कोभिड-१९

रेमडेसिभरले संक्रमितलाई काम नगर्दा पनि माग ह्‍वात्तै बढ्यो

'रेमडेसिभर भन्दा अक्सिजनको जोहो गर्नु'

अतिन आचार्य |
बैशाख २७, २०७८ सोमबार ६:२५ बजे

काठमाडौँ : औषधि आयातकर्ताले तीन दिन भित्रमा रेमडेसिभर आयात गर्न नसकेमा मुलुकभर अभाव हुने भएको छ । कोटा वितरण प्रणाली अन्तर्गत अस्पतालका फार्मेसीमा रेमडेसिभर वितरण गर्दा पनि अभाव हुन गएको हो ।

संक्रमितलाई रेमडेसिभरले काम नगरिहेको अवस्थामा पनि यसको माग बढ्दै गएको छ । दोस्रो चरणमा देखिएको कोभिड संक्रमितलाई रेमडेसिभरले पनि काम गर्न छाडेको छ । अर्को तर्फ चिकित्सकहरूले रेमडेसिभरको भन्दा पनि अक्सिजनको व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।


पहिलो चरणको कोभिड संक्रमितलाई रेमडेसिभरको अधिक मात्रामा प्रयोग गरिएको थियो । आइसीयू र भेन्टिलेटरमा पुगेका धेरैजना संक्रमणमुक्त भएका थिए ।

काठमाडौँ उपत्यका लगायत बाहिरी जिल्लामा यसको अत्यधिक माग बढेकाले समयमै आयात हुन नसकेमा रेमडेसिभरको मुलुकभर हाहाकार हुने ‍औषधि व्यवस्था विभागले जनाएको छ ।

'माग बढेकाले अभाव, केही दिनमा सहज आपूर्ति'

दोस्रो चरणको संक्रमण देखिएपछि अस्पतालमा भर्ना हुनासाथ रेमडेसिभरको प्रयोग गर्नुपरेकाले यसको माग धेरै भएको हुन सक्ने विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

'तीन दिनभित्रमा औषधि आयातकर्ताले रेमडेसिभर नल्याएमा पुनः अभाव हुन्छ,' केसीले इकागजसँग भने,' पहिलो र दोस्रो चरण गरेर सात हजार भाइल आएको थियो। पहिलो चरणमा आएको उपत्यकाको अस्पताललाई दिएको थियो । दोस्रो चरणको उपत्यका बाहिर पठाइएको थियो ।' उनका अनुसार विभागले ४९ सय रुपैयाँ तोकेको र एमआरपी मूल्य ५१ सय रुपैयाँ रहेको छ।

अस्पतालमा रहेका फार्मेसीले मात्र रेमडेसिभर बिक्री गर्न पाउँछन् । कतिपय अस्पतालका फार्मेसीमा रेमडेसिभर सकिएको छ । पछिल्लो समय यसको माग ह्यवात्तै बढेकाले अभाव हुँदै गएको हो ।

अनाधिकृत बिक्री वितरणमा रोक लगाउनका लागि अस्पतालकै फार्मेसीलाई रेमडेसिभर दिएको प्रवक्ता केसीले बताए । केही अस्पतालका फार्मेसीमा भएपनि अरुमा सकिएको उनले बताए ।

औषधिको अभाव हुन नदिन आयातकर्तालाई छिटो ल्याउनका लागि आग्रह गरिरहेको इकागजलाई  उनले सुनाए । कालोबजारी रोक्नका लागि वाणिज्य विभाग, उपत्यकाका अपराध महाशाखाका प्रहरी र विभागले एकसाथ अनुगमन गरिरहेको उनको भनाइ छ ।

केही दिन अघि विराटनगरमा रेमडेसिभर भनी बिक्री गर्ने र महाराजगञ्जमा बढी मूल्यमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उनले बताए ।

'वितरण कोटा प्रणालीमा लागू हुँदा अभाव'

नयाँ भर्ना भएका संक्रमितलाई सुरुदेखि रेमडेसिभर दिनुपरेकाले पनि छिटो- छिटो सकिने गरेको निदान अस्पतालका कोभिड फोकल पर्सन सिर्जना बज्रचार्य बताउँछिन् ।

सुरुमा देखिएका भन्दा अहिले देखिएका संक्रमितलाई गम्भीर भएका र अक्सिजनको कमी भएका आउने गरेको उनले जानकारी दिइन् । अस्पताललाई कोटा तोकेर रेमडेसिभर दिएकाले पनि चाँडै सकिएको उनले जानकारी दिइन् । 'गम्भीर प्रकृतिका संक्रमित बढेकाले यसको प्रयोगले केही राहत पाउने भएकाले यसको माग बढेको हो,'  उनले भनिन ।

'रेमडेसिभर भन्दा अक्सिजनको प्रयोग राम्रो'

कोभिड संक्रमितको उपचारमा लामो समय सम्म खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीका अनुसार दोस्रो चरणमा देखिएका संक्रमितलाई रेमडेसिभरले काम गरेको छैन ।

रेमडेसिभरले अहिलेको समयमा बिरामीको पैसा खर्च गर्नेदेखि बाहेक अरु काम नगरेको राजभण्डारी बताउँछन् । संक्रमितलाई रेमडेसिभरको पछि लागेर पैसा खर्च नगर्न उनले सुझाव दिए । 

'पहिलो चरणमा देखिएका कोभिड संक्रमितको अस्पताल बसाइ कम गरेको थियो,' उनी भन्छन,' अहिले देखिएको नयाँ भेरियन्ट भाइरसका लागि यसले केही काम गरेको छैन ।' यसले काम गर्ने भनेर अनावश्यक बजारमा हल्ला फैलाएकाले पनि त्यसै माग बढेको उनको दाबी छ । रेमडेसिभर भन्दा अक्सिजनले काम गरिरहेकाले यसको संकलन गर्न उनले जोड गरे ।

'बुधबार सम्म औषधि आउँछ'

रेमडेसिभरको गाडी काकडभिट्टा नाकाबाट प्रवेश गरिसकेको औषधि आयातकर्ता महासंघका महासचिव पवन आचार्य बताउँछन् । 'छिटोमा मंगलबार वा बुधबारसम्म आउँछ,' उनले भने ।

नेपालमा माग अनुसार औषधि ल्याइरहेको आचार्यले बताए । ‍औषधि व्यवस्था विभागले १ लाख भन्दा बढी भाइल ल्याउन अनुमति दिइसकेको उनको भनाइ छ । संक्रमितको संख्या दिनप्रतिदिन बढेका र जटिल लक्षण भएका संक्रमित देखिएकाले पछिल्लो समयको यसको माग ह्‍वात्तै बढेको छ ।

भारतले रेमडेसिभर आयातमा प्रतिबन्ध लगाएकाले बंगलादेशबाट व्यवसायीले आयात गरिरहेका छन् । पुनः आयात गर्नुपरेमा जेठको दोस्रो साता मात्र आयात गर्न सकिने उनले जानकारी दिए । मुस्लिम समुदायको ठूलो चाँड परेकाले सार्वजनिक विदा हुने भएकाले अब केही दिन औषधि ढिला आउने उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x