कोभिड-१९

निजी अस्पतालले हेलिकप्टरबाट आएका संक्रमितबाट बढी शुल्क असुल्‍दै

'आफ्नै खुसीले शुल्क तोके'

अतिन आचार्य |
बैशाख २८, २०७८ मंगलबार १४:२८ बजे

काठमाडौँ : दुर्गम जिल्लामा सुविधा सम्पन्‍न उपचार केन्द्र नहुँदा कोभिड-१९ संक्रमतिहरू काठमाडौँमा आएर उपचार गर्न बाध्य छन् । पछिल्लो समय संक्रमितहरू चाँडै गम्भीर हुन थालेपछि हेलिकप्टर मार्फत निजी अस्पतालमा उपचार गर्न आउनेको संख्या बढ्दै गएको छ ।

कोभिड संक्रमण बढेकाले अधिकांश जिल्ला निषेधाज्ञामा छ । सवारीसाधन ठप्प भएका कारण र नियमित उडानसमेत बन्द भएकाले गम्भीर प्रकृतिका संक्रमितहरू हेलिकप्टर चार्टड गरेर सुविधा सम्पन्‍न अस्पतालमा उपचार गराउनेको संख्या बढेको हो । सुगममा सबैथोकको सुविधा हुँदा र दुर्गममा आईसीयू र भेन्टिलेटर जस्ता आवश्यक उपकरण नहुँदा संक्रमितहरू मँहगो ठाउँमा आएर उपचार गर्नु  परेको छ ।


हेलिकप्टर चार्टड गरी ल्याइएका संक्रमितहरूबाट निजी अस्पतालले बढी शुल्क लिने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत अस्पतालले बढी शुल्क लिएका छन् । हेलिकप्टरमा चढेदेखि नै उपचार हुने भएकाले शुल्क लिन थालिएको  निजी अस्पतालले जनाएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पाँच वटा कम्पनीले कोभिड संक्रमितको उद्धार गरिरहेका छन् । कैलाश, श्री, सिम्रिक, मनाङ र अल्टिच्‍यूड हेलीले उडान भरिरहेका छन् । नियमित उडान बन्द भएपछि मुलुकभरका विभिन्‍न ठाउँबाट ६ सय भन्दा बढी संक्रमितको उद्धार गरिएको छ ।

'हेलिकप्टरबाट ल्याउँदा २५ देखि ६० हजार रुपैयाँ हजार लिने गरेका छौँ'

संक्रमितको उद्धारमा फिजिसियन डक्टर, पारामेडिक्ससहित अतिआवश्यक स्वास्थ्य सामग्रीसहित हेलिकप्टरमा पठाउने गरिएको मेडीसीटी अस्पतालका डा. सन्जय कार्की बताउँछन् । संक्रमितको उद्धार गर्दा कुन स्थानबाट ल्याइएको त्यसैका आधारमा मूल्य लिने गरेको उनले जानकारी दिए ।

'कस्तो अवस्थामा संक्रमित छन, अक्सिजन र भेन्टिलेटर चाहिने खालका छन भने शुल्क फरक-फरक हुने गरेको छ,' कार्कीले भने,' संक्रमितलाई ल्याउँदा २५ हजार देखि ६० हजार रुपैयाँ शुल्क लिने गरेका छौ ।' संक्रमितलाई हेलिकप्टरमा चढाएदेखि उपचारको व्यवस्था गरिएको उनको भनाइ छ ।

ग्रान्डी र ह्याम्स अस्पतालका चिकित्सकलाई सम्पर्क गर्दा हरेक पटक आवश्यक सामग्री र चिकित्सक समावेश गरेर मात्र उद्धार गर्ने गरेको जवाफ दिएका छन् । ह्याम्सले बेड प्याक भएकाले पछिल्लो समय संक्रमित नल्याइएको ति चिकित्सकले बताए । संक्रमितलाई उद्धार गरेर ल्याइएको शुल्क आफूलाई जानकारी नभएको र खर्चको विवरण लेखा शाखाले राख्‍न गरेको उनको भनाइ छ ।

सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी लिएमा कारबाही

सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी लिएमा अस्पताललाई कारबाही गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । निजी अस्पतालले संक्रमितको उपचार गर्दा लिन पाउने शुल्क निर्धारण गरिएकाले त्यो भन्दा बढी शुल्क लिएमा कारबाही गरिने उनले बताए ।

'स्वास्थ्य मन्त्रालयले हेलिकप्टरबाट ल्याइएका संक्रमितको उपचार गराइरहेका अस्पतालको अनुगमन गर्छ,' अधिकारीले भने,' अस्पतालले संक्रमितलाई लिन जाँदा शुल्क आफ्नै खुसीले तोकेर लिएका छन् । त्यस्तो गर्न पाउँदैनन् ।' संकटमा सबैले अवसर खोजेकाले यस्ता गतिविधि नियन्त्रण गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरूको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरूको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउछन् ।

'प्राधिकरणले तोकेभन्दा बढी शुल्क लिन पाउँदैनन्'

संक्रमितलाई उपत्यकाकै निजी तथा सरकारी अस्पतालमा ल्याई उपचार गर्न थालिएको छ । सबैभन्दा बढी निजी अस्पतालमा संक्रमित ल्याइएको छ । निजी अस्पताल मेडिसिटी, ग्रान्डी इन्टरनेशनल, ह्याम्स, बिर्तामोडको बिएण्डसी, र नर्भिक अस्पताल जस्ता अन्य अस्पतालमा संक्रमितको उपचार गर्न थालिएको हो । त्यसैगरी,सरकारी स्वामीत्त्वमा रहेका प्रहरी, सैनिक, सशस्त्र र त्रिवि शिक्षण अस्पतालमा हेलिकप्टरबाट ल्याइ संक्रमितलाई उपचार गर्न थालिएको हो ।

प्राधिकरणका अनुसार कोभिड संक्रमितको उद्धार गर्दा प्रतिघण्टा अमेरिकी १२ सय डलर छ । मेडिकल रेस्क्यू भएकाले विभिन्‍न शिर्षकमा भाडा लिने गरेको प्राधिकरणका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार कोभिड संक्रमितको उद्धार शुल्क निर्देशिका बनाइएको छ ।

सबै हेलिकप्टर कम्पनीले उद्धार गर्दा एक लाख रुपैयाँ लिनुपर्ने व्यवस्था गरिदिएको भुलले बताए । भाडाका विषयमा मात्र प्राधिकरणले सरोकार राख्‍ने गरेको उनले प्रस्ट पारे ।

'संक्रमितलाई उद्धार गर्दा हेलिकप्टरमा जुन अस्पतालमा संक्रमित ल्याइने हो त्यहाँका स्वास्थ्यकर्मी हुन्छन,' भुलले भने,' हेलिकप्टरमा अक्सिजन, पीपीईसहितका पारामेडिक्स चिकित्सक हुन्छन् ।' संक्रमितलाई उद्धार गर्दा हेलिकप्टर डिसइन्फेक्सन गर्नुपर्छ । संक्रमितलाई ल्याइने अस्पतालले एक चिकित्सक पठाउनुपर्ने व्यवस्था छ । स्थान अनुसार भाडा फरक हुने गरेको छ ।

प्रत्येक अस्पतालले हेलिकप्टरबाट उद्धार गरेर ल्याइको संक्रमितलाई समान खर्च लिनुपर्ने भुलको भनाइ छ । हेलिकप्टरमा अस्पतालले लिने उपचार खर्चको निर्देशिका निर्माण गरेर सार्वजनिक गराउन स्वास्थ्य मन्त्रालयलाई परिपत्र जारी गरिसकेको उनले बताए ।  

हेलिकप्टरबाट उद्धार गरी संक्रमितको उपचार गराइरहेका उपत्यकाका विभिन अस्पतालमा इकागजले सम्पर्क गरेको थियो । मेडीसीटी अस्पतालले ८ वर्षदेखि हेलिकप्टरबाट बिरामीको उद्धार गरिरहेकको छ । पछिल्लो समय अस्पतालले कोभिड संक्रमितको समेत उद्धार गरेको छ।

'अस्पताल सम्म पुर्‍याउँने मात्र काम गरेका छौ'

हेलिकप्टर सुचारु भएदेखिको समयबाट अन्तिमसम्मको शुल्क लिने गरेको निजी वायुसेवा कम्पनी सञ्‍चालकका प्रवक्ता योगराज कँडेलले बताए । 'हेलिकप्टरले बिरामीलाई अस्पताल सम्म ल्याइदिने मात्र काम गर्छ,' उनले भने ।

उपचार खर्च र चिकित्सक सेवा शुल्क अस्पतालको नियमानुसार लिने गरेको कँडेलले बताए । हेलिकप्टरले अस्पतालसम्म पुर्‍याउने मात्र काम गर्ने गरेको उनले सुनाए । उनका अनुसार अस्पतालले चिकित्सक, अक्सिजन र बिरामीको अवस्था हेरेर अन्य सामग्री उपलब्ध गराएमा मात्र उद्धार गर्ने गरिएको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x