कोभिड–१९ ले वर्ल्ड लिंकका जलान, सञ्चयकोषका पूर्व सहप्रशासक काफ्ले र पूर्व बैंकर श्रेष्ठको निधन
काठमाडौँ : कोभिड–१९ संक्रमणका कारण देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको मृत्यु भएको छ । ४६ वर्षीय जलानको उपचारका क्रममा बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको कम्पनीका अध्यक्ष दीलिप अग्रवालले पुष्टी गरे । वैशाख १५ मा परीक्षण गर्दा उनमा कोभिड–१९ संक्रमण देखिएपछि १८ मा अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनमा सुधारोन्मुख रहेको थियो । बुधबार बेलुकी भेन्टिलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।
त्यस्तै, कर्मचारी सञ्चय कोषका पूर्व सहप्रशासक राजेन्द्र काफ्लेको कोभिड–१९ संक्रमणका कारण मंगलबार साँझ निधन भएको छ । उनी प्राइम लाइफ इन्स्यारेन्सका स्वतन्त्र सञ्चालक पनि थिए । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
कोभिड–१९ संक्रमित माछापुछ्रे बैंकका पूर्व सीईओ निरज श्रेष्ठको निधन भएको छ । श्रेष्ठ कोभिड–१९ संक्रमणले अस्वस्थ भएपछि केही समययता उनी उपचार गराइरहेका थिए । बीचमा उनको स्वास्थ्यमा सुधार भएको थियो, तर पुनः श्वासप्रश्वासमा समस्या भएपछि उनलाई प्रहरी अस्पतालमा पुर्याइएको थियो । बुधबार बिहान ११ बजे उनको निधन भएको हो । त्यसको अघिल्लो दिन बेलुका श्रेष्ठका पिता नारायणदास श्रेष्ठको निधन भएको थियो । झण्डै तीन दशकअघि बैंकिङ्ग करिअर शुरु गरेका श्रेष्ठ एक काबिल बैंकर भएको उनका समकक्षीहरू स्मरण गर्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया