रूपन्देहीमा फेरि बढे कोभिड संक्रमित
भैरहवा- रूपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड संक्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रूपमा रहेको रूपन्देहीको बेलहिया नाकामा कोभिड संक्रमितको सङ्ख्या बढेको देखिएको छ ।
बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरूमध्ये भारतीय यात्रुहरूमा तुलनात्मक रूपमा संक्रमण बढी देखिएको हाे । नाकामा संक्रमण देखिएकाहरू आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा यसले संक्रमणको जोखिम झनै बढाएको छ । केही समय पहिला संक्रमित देखिएका भारतीय नागरिकलाई भारत फिर्ता पठाउने गरिए पनि अहिले त्यो अवस्था छैन ।
फागुनसम्म न्यून सङ्ख्यामा कोरोना संक्रमित देखिए पनि चैतमा यो सङ्ख्या बढेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा चैतमा सबैभन्दा धेरै १९ गते एकै पटक १७ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो । भारतबाट नेपाल आउने एक सय ५९ यात्रुमा कोरोना परीक्षण गर्दा एकजना नेपाली र १६ जना भारतीयमा संक्रमण पाइएको बेलहिया हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, चैत २० गते ९२ जनामा परीक्षण गरिएकामा तीन भारतीय, चैत २३ मा एक सय ६० जनामा परीक्षण गर्दा दुई नेपाली र १० भारतीयसहित १२ जनामा कोभिडको संक्रमण पाइएको थियो ।
'चैतमा हालसम्म ६३ जनामा कोभिडको ओमिक्रोन संक्रमण पाइएको छ,' स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले भने, 'यो साता मात्रै ४१ जना पुगेका छन्, फागुन महिनामा नयाँ संक्रमितको सङ्ख्या २८ जना थियो ।'
कोभिड संक्रमण बढेसँगै केही समययता सुस्त रहेको स्थानीय प्रशासनले सीमामा सतर्कता बढाएको छ । संक्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रूपन्देहीमा संक्रमण न्यूनीकरण गर्न तयारी सुरु गरिएको छ । जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवम् एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ ।
जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति (डिसिसिसिएमसी) को बैठकले बेलहिया हेल्थ डेस्कको क्षमता वृद्धि गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
रूपन्देहीका सहायक नाकाका रूपमा रहेको लुम्बिनीको ककरहवा नाका र रोहिणीको भगवानपुर नाकामा पनि हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । यससँगै भीडभाड हुने स्थानमा मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड पालन गराउन विभिन्न सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाइने निर्णय भएको उनले बताए ।
तत्कालका लागि सीमामा संक्रमित देखिएकाहरूलाई सावधानी अपनाइँदै उनीहरू जान चाहेको गन्तव्यमै जान दिएको पाण्डेको भनाइ छ । 'जिल्लावासीका हकमा डिसिसिएमसीको व्यवस्थापनमा सम्बन्धित संक्रमितलाई घरमै छाड्ने गरेका छौँ, जिल्लाबाहिरका नेपाली नागरिकको हकमा सम्बन्धित जिल्लाको सहजीकरणमा छोड्ने गरेका छौँ,' प्रजिअ पाण्डेले भने ।
'भारतीय नागरिकको हकमा केही समय पहिले उहाँहरूलाई भारत नै फिर्ता पठाउने गरिए पनि अहिले मन्त्रालयको परिपत्रअनुसार सुरक्षा सावधानी अपनाउँदै गन्तव्यसम्म जाने अनुमति दिने गरेका छौँ,' उनले भने ।
संक्रमणको जोखिम कम गर्न कोभिडविरुद्धको खोपलाई पनि तीव्रता दिने स्वास्थ्य कार्यालयको तयारी रहेको छ । पहिलो र दोस्रो मात्राको खोपका लागि रूपन्देही जिल्ला नै पूर्ण खोप जिल्ला सुनिश्चित भइसकेको छ । यस्तै, बुस्टर डोजका रूपमा रूपन्देहीमा तेस्रो मात्राको खोप ६० प्रतिशतले र अहिले चौथो मात्राको खोप १० प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले बताए ।
अहिले पनि अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखी खोप लगाउने काम भइरहेको उनले बताए । अन्यको हकमा भने मन्त्रालयको समन्वयमा खोप मगाउने काम भइरहेको ढकालले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया