कोभिड-१९

भोकले गालेको कर्णालीलाई फेरि अक्सिजनको अभावले पिरोल्दै

'अस्पतालमा बेड छन्, अक्सिजन प्लान्टको उत्पादनले धान्दैन'

अतिन आचार्य |
जेठ १, २०७८ शनिबार १८:२६ बजे

काठमाडौँ : सरकार सुन्छ तर कार्यान्यवन गर्दैन । कार्यान्वयन गर्न भन्दा निर्देशन दिन सरकारलाई हतार छ । सरकार मुलुकभरका सबै अस्पताललाई अक्सिजनको व्यवस्था गर्ने र बेड अभाव नभएको घोषणा गर्न व्यस्त छ । तर, कर्णली प्रदेश अस्पताल अक्सिजन अभावले थप संक्रमित भर्ना नलिने सूचना निकाल्न तल्लिन छ ।

कर्णाली भोक, गरिबी, दुर्गम क्षेत्र, रोग र अशिक्षाले सधैँ पिरोलियो । यसटपक भने सिंगो कर्णालीलाई निको नहुने गरी रोगले गाँजिसकेको छ । त्यसैको परिणाम अस्पताल छ, बेड छ, सिलिन्डर पनि छ तर कोभिड संक्रमितलाई चाहिने अत्यावश्कयीय अक्सिजन छैन ।


'केन्द्र सरकारले संक्रमितको तथ्यांक पठाउनु भन्छ । खाली सिलिन्डर मात्र  छ, अक्सिजनको अभाव भइसक्यो, अक्सिजनको व्यवस्था गर्दैनन् संक्रमितलाई कसरी बचाउनू, ' कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काले इकागजसँग भने ।  

'गम्भीर अवस्थाका संक्रमितमात्र अस्पताल आउनू'

कर्णाली प्रदेश अस्पतालले नेपालगञ्‍जबाट आएको अक्सिजनको भरमा संक्रमितको उपचार गरिरहेको छ । अस्पतालमा २ सय बेड छन् तर गम्भीर अवस्थाका बिरामीलाई दिने अक्सिजनको सिलिन्डर नभएको खड्का बताउँछन् । १७ जनालाई निरन्तर अक्सिजन दिइरहेका छौं, अक्सिजन सकियो भने उनीहरूको ज्यान पनि जन सक्छ भनेर तपाइ हामीले बुझ्दा हुन्छ,'  उनी भन्छन् ।

दिनप्रतिदिन अस्पतालमा गम्भीर प्रकृतिका बिरामी भर्ना हुने क्रम बढिरहेको छ । कर्णाली प्रदेशका सबै जिल्लाका बिरामीहरू अस्पतालमा आउने गरेका छन् । केही भने अछाम जिल्लाका पनि आउने गरेको खड्काले बताए । 

कर्णाली प्रदेशमा सबै अस्पतालमा कोभिड संक्रमितका लागि भरपर्दो उपचार केन्द्रको व्यवस्था छैन् । संक्रमित बढेकाले उपचारमा दिनप्रतिदिन कठिन अवस्था आइरहेको खड्काले  बताए ।  स्वास्थ्य अवस्था सामान्य भएकाले जिल्लास्थित उपचार केन्द्रमा उपचार गराउने र गम्भीर अवस्था भएकामात्र अस्पताल आउन आफूहरूले आग्रह गरिरहेको उनले बताए । 

अस्पतालबाट सिलिन्डर भर्न पठाएको दुई दिनमा अक्सिजन आउने गरेको खड्का बताउँछन् । '४० वटा सिलिण्डर आयो त्यो पनि विभिन्‍न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले मागेर बाटोमा सिध्याइदिन्छन्,' उनले भने, 'अस्पतालमा खाली बेड र खाली सिलिन्डर अस्पतालको परिसरमा त्यसै लडेका छन् । '  अक्सिजन दिन नसकेमा प्रति दश मिनेटमा दुई जनाको मृत्यु हुन सक्ने अवस्था रहेको उनी बताउँछन् ।

खड्काले अस्पतालमा भर्ना भएका एक संक्रमितलाई सात देखि आठ सिलिन्डर चाहिने बताए । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले नपुग्‍ने उनी बताउँछन् । सामान्य अवस्थाका बिरामीलाई मात्र प्लान्टको अक्सिजनले पुग्‍ने गरेको उनको भनाइ थियो । 

अस्पतालको भवन ठूलो भए पनि बेड खाली छन् । आवश्यक अक्सिजन छैन । खाली सिलिन्डर ४ सय छन् । भरि सिलिन्डर २० वटा पनि नभएको खड्काले बताए । दुई वटा अक्सिजन प्लान्टबाट ५० जनालाई पुग्‍ने सिलिन्डर उत्पादन भइरहेको उनले जानकारी दिए ।

संक्रमितलाई उपचार गर्न १५ भेन्टिलेटर र १ सय आइसीयूको व्यवस्था अस्पतालमा छ । उपचार गर्न पर्याप्‍त स्रोत सामग्री भए पनि मुख्य कुरा अक्सिजन नहुँदा अस्पतालमा थप संक्रमित लिन सक्ने अवस्था नभएको उनले जानकारी दिए ।

संघीय सरकारले अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराए पनि धेरै राहत हुने डा. खड्काले बताए । एउटा अक्सिजन कन्सर्नट्रेटरले गम्भीर अवस्थाका संक्रमितलाई करिब एक महिनासम्म पुग्‍ने उनको दाबी छ । उनका अनुसार अस्पतालमा अक्सिजन कन्सर्नट्रेटर १७ वटा छन् ।

संघीय सरकारलाई विभिन्‍न समयमा पत्र लेखी अक्सिजनको अभाव भइसकेको जानकारी गराइसकेको डा. खड्का बताउँछन् । अक्सिजनको व्यवस्था गर्न नसके पनि चीनबाट ल्याइएको अक्सिजन कन्सर्नट्रेटर उपलब्ध गराइदिए पनि हुन्छ,' उनले भने ।

'अक्सिजन उद्योगले बाँकेलाई धेरै दियो, कर्णालीलाई थोरै'

बाँकेमा रहेको अक्सिजन उद्योगले माग अनुसार अस्पताललाई अक्सिजन पठाउन नसकिरहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए ।  'नेपालगञ्‍जमा रहेको उद्योगले ११ सय सिलिन्डर उत्पादन गरे पनि बाँकेमा ७ सय खपत हुने भएकाले ४ सय विभिन्‍न जिल्लामा पठाउने गरेकाले अस्पतालमा ५० देखि ६० सिलिन्डर आउने गरेका छन्,' उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि यो ठूलो अस्पताल भएकाले यस क्षेत्रमा धेरै संख्यामा अक्सिजन पठाउने व्यवस्था मिलाउन आग्रह गरिएको सचिव काप्रीले बताए ।

माग अनुसार अस्पतालमा अक्सिजन आपूर्ति नभएको उनले प्रस्ट पारे । अस्पतालमा भएको प्लान्टले माग अनुसार उत्पादन गर्न नसकेको उनले जानकारी दिए । विद्युत समय-समयमा गइरहने समस्याले अक्सिजन उत्पादनमा गाह्रो भइरहेको उनको भनाइ छ । केन्द्र सरकार र स्वास्थ्य मन्त्रालयलाई कर्णालीमा विशेष व्यवस्था गर्न आग्रह गरिसकेको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x