जिम्मेवारीबाट भाग्ने चाहना, अक्सिजन अभावकाे बहाना
संक्रमित पन्छ्याउँदै निजी अस्पताल, ९ करोड लिएका ठूला अस्पतालले बनाएनन् एचडीयू बेड
काठमाडौँ : मुलुकभरका अधिकांश निजी तथा सरकारी अस्पतालले अक्सिजन अभाव देखाउँदै थप बिरामीको उपचार गर्न नसक्ने सूचना निकाल्न थालेका छन् । बुधबार ग्रान्डी अस्पतालले दैनिक सय सिलिण्डर मात्रै अक्सिजन प्राप्त गर्ने भएकाले संक्रमितको उपचार गर्न नसक्ने जनाएको छ । विभिन्न निजी तथा सरकारी अस्पतालले स्वास्थ्य सामग्रीको अभावले संक्रमितको उपचार गर्न नसक्ने बताइरहेका छन् ।
कोभिड संक्रमितले अक्सिजन नपाएर उपचार गर्न जाँदा बाटोमै ज्यान गुमाइरहेका छन् । तर, उपत्यकाकै निजी अस्पताल नर्भिक, ओम, मेडिसिटी, नेपाल मेडिकल कलेज, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, नेपाल-भारतमैत्री, दीर्घायु गुरु तथा रिसर्च सेन्टरले अक्सिजन अभाव देखाउँदै थप संक्रमितको उपचार नगर्ने घोषणा गरिसकेका छन् ।
महामारीको समयमा नागरिकलाई उपचार गर्नुपर्ने समयमा निजी अस्पताल विभिन्न बहाना बनाएर पन्छिँदै गएका छन् । अक्सिजन कोटा प्रणालीद्धारा वितरण गरेको र बेड अभाव भएकाले नै अस्पतालले उपचार गर्न नसकेको हो त ?
सुरुवातमा निजी अस्पतालले आफ्नो खुसीले संक्रमित भर्ना गरी उपचार गरेका थिए । निश्चित संक्रमितको उपचार गर्ने भने पनि चाप बढेपछि धमाधम बिरामी भर्ना गरे । सरकारसग निश्चित कोटाअनुसार अक्सिजन माग गरे । सरकारलाई दिएको विवरणभन्दा बढी संक्रमित भर्ना गरेपछि अहिले अक्सिजन अभाव देखाएर उपचार गर्न नसक्ने भन्दै हात उठाउन थालेका छन् । सरकारलाई सहयोग गर्न निजीले उपचारमा सहयोग गरिरहेको र अब यस्तै अवस्था रहेमा संक्रमितको उपचार नगर्ने निजी अस्पताल सञ्चालकले बताउन थालेका छन् ।
'१५ दिनमा अक्सिजन प्लान्ट बनाउन सकिँदैन'
दिनप्रतिदिन संक्रमित थाम्न नसक्ने गरी बढेकाले उपचार गर्न नसक्ने गरी सार्वजनिक रूपमा घोषणा गर्न थालिएको निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापा बताउँछन् । सरकारले अस्पतालमा दुई तिहाई बेड छुट्टयाएर उपचार गर भने पनि थोरै अक्सिजन दिएर अप्ठयारो अवस्थामा निर्देशन दिएको उनले आरोप लगाए ।
अस्पतालको बेड क्षमताअनुसार संक्रमितको उपचार गरिएको थापाको दाबी छ । सरकारले पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउने आश्वासन दिए पनि सोही अनुरुप नपाएको उनको भनाइ छ । निजीलाई कम र सरकारीलाई धेरै अक्सिजनको सिलिण्डर दिने गरेको पनि उनको गुनासो छ ।
सरकारले काम गर्न नसकेर सीसीएमसीलाई व्यवस्थापनको जिम्मा लगाएको थापाले बताए । 'सरकार जिम्मेवारीबाट पन्छिएर अरुलाई गाली गरी बसिरहेको छ, निजीलाई कसरी व्यवस्थापन गर्नुपर्ने हो त्यसका लागि सोच्नुपर्छ,' उनले भने,' १५ दिनमा अक्सिजन प्लान्ट बनाउन सकिदैन ।' कुनै पनि निजी अस्पतालले अक्सिजन प्लान्ट नराख्ने थापाको भनाइ छ । बुधबार मात्र सरकारले निजी अस्पताललाई अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको थियो ।
कोभिडका बिरामीलाई मात्र उपचार गर्दा अन्य नन-कोभिडका बिरामीले उपचार नपाउने अवस्था रहने भन्दै त्यसका लागि पनि सरकारले निजी अस्पतालका लागि सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
संक्रमितको उपचार नगरे नवीकरण नगर्ने र सरकारको तर्फबाट पाउने सहयोग कटौती गरिन्छ: स्वास्थ्य मन्त्रालय
अस्पतालले कम संख्यामा संक्रमितको उपचार गरिरहेको तथ्यांक सीसीएमसी र सरकारलाई उपलब्ध गराएकाले अक्सिजन पनि कम पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अस्पतालमा कम संक्रमितको उपचार गरेकाले संक्रमितको संख्याअनुरुप अक्सिजन उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सुरुमा आफ्नो खुसी र इच्छाले संक्रमितको उपचार गर्ने र अहिले थोरै संख्यामा अक्सिजनको सिलिण्डर पाएर जिम्मेवारीबाट पन्छिन नमिल्ने उनले बताए ।
उपचार पाउने बिरामीको संख्या बढाएमा अस्पतालले माग गरेको भन्दा बढी अक्सिजनको सिलिण्डर पाउने गौतमले बताए । नन-कोभिडको बिरामीलाई प्राथमिकतामा राखी उपचार गरेकाले संक्रमितको उपचारमा बेड छुट्याउन नसकेको उनले आरोप लगाए ।
'निजीले संक्रमितको उपचार नगरेमा नवीकरण नगर्ने र सरकारको तर्फबाट पाउने सहयोग कटौती गरिन्छ,' गौतमले भने,' आवश्यक परे हस्तक्षेप गरेर भए पनि सबैलाई उपचार गर्न लगाइन्छ । संक्रमितले उपचार पाउने अवस्था नरहेमा उपचार गर्दिन भनेर बस्न मिल्दैन ।'
बिरामीको उपचार गर्ने तर आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दिनँ भन्न नपाउने गौतममको भनाइ छ । अक्सिजन प्लान्ट बनाएर उपचार गर्ने तर अहिले बनाउदिन भन्न नपाउने उनको तर्क छ ।
उपत्यकाका तीन निजी अस्पताललाई सरकारले तीन-तीन करोड रुपैयाँ एचडीयूसहितको बेड बनाउन दिएको उनले जानकारी दिए । उनका अनुसार नेपाल मेडिकल कलेज, किस्ट कलेज र काठमाडौँ मेडिकल कलेजलाई सहयोग सहयोग गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया