कोभिड-१९

कोभिड संक्रमितको अन्त्येष्टि गर्दा पशुपतिमा सातामै डेढ लाख किलो दाउरा खपत

अतिन आचार्य |
बैशाख ३०, २०७८ बिहीबार १४:१७ बजे

काठमाडौँ : पछिल्लो समय मुलुकमा कोभिड संक्रमितको मृत्यदुर बढेपछि पशुपति क्षेत्र विकास कोषको आर्यघाटमा अन्त्येष्टि गर्नेको संख्या बढेको छ ।  दैनिक ३० भन्दा बढी शवको अन्त्येष्टि हुने गरेको । अन्त्येष्टि बढेसँगै दाउराको पनि खपत बढेको छ ।

एक सातामा संक्रमितको अन्त्येष्टि गर्दा १ लाख ५० हजार किलो दाउरा खपत भएको पशुपति क्षेत्र दाउरा डिपोले जनाएको छ । दाउरा डिपोकाअनुसार दैनिक २० हजार किलो दाउरा खपत हुने गरेको डिपोका प्रमुख द्रोण पोखरेलले जानकारी दिए ।


'हिजोमात्र २८ हजार दाउरा खपत भएको हो, पोख्रेलले इकागजसँग भने,' मंगलबार २० हजार किलो दाउरा डिपोबाट लगिएको छ ।' पशुपति क्षेत्र विकास कोषले दाउरा माग गर्ने गर्छ त्यहीअनुसार उपलब्ध गराउने उनले जानकारी दिए ।

दैनिक दुईदेखि तीन ट्रक दाउरा आयात भइरहेको पोख्रेलले बताए । दाउराको अभाव हुँदैन । रौतहट र धादिङबाट दाउरा आयात भइरहेको छ । शव जलाउने दाउरा प्रतिकिलो १० रुपैयाँ पर्छ। धार्मिक प्रयोजनका लागि भने प्रतिकिलो १३ रुपैयाँका दरले उपलब्ध गराइरहेको छ । 

पानी परेर बाटो खराब र बन्द भएमा मात्र दाउरा ल्याउन नसकिने उनले जानकारी दिए । जसरी पनि आयात गरिने उनको दाबी छ ।

पशुपति क्षेत्र विकास कोषका विद्युत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार शव अन्त्येष्टिका लागि ४० वटा चिता निर्माण गरिएको छ । दैनिक १० हजार देखि २८ हजार किलो दाउरा खरिद गर्ने गरेको उनले जानकारी दिए ।

' विकास कोषले दाउरा खरिद गरेर शव अन्त्येष्टिको व्यवस्थापन गरिरहेको छ,' कार्कीले भने,' निशुल्क दाउरा डिपोले उपलब्ध गराउँदैन ।' दैनिक शव अन्त्येष्टिका लागि चिताको संख्या बढिरहेको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x