदिन सात हजार रुपैयाँ लिने गरेको नाम नबताउने शर्तमा ति व्यक्तिले बताए ।

होटलका २० कोठामा ४१ संक्रमित

होटलमा कति संक्रमित राखेको छ भनी इकागजको टीम होटल यल्लो पेगोडामा पुगेको थियो। सेल्स कर्मचारी सुनिल महर्जनका अनुसार ४१ संक्रमित होटलका विभिन्‍न कोठामा छन् ।

'संक्रमितका लागि २० वटा कोठा आइसोलेसनमा सञ्‍चालनमा ल्याइएको छ, एक कोठामा २ जनालाई राखिएको छ,' महर्जनले भने,' हामीलाई गाह्रो होला जस्तो भयो । अब यहाँ सञ्‍चालन गर्न दिदैनौ।' चिकित्सकको टीमको सहयोग अनुसार सञ्‍चालनमा ल्याइएको उनले जानकारी दिए । होटल व्यवस्थापनले आइसोलेसन सञ्चालन गर्न नदिने निर्णय भइसकेको र केही राजनीतिकरण जस्तो भएकाले सञ्चालन गर्न नदिने महर्जनले बताए ।

महर्जनले प्रत्येक संक्रमितबाट दैनिक ४ हजार रुपैयाँ लिने गरेको जानकारी दिए । दिनमा चार पटक खाना दिने गरेको उनले बताए । नन भेज र भेज खाने दुवैलाई माग अनुसारको खाना दिने गरेको उनले बताए ।

होटलमा कोही संक्रमितको मृत्यु भएमा जिम्मा नलिने उनले बताए । 'अक्सिजनको लेभल कम भएका बिरामीलाई राखिदैन,' उनले भने,'  संक्रमितलाई गाह्रो भएमा यहाँबाट अस्पताल पठाइने गरेको छ ।' अक्सिजन लेभल ९२ भन्दा तल भएकालाई नराख्‍ने गरिएको उनले बताए ।

'तीनै तहका सरकारसँग अनुमति नलिएमा कारबाही हुन्छ'

स्थानीय तहसँग समन्वय नगरी आइसोलेन सञ्चालन गर्न नपाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । 'तीन तहको कुनै पनि सरकारसँग अनुमति नलिइ सञ्चालन गरेको पाइएमा कार्वाही गरिन्छ,' उनले भने । होटलमा राख्दा संक्रमितको मृत्यु भएमा सबै राख्‍नेहरू जिम्मेवार हुनुपर्ने उनले बताए ।

हामीले अवैधानिक तरिकाले आइसोलेसन सञ्चालन गरिरहेको सुनेको पनि उनले बताए । अनुगमन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिसकेको उनले जानकारी दिए ।

'आइसोलेसन सञ्चालन कसैले अनुमति लिएका छैनन'

महानगरपालिका भित्र सञ्चालित कुनै पनि होटलले आइसोलेसन सञ्चालनका लागि अनुमति नलिएको काठमाठौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । 'केही होटलले लिने तयारीमा रहेका र लिनका लागि पनि आइरहेका छन,' उनले भने।

अनाधिकृत रुपमा सञ्चालित आइसोलेसनको अनुगमन गर्ने तयारी भइरहेको प्रवक्ता डंगोलले बताए । 'उपमेयरको संयोजकत्वमा हामीले अनुगमन समिति बनाएका छौ,' उनले भने,'  महानगरबासीमा संक्रमण भएमा वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्नुपर्छ ।' अनावश्यक भारी रकम तिरेर राखेको पाइएमा  होटल र आइसोलेसन सञ्चालकलाई कार्वाही गरिने उनले बताए ।

'होटलमा अनुगमन गर्छौ'

होटलमा अनुमति नलिइकन सञ्‍चालित आइसोलेसनको अनुगमन गरिने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुली बताउँछन् । 'सरकारले सूचीकृत गरे बाहेक अन्य ठाउँमा संक्रमित राख्‍न दिइदैन,'  उनले भने । अनाधिकृत रुपमा आइसोलेसन सञ्‍चालन गर्न नदिने उनको भनाइ छ । 'आजभोलि होटलमा अनुगमन गर्छौ,'  उनले भने।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x